२३ वर्षीय युवाको हत्यामा संलग्न आरोपमा हङकङ प्रहरीले एक ग्याङस्टारलाई पक्राउ गरेको छ। उनीबारे प्रहरीले धेरै खुलाइसकेको छैन।
एक सार्वजनिक अस्पतालको बाहिर शरीरभरि चोटैचोट रहेको अवस्थामा ती युवा फेला परेका थिए।
प्रहरीका अनुसार ती युवालाई नर्थ डिस्ट्रिक्ट हस्पिटलबाहिर दुई जनाले एउटा कारबाट बाहिर निकाल्दै पो किन रोडको सडकपेटीमा शनिबार बिहान ५ः४५ बजे फालेको सेक्युरिटी फुटेजमा देखिएको थियो।
पीडित युवा साउ माउ पिङमा बस्ने भएको खुलेको छ। उनलाई सोही दिन बिहान ६ः४१ बजे गम्भीर घाइते अवस्थामा उपचारका लागि शेयुङ शुईस्थित अस्पताल लगिए पनि मृत्यु भएको थियो।
उनको मृत्युको कारण धेरै पिटाइ र केही वस्तुको प्रहारबाट भएको देखिएको छ।
आइतबार राति ७ बजे प्रहरीले घटनामा संलग्न कार पाट हेयुङको वङ चक युएनमा फेला पारेको थियो।
कारभित्र रगतका थोपा र बन्दुक फेला परेको र कार नम्बर पनि नक्कली रहेको पाइएको छ।
उक्त कार ३२ वर्षीय व्यक्तिको भएको खुलेपछि उनलाई हत्या आरोपमा पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको पृष्ठभूमि समेत अपराधमा संलग्न फेला परेको बताइएको छ।
आर्थिक विवादमा हत्या भएको प्रहरीको शंका छ। अनुसन्धान जारी भएकाले पीडित र आरोपीबीचको सम्बन्ध खुल्न बाँकी रहेको बताइएको छ।
Shares
प्रतिक्रिया