नेपालकी आशमाया लिम्बु सन् २०१४ मा पति र चार बच्चासँग हङकङ आएकी हुन्। हङकङ त आइन् तर भाषाको कठिनाइका कारण उनको दैनिकी चुनौतीपूर्ण बन्यो।
अंग्रेजी वा क्यान्टोनिज बोल्न नसक्ने उनलाई सार्वजनिक यातायात चढ्न, किराना पसलबाट सामानहरू किनमेल गर्न, अस्पतालको सेवा लिन निकै कठिनाइ झेल्नुपर्यो।
‘ममा संसारलाई सामना गर्ने आत्मविश्वास कम छ,’ कुराकानीका क्रममा दोभाषेमार्फत ७२ वर्षीया लिम्बुले भनिन्।
सहरको सांस्कृतिक भिन्नतासँगै भाषाको कठिनाइका कारण जातीय अल्पसंख्यक समूहका वृद्ध व्यक्तिहरूलाई आफ्ना भावना वर्णन गर्न वा मानसिक स्वास्थ्य सहायता खोज्न गाह्रो बनाएको छ।
तर, यस वर्षको मे महिनादेखि लिम्बुले माटोको कला, चित्रकला र ढोल बजाएर आफ्ना भावना व्यक्त गर्ने तरिका फेला पारेकी छन्।
उनी हङकङ एक्सप्रेसिभ आर्ट्स थेरापी सर्भिस सेन्टरले एक वर्षअघि जातीय अल्पसंख्यक समुदायका ३ सय वृद्धवृद्धा र उनीहरूको हेरचाह गर्नेहरूलाई सिकाउन सुरु गरेको परियोजनामा सामेल भइन्। यहाँ अधिकांश नेपाली र केही भारतीय र पाकिस्तानी समुदायका मानिस छन्।
आठ सामाजिक संस्थाहरूसँग मिलेर परियोजनाले नृत्य, दृश्यकला र नाटकजस्ता गतिविधिमार्फत भावनात्मक राहत, हेरचाह, तनावमुक्ति तथा जीवन र मृत्युसम्बन्धी शिक्षा प्रदान गर्दछ।
रियल स्टेट इन्भेस्टमेन्ट ट्रस्ट लिंकद्वारा प्रायोजित यस परियोजनाले अगस्टमा दुई सपिङ मलमा सहभागीहरूको कलाकृति प्रदर्शनी आयोजना गरेको थियो।
परियोजनाका सेवा निर्देशक तथा कला थेरापिस्ट जेनेट ली परियोजनाको यो काम सीमित मानसिक स्वास्थ्य उपचार र जातीय अल्पसंख्यक समूहका वृद्ध व्यक्तिहरूप्रति उत्तरदायी कार्य रहेको बताउँछिन्।
हङकङको २०२१ को जनगणना अनुसार हङकङमा ३ लाख १ हजार ३ सय ४४ अल्पसंख्यक समूहका मानिसको बसोबास छ। जसमा नेपाली, भारतीय र फिलिपिन्सलगायतका देशबाट आएका छन्। यो तथ्यांकमा घरेलु कामदारहरूको संख्या समावेश छैन।
धेरैजसो सामाजिक सेवाहरू वृद्धहरूलाई भन्दा रोजगारी वा बालबालिकामा केन्द्रित रहेको निर्देशक ली बताउँछिन्। वृद्ध मानिसहरू स्थानीय परामर्श सेवामा आए पनि भाषाको कठिनाइ र सांस्कृतिक भिन्नताले अप्ठेरो पार्ने गरेको उनको बुझाइ छ।
परियोजनाको एक सामाजिक सेवा समूह युनलङ टाउन हलकी कार्यक्रम अधिकृत माधवी गुरुङ कतिपय वृद्ध व्यक्तिले भावनात्मक सहयोग खोज्ने अवधारणाको बारेमा कहिल्यै नसुनेको बताउँछिन्।
‘जीवनको लामो समय नेपालमा बिताएपछि यहाँ आएर शून्यबाट सुरु गर्न उनीहरूलाई निकै गाह्रो छ, ’ गुरुङ भन्छिन्, ‘धेरै वृद्ध नेपाली मृत्युको चिन्तामा छन्। हङकङमा मरेपछि त्यसपछिको संस्कार सम्बन्धमा उनीहरू चिन्तित छन्।’
गुरुङको थप भनाइ छ, ‘उनीहरूको चिन्ता मृत्युपछि छोराछोरीले आफ्नो जाति वा धर्मको संस्कार पालना नगर्न सक्छन् भन्नेमा छ।’

यिनै पक्षलाई ख्याल गर्दै कार्यशालाले सहभागीहरूलाई भावनात्मक पक्षमा ध्यान केन्द्रित नगरी उनीहरूको विगतका बारेमा सोच्न र कृतज्ञता, प्रेम तथा बिदाइको भावना प्रस्फुटित गर्न सहयोग पुर्याउने ली बताउँछिन्।
‘हामी उनीहरूलाई मृत्युपछिको संसार कस्तो हुनेछ भनेर कल्पना गर्न भन्छौँ..., उनीहरूले अर्को पुस्तालाई कस्तो प्रकारको ज्ञान दिन चाहन्छन्,’ ली भन्छिन्, ‘यसले उनीहरूलाई आफ्नो चिन्ता कम गर्न मद्दत गर्दछ। कल्पना र रचनात्मकता प्रयोग गरेर जीवन र मृत्युको बारेमा उनीहरूको भावना व्यक्त गराउँदा सुरक्षित महसुस गराउँछ।’
आर्ट थेरापी मौखिक अभिव्यक्तिमा भर नपर्ने हुँदा वृद्धवृद्धाले कलाकृति वा नृत्यमार्फत आफ्ना भावनाहरू व्यक्त गर्दा त्यहाँ कुनै भाषाको कठिनाइ महसुस गर्नु नपर्ने ली बताउँछिन्।
‘उनीहरूले रङ वा चालमार्फत आफ्ना आमाहरूप्रतिको माया व्यक्त गर्न सक्छन्,’ ली भन्छिन्, ‘तर, यदि तपाईँले उनीहरूलाई यसको बारेमा कुरा गर्न भन्नुभयो भने यो गाह्रो हुन सक्छ। किनकि उनीहरूको शिक्षाको स्तरले उनीहरूलाई आफ्नो भावना कसरी अभिव्यक्त गर्ने भनेर सिकाएको नहुन सक्छ।’
परियोजनाले चाइनिज युनिभर्सिटी अफ हङकङको मनोविज्ञान विभागसँग गरेको अध्ययनमा यी गतिविधिहरूमा भाग लिएपछि सहभागीहरूको भावनात्मक स्वास्थ्यमा सुधार भएको फेला पारेको थियो। जसमा सहभागीहरूको प्रतिक्रिया निकै सकारात्मक पाइएको थियो। सहभागीहरूले ‘कला अभिव्यक्तिले मेरो अनुभव र भावनालाई सुधार गर्न मद्दत गर्दछ’, ‘म जीवन र मृत्युका मुद्दासँग सम्बन्धित भावनाहरू व्यक्त गर्न सक्षम छु’ जस्ता प्रतिक्रिया दिएका थिए।
अर्की नेपाली ६२ वर्षीया भानु गुरुङ सन् १९९७ मा हङकङ आएकी हुन्। १२ वर्षअघि मुटुमा समस्या आउँदा शल्यक्रिया गरेको अवस्थामा आफू निकै चिन्तित भएको उनले बताइन् ।
‘यदि म मरेँ भनेँ, म परिवारलाई समस्या दिन चाहन्नँ,’ उनले दोभाषेमार्फत भनिन्, ‘मलाई आशा छ मेरो मृत्यु शान्तिपूर्ण हुनेछ।’
आफ्नो अन्तिम दिनको बारेमा सोच्दा आफू चिन्तित हुने गरेको लिम्बु बताउँछिन्।
कार्यशालामा आफ्नी आमाको आकृति बनाएका दुवै महिला कार्यशालाबाट खुसी देखिए। ‘आमालाई खुर्सानी मन पर्ने हुनाले मैले धेरै खुर्सानी राखेँ,’ लिम्बुले भनिन्।
त्यस्तै गुरुङले खुसी पोखिन्, ‘म पनि आमा हुँ, त्यसैले मलाई थाहा छ- आमाहरूले परिवारको हेरचाहका लागि धेरै जिम्मेवारी र कर्तव्य सामना गर्छन्। यो मूर्ति बनाएपछि मैले मेरी आमालाई सम्झेँ र यसले मलाई धेरै खुसी बनायो।’ (साउथ चाइना मर्निङ पोस्टबाट अनूदित)
Shares

प्रतिक्रिया