अब हङकङबाट बेइजिङ र सांघाईका लागि उच्च गतिका रात्रि रेल सेवा, सुत्ने व्यवस्था पनि हुने

अब हङकङबाट बेइजिङ र सांघाईका लागि उच्च गतिका रात्रि रेल सेवा, सुत्ने व्यवस्था पनि हुने

रात्रिकालीन रेलको यात्रामा सुत्ने व्यवस्था पनि हुनेछ


नेपालखबर
जेठ २२, २०८१ मंगलबार १६:१, हङकङ

अब हङकङबाट चीनको राजधानी बेइजिङ र सांघाईसम्मको यात्रा उच्च गतिका रेलमार्फत गर्न सकिने भएको छ, त्यसमा पनि रात्रि सेवामा।

नयाँ व्यवस्थाअनुसार यही जुन १५ देखि उच्च गतिका रेल सेवाले रात्रिकालीन सेवा सुरु गर्नेछन्। नयाँ व्यवस्थालाई स्वागत गर्दै प्रमुख कार्यकारी लीले केन्द्र सरकार र चीन रेलवेलाई धन्यवाद दिए।

यो सेवा यात्रुलाई थप सुविधाजनक हुनुका साथै खर्च समेत घट्ने हङकङका प्रमुख कार्यकारी जोन लीले मंगलबार बिहान प्रेससँगको कुराकानीमा बताए।

‘नयाँ रेल सेवा सुविधाजनक र छिटो छन्। यसले यात्राको समय घटाउनुको साथै होटलको खर्च बचत गर्न समेत मद्दत गर्नेछ,’ लीले कार्यकारी परिषद्को साप्ताहिक बैठकअघि भने, ‘जनता–जनता र व्यापार–व्यवसाय आदानप्रदान तथा हङकङ र मुख्यभूमिबीचको एकीकरणलाई बढावा दिन यसको महत्त्वपूर्ण अर्थ छ।’

उच्च गतिको रेल सेवाले यात्राको समय समेत आधा घटाउने चाइना रेलवेले बताएको छ। साथै, यी रेलमा सिट संख्या ६ सय पुर्‍याइनेछ।

शुक्रबारदेखि सोमबारसम्म चल्ने रात्रिकालीन रेलमा सुत्ने व्यवस्था समेत रहनेछ। हङकङको वेस्ट काउलुन टर्मिनसबाट प्रस्थान गर्ने रेल बेइजिङ वेस्ट स्टेसनमा साढे १२ घण्टा र सांघाईको हङ्सियाओ स्टेसन सवा ११ घण्टामा पुग्नेछन्।

बेइजिङ जाने रेल हङकङबाट साँझ ६:२४ बजे छुटेर भोलिपल्ट बिहान ६:५३ मा पुग्नेछ भने सांघाईका लागि हङकङबाट साँझ ७:४९ मा छुटेर भोलिपल्ट बिहान ६:४५ बजे पुग्नेछ। यस्तै व्यवस्था हङकङ फर्कनको लागि पनि छ।

हङकङबाट बेइजिङ र सांघाई जाने व्यावसायिक यात्रु धेरै हुने र जहाजको टिकट आपूर्ति सधैँ सीमित भइदिँदा समस्या हुने गरेकोमा अब सुविधाजनक रेल सेवाले यो समस्यालाई समाधान गर्ने विश्वास हङकङ टुरिजम एसोसिएसनका कार्यकारी निर्देशक टिमोथी चुइले गरे।

रात्रिकालीन रेलको भाडा एयरलाइन्सको टिकट जस्तै हुने अपेक्षा उनको छ।

त्यस्तै, नयाँ व्यवस्थाले व्यवसायीलाई आकर्षित गर्ने सांसद गारी जाङको बुझाइ छ। ‘किनभने उनीहरूले आवास लागत घटाउन र समय बचत गर्न सक्छन्,’ जाङ भन्छन्, ‘नयाँ व्यवस्था सुरु गर्ने यो सही समय हो, जसले स्थानीय पर्यटन र अर्थतन्त्रलाई सहज बनाउन सक्छ।’

रात्रिकालीन सेवाको टिकट भोलि (५ जुन)देखि १२३०६ प्लेटफर्मबाट उपलब्ध हुनेछन्।

हङकङदेखि बेइजिङको लागि टिकट दर हङकङ डलर ९३७ देखि एक हजार चार सय ४८ छ भने हङकङ-सांघाईको लागि हङकङ डलर ६ सय ८२ देखि दुई हजार एक सय २८ रहेको छ।

स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार वेस्ट कालुन स्टेसनबाट यात्रुले हङकङ र मुख्यभूिम दुवैको क्लियरेन्स प्रक्रिया एकै पटक पूरा गर्न सक्नेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .