तलब नपाएपछि हङकङ विमानस्थलका कामदार आन्दोलित, नेपालीको गुनासो- आशामै दिन बिते

तलब नपाएपछि हङकङ विमानस्थलका कामदार आन्दोलित, नेपालीको गुनासो- आशामै दिन बिते

कार्यक्षेत्रमै धर्नामा बसेका कामदार


सन्तोष तामाङ
कात्तिक ८, २०८१ बिहिबार १३:२, हङकङ

हङकङको चेकलाप ककस्थित हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन तेस्रो धावनमार्ग (थर्ड रन वे) मा कार्यरत कामदारहरूले तीन महिनादेखि तलब नपाएको भन्दै कार्यक्षेत्रमै हड्ताल गरेका छन्।

चिनियाँ सव-कम्पनी ‘बिल्डर प्राइज’ले तीन महिना बितिसक्दा पनि तलब नदिएपछि आफूहरू कार्यक्षेत्रमै धर्ना बस्न बाध्य भएको त्यहाँ कार्यरत नेपालीहरूले नेपालखबरलाई बताए। तेस्रो धावनमार्ग निर्माणको ठेक्का चाइना स्टेट कम्पनीले लिएको छ भने यो अन्तर्गत अन्य २ दर्जनभन्दा बढी कम्पनीले जिम्मा लिएर काम अगाडि बढाएका छन्।

जसअन्तर्गत ‘बिल्डर प्राइज’ ले तीन महिनादेखि तलब नदिएको भन्दै कामदारहरू आन्दोलनमा उत्रिएका हुन्। मुख्य कम्पनीको साइडमा धर्ना बसेका कामदारहरूले ‘पे आवर स्यालरी’, ‘नो स्यालरी नो वर्क’, ‘नो स्यालरी फर थ्रि मन्थ’, ‘ह्वेयर इज आवर स्यालरी?’, ‘यु पे वि वर्क’ आदि लेखिएका प्लेकार्ड बोकेर काम ठप्प पारेका छन्।

‘कम्पनीको सबै संयन्त्र चहार्‍यौँ तर कान ठाडो लगाइएन। आफ्नो टिम लिडर, फोरमेन, सुपरभाइजर, सवएजेन्ट, सुपरिटेन्डेन्ट हुँदै साइड इन्चार्जसम्म पुग्यौँ तर हाम्रो आवाजको वास्ता गरिएन,’ धर्नास्थलमा भेटिएका नेपाली यमलाल कँडेलले नेपालखबरलाई भने, ‘दैनिकी चलाउनै धौ भइसक्यो तलब आउला आउला भन्ने आशामै दिन बिते।’

तलब नपाएको गुनासो सुनाउँदा कम्पनीले तलब दिन तोकेको समय पनि २ महिना बितिसकेको कँडेल बताउँछन्।

‘हङकङमा तलब नपाएर आन्दोलित हुनुपरेको मेरो जीवनमा पहिलो घटना हो,’ कँडेल गुनासो पोख्छन्।

यस्तै, अर्का नेपाली अम्बिका राई मुख्य कम्पनीको भन्दा धेरै तलब पाइने भएपछि आफू त्यहाँको काम छोडेर सव कम्पनीमा आएको बताउँछिन्। तर, अहिले तीन महिनासम्म तलबविहीन हुनुपर्दा निकै पीडा भएको उनको भनाइ छ।

‘घर खर्च टार्नै हम्मे परेको छ। कोठाभाडा तिर भन्दै कति पटक एजेन्सीले भिजिट गरिसक्यो,’ राईको दु:खेसो छ, ‘कम्पनी छोडेर जाउँ तीन महिनाको पैसा नपाइएला भन्ने डर, निकै दोधारे बनायो।’

अर्का नेपाली मनप्रसाद घिसिङ आजको आन्दोलनले पनि काम नगरे श्रम विभागसम्म पुग्नुपर्ने बताउँछन्। ‘अन्तत: कामदारको हकमा बोल्ने लेवर डिपार्टमेन्ट छ भन्ने सबैलाई थाहा छ। तर, त्यो प्रक्रिया अपनाउँदा मुद्दा मामिला हुने, अदालती प्रक्रियाका कारण तलब पाउने समय लम्बिने हुन सक्छ भनेर अहिले नै त्यता नलागेका हौँ,’ घिसिङ भन्छन्, ‘हेरौँ, आजको धर्नाले कस्तो नतिजा दिन्छ। नत्र अब सोच्नुपर्ने बनायो।’

एक हप्तापछि बेलायत फर्कने तयारी गरेकी गंगा लिम्बु श्रीमान् श्रीमतीकै तलब नपाउँदा निकै खल्लो लागेको बताउँछिन्। ६ महिनादेखि उक्त कम्पनीमा काम गर्दै आएकी उनी पहिले पहिले पनि तलब ढिलै आउने गरेको भए पनि यति लामो समयसम्म चाहिँ नरोकेको बताउँछिन्।

‘श्रीमान् श्रीमती भएर बिल्डर प्राइज कम्पनीमा ६ महिनाभन्दा बढी काम गरियो। कम्पनीले जहिले डेढ महिनापछि तलब दिने गर्थ्यो। तैपनि हामीले व्यवहार टार्दै आएका थियौँ,’ लिम्बु भन्छिन्, ‘तर, पछिल्लो समय त गडबडी गर्दै समय लम्ब्याउने काम गरेको छ। कम्पनीले कस्तो जाल बुन्दैछ? हामी बेलायत फर्किनुपर्ने यो हप्ता अन्तिम हो।’

एक हप्ता अगाडि मात्र राजीनामा बुझाएकी लिम्बुले बेलायत फर्कनुपर्ने भएपछि कम्पनीसँगको सहमतिमै राजीनामा दिएको बताउँछिन्।

यस्तै, प्रिस्का सोताङ राई यो महिना बाँकी सबै तलब दिने बोलकबोल गरिएको भए पनि कार्यान्वयन नभएको बताइन्।

‘कम्पनीले तलब दिने मिति १५/१६ तारिख हो। आज २४ अक्टोबर भयो, पहिलेका महिनाको ५० प्रतिशत स्यालरी थमाइदिएको छ। बाँकी सबै तलब यो महिना दिने बोलकबोल कम्पनी साहुको थियो। तर, कुरामै सीमित रहयो,’ राई भन्छिन्।

कामदारहरू आन्दोलित बनेपछि अहिले उक्त स्थलमा प्रहरी परिचालित छन्। तेस्रो धावनमार्गको मुख्य प्रवेश द्वार बन्द गरिएको छ। सवारी साधन आवातजावतमा रोक लगाइएको छ।

हङकङ विमानस्थलको तेस्रो धावनमार्गमा कार्यरत नेपालीको संख्या सयभन्दा बढी छ। त्यहाँ उनीहरू कार्पेन्टर, कंक्रिटर, अपरेटर क्लिनर आदि विधामा कार्यरत छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .