हङकङ अब्जर्भेटरीले सोमबार बेलुका ८ बजेदेखि मध्यरातको बीचमा नम्बर १ स्ट्यान्डबाइ संकेत जारी गरिने बताएको छ। ट्रपिकल चक्रवात तोराजी सहरको ८०० किलोमिटरभित्र प्रवेश गर्ने अनुमानसहित आज राति टी१ संकेत जारी गरिन लागेको हो। साथै, अर्को दिन यसलाई टी३ मा बढाउनेतर्फ विचार गरिने अब्जर्भेटरीले जनाएको छ।
हाल फिलिपिन्सको लुजोनमा रहेको आँधी २२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिम सर्ने अनुमान गरिएको छ। यो बिहान ८ बजे मनिलाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको थियो भने अर्को दुई दिनमा ग्वान्दोङको पश्चिमी तट वरपरको पर्ल नदी मुहानसम्म आइपुग्ने सम्भावना छ।
‘तोराजी र उत्तरपूर्वी मनसुनको संयुक्त प्रभावले यस क्षेत्रको हावा क्रमशः बलियो हुँदै मेघगर्जनसहित वर्षा हुनेछ,’ अब्जर्भेटरीले भनेको छ, ‘मंगलबार र बुधबारको बीचमा कडा हावा संकेत नम्बर ३ जारी गर्नेबारे विचार गरिनेछ।’
कडा हावा संकेत चेतावनी जारी गर्ने नगर्ने निर्णय तोराजी र पर्ल नदी मुहानबीचको दूरी, यसको तीव्रता र स्थानीय हावाको अवस्था परिवतर्नमा निर्भर रहने बताइएको छ।
Shares

प्रतिक्रिया