हङकङ : ‘जातीय अल्पसंख्यक हेरचाह टोली’ अर्को महिनादेखि समुदायको सेवामा जाने

हङकङ : ‘जातीय अल्पसंख्यक हेरचाह टोली’ अर्को महिनादेखि समुदायको सेवामा जाने

अगाडि पंक्तिमा बस्ने जरमी यङ (बायाँबाट दोस्रो), शलिनी महतानी (बायाँबाट चौथो) र एरिक चान (बायाँबाट पाँचौँ), साथै, विविधता सूचीमा छानिएका २१ सदस्य (पछिल्लो लहरमा उभिएका)


नेपालखबर
असार ७, २०८१ शुक्रबार १३:३६, हङकङ

हङकङमा जातीय अल्पसंख्यक समुदायद्वारा सञ्चालित आठ हेरचाह टोली र ती समुदायको सेवा गर्न समर्पित दुई समर्थन सेवा केन्द्रले अर्को महिनादेखि सेवा सुरु गर्ने भएका छन्।

हेरचाह टोलीले जातीय अल्पसंख्यक समुदायका परिवारको आवश्यकता बुझ्न, उनीहरूका लागि उपलब्ध सार्वजनिक सेवाहरूसँग परिचित गराउन मद्दत गर्नेछन्।

ग्लोबल कन्सल्टिङ फर्म स्पेन्सर स्टुअर्टसँगको सहकार्यमा च्यारिटी द जुबिन फाउन्डेसनले आयोजना गरेको ‘डाइभर्सिटी लिस्ट २०२४’ कार्यक्रममा बोल्दै हङकङमा मुख्य सचिव एरिक चानले उक्त कुरा बताएका हुन्।

यो कार्यक्रमले गत अक्टोबरमा प्रमुख कार्यकारी जोन लीद्वारा प्रस्तुत नीति सम्बोधनमा समेटिएको ‘अल्पसंख्यक समुदायलाई प्रोत्साहन गरिने’ कार्यक्रमलाई सहयोग गर्ने र यसले हङकङको अर्ततन्त्रलाई बलियो बनाउने मुख्य सचिव चानले बताए।

‘हङकङ लामो समयदेखि विविध तथा बहुसांस्कृतिक महानगरको रूपमा रहँदै आएको छ। सहरमा तीन लाखभन्दा बढी जातीय अल्पसंख्यकको बसोबास छ, जुन हाम्रो कुल जनसंख्याको चार प्रतिशतभन्दा बढी हो,’ सचिव चान भन्छन्, ‘हङकङको उच्चस्तरको अन्तर्राष्ट्रियकरण हाम्रो विशिष्ट पहिचान हो। जातीय अल्पसंख्यक सुमदायसँगै आएको विविध सांस्कृतिक परम्परा र ती समुदायका प्रतिभाले हामीलाई समृद्ध बनाउँछ।’

यसका साथै, गैर–चिनियाँ भाषा बोल्ने जातीय अल्पसंख्यक समुदायका विद्यार्थीलाई रोजगारीको अवसर बढाउन निजामती सेवाका ३० भन्दा बढी पदमा चिनियाँ प्रवीणता आवश्यकता सिक्न र समायोजन गर्न मद्दत गरिने पनि चानले बताए।

जातीय विविधता रोजगार कार्यक्रमले दुई सय ७० भन्दा बढी जातीय अल्पसंख्यकलाई सेवा प्रदान गरिसकेको र सहरको सामाजिक तथा आर्थिक विकासलाई बढावा दिन यो जारी राखिने उनको कथन छ।

विविधता सूची (डाइभर्सिटी लिस्ट) सरकारको सल्लाहकार टिम र वैधानिक निकायहरूमा जातीय अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न परिकल्पना गरिएको हो।

यस वर्ष सरकारको सल्लाहकार तथा वैधानिक निकायमा मद्दत गर्न महिला र पुरुष गरी २१ जनाको टोली छनोट गरिएको छ।

छनोट भएका २१ जनामा नेपाली, भारतीय, अफ्रिकी, फिलिपिन्स, मलेसियन, श्रीलंकाली, युरेसियन र पाकिस्तानी छन्। विविध पृष्ठभूमिबाट आएका उनीहरू मानव संशाधन, बैकिङ, कानुनी सेवा जस्ता क्षेत्रका विज्ञ हुन्।

गैर-चिनियाँ हङकङवासीको रूपमा उनीहरूको अनुभवले सरकारलाई अन्तर्राष्ट्रियस्तरको बारेमा जानकारी दिन मद्दत गर्ने जुबिन फाउन्डेसनका संस्थापक एवं प्रमुख कार्यकारी शलिनी महतानी बताउँछिन्।

स्पेन्सर स्टुअर्टका जरमी यङ सिट, जो छनोट समितिका अध्यक्ष हुन्, उनी भन्छन्, ‘विविधता सूचीले सरकारलाई सधैँ विकसित प्रतिभाको जटिल ‘मोजेक’मार्फत ‘नेभिगेट’ गर्न मद्दत गर्दछ, जहाँ विविधता र समावेशीकरण बढ्दो छ। यो सामाजिक प्रगति आधार पनि हो।’ (द स्ट्यान्डर्डबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .