हङकङको चाइकक चोइमा शुक्रबार दिउँसो अत्यधिक गर्मीका कारण एक निर्माण मजदुर बिरामी परेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार ‘हिट स्ट्रोक’का कारण बिरामी भएका मजदुर स्काफफोल्डिङ (निर्माणाधीन भवन आदिमा प्रयोग हुने अस्थायी संरचना, मचान) मै फसेका थिए।
दिउँसो साढे १२ बजे चाइकक चोइस्थित होइफु कोर्टमा रहेको होइयु हाउसमा उक्त घटना घटेको हो।
अत्यधिक गर्मीका कारण मचानमा अलपत्र परेका कामदारलाई अन्य सहकर्मीले देखेर प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले उनको उद्धार गरी क्वोङ वाह अस्पताल पठाएको थियो।
गर्मी निकै बढेका कारण अब्जर्भेटरीले आज बिहान पौने ७ बजे ‘भेरी हट वेदर वार्निङ’ र दिउँसो पौने ३ बजे ‘एम्बर हिट स्ट्रेस एट वर्क वार्निङ’ जारी गरेको छ।
आज हङकङका अधिकांश भागका तापक्रम दिउँसो ३३ डिग्री सेल्सियससम्म पुगेको अब्जर्भेटरीको सूचनामा उल्लेख छ।
त्यस्तै, चाकु लिङ, ताउफाउ सान, ताइपो तथा वोङचाइ सिन लगायतका क्षेत्रको तापक्रम ३४ डिग्री सेल्सियससम्म पुगेको छ।
अत्यधिक गर्मी बढेसँगै श्रम विभागले रोजगारदाता तथा कामदारलाई गर्मीबाट बच्न उपयुक्त उपाय अवलम्बन गर्न भनेको छ। जस्तै, कामको अवधिबारे पुनर्विचार गर्ने, प्रत्येक घण्टा विश्राम लिने तथा बारम्बार पिउने आदि।
Shares
प्रतिक्रिया