गत जुलाईमा हङकङको व्यस्त ठाउँ वानचाइ एमटीआर स्टेसनमा हिँडिरहेका बेला चार्लिनको ट्राउजर अचानक भिज्यो।
उनी फनक्क घुमिन्। सबै आ–आफ्नै सुरमा थिए। उनलाई कुनै बच्चाले गल्तीवश यसो गर्यो कि भन्ने लाग्यो। तर, त्यसो पनि होइन रहेछ।
त्यसपछि उनी एउटा पिलरनजिक गएर छेल परेर बसिन्। यतिसम्म कि उनको भित्री वस्त्र पनि भिजेको थियो। उनलाई यो क्षण साह्रै लाजमर्दो भयो।
तरल पदार्थ कहाँबाट, कसरी र के कारणले आयो भन्ने कुनै भेउ पाउन नसकेपछि उनलाई यो यौन हिंसा त होइन भन्ने लाग्यो। अनि उनले घटनाबारे प्रहरीलाई सूचना दिइन्। तर, सीसीटीभीका दृश्यबिना अपराधी पत्ता लगाउन कठिन हुने जवाफ प्रहरीबाट पाइन्।
आफू प्रताडित भएको करिब ६ महिनापछि उनले अर्को कुनै महिलाद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओ देखिन्। मङककको उक्त दृश्यमा उनको पिठ्यूँ (शरीरको पछाडिको भाग, यहाँ भन्न खोजिएको कम्मरमुनिको भाग) मा कसैले तरल पदार्थ छर्किएको थियो।
त्यसपछि उनलाई अब यो बोल्ने समय हो भन्ने लाग्यो। यसको दुई दिनपछि उनले ‘पिस्ड-अस-अफ’ शीर्षकको इन्स्टाग्राम पेज खोलिन्। जहाँ, आफ्नो पीडा सार्वजनिक गर्दै यस्तै अनुभव भएका अरूलाई पनि बोल्न अपिल गरिन्।
एक महिनाभित्रै उनले उक्त इन्स्टाग्राम पेजमा १५० वटा गुनासा प्राप्त गरिन्, जसमध्ये ९९ प्रतिशत महिला थिए। उनीहरूलाई मङकक, कजवे बे, वानचाइ, लामतिन, बस टर्मिनलहरूजस्ता बढी भिडभाड हुने ठाउँमा दुर्व्यवहार भएको थियो।
उनले प्राप्त गरेका रिपोर्टमध्ये सबैभन्दा पुरानो घटना सन् २००४ को थियो। त्यस्तै, धेरै पीडितलाई पिठ्यूँमा तरल पदार्थ छर्किएको पाइयो। पीडितहरूका अनुभवमा उक्त तरल पदार्थ कतिले पानी भएको बताए भने कतिले पिसाबको गन्ध आएको प्रतिक्रिया दिए। तर, केहीले चाहिँ त्यो वीर्य भएको आशंका गरे।
यसप्रकारका दुर्व्यवहार पहिलेदेखि नै हुँदै आएका भए पनि पछिल्लो समयका घटनाले धेरैको ध्यान तान्यो। मानिसहरूले सामाजिक सञ्जालमा आवाज उठाउन थाले।
यसै क्रममा गत फेब्रुअरीको अन्त्यमा एक ५६ वर्षीय पुरुष कजवे बेमा एक महिलालाई तरल पदार्थ छर्किएको आरोपमा पक्राउ परे।
पक्राउ पर्ने व्यक्ति तिनै थिए, जो सन् २००८ मा एक महिलाको पिठ्यूँमा वीर्य छर्केको आरोपमा दोषी ठहर भएका थिए।
प्रहरीले बताएअनुसार गत जनवरीको मध्यदेखि फेब्रुअरीको मध्यसम्ममा मङककमा तरल पदार्थ छर्किएका ९ वटा गुनासा प्राप्त भएका थिए।
पीडित १६ देखि ३२ वर्षका महिलामध्ये एकजना त एक घण्टाकै बीचमा दुईपटक हिंसामा परेकी थिइन्।
यी महिला, जो हिंसामा परे
महिला जब तरल पदार्थको आक्रमणमा परे, सुरुमा त उनीहरूले आफूमाथि हिंसा भएको हो वा होइन भन्नेमै अन्योलमा रहे। हिंसा भएको अनुभूत गरिसकेपछि पनि खुल्न चाहेनन्।
केही प्रतिनिधि पात्रको अनुभव यस्तो छ–
लिङनान युनिभर्सिटीकी सहायक प्रोफेसर रुबी लाई यस्ता तरल पदार्थ छर्किएका घटना (लिक्विड–स्प्लासिङ केस)हरूको अध्ययन गरिरहेकी छन्। उनको एक साथी दुई पटकसम्म यस प्रकारको यौन दुर्व्यवहारमा परेकी थिइन्।
‘यो एक प्रकारको यौन हिंसा हो। जसलाई ‘स्ट्रिट ह्यारासमेन्ट’को रूपमा वर्गीकृत गरिएको छ,’ प्रोफेसर लाई भन्छिन्, ‘यस्ता केसमा विश्वभरि नै प्रहरीलाई रिपोर्ट गरिएको दर कम छ किनभने पीडक सजिलै भाग्न सक्छन्।’
‘यस प्रकारको यौन हिंसाका सम्बन्धमा समाज पनि अस्पष्ट छ। त्यसैले पीडितहरूले हत्तपत्त रिपोर्ट गर्दैनन्।’
---
३० वर्षकी चिकित्सक निकोल दुई पटकसम्म यसप्रकारको हिंसाको शिकार भएपछि आजकल तुङचुङको बस टर्मिनलमा हिँड्दा हरेक बिहान झस्किन्छिन्।
उनी पहिलोपटक गत वर्षको मे ११ मा हिंसामा परेकी थिइन्। ‘अचानक पिठ्यूँमा तातो महसूस गरेँ र भित्रैसम्म केही तरल पदार्थ छिरेको अनुभूत भयो,’ निकोल भन्छिन्, ‘त्यो क्षण मैले फर्केर पनि हेरिनँ। किनकि म निकै डराएकी थिएँ।’
घटनापछि प्रहरीलाई रिपोर्ट गर्ने सोच बनाए पनि आफूले कुनै संदिग्धलाई नदेखेको र बस टर्मिनलमा सीसीटीभी क्यामेरा नभएकोले अर्थहीन देखेर रिपोर्ट नगरेको उनी बताउँछिन्।
यस घटनापछि उनी हरेक बिहानको यात्रामा चनाखो भएर हिँडिन् तर पनि अगस्टमा उनीमाथि फेरि उही प्रकारको हिंसा भयो।
‘त्यस दिन म फोन हेर्दै हिँडिरहेको थिएँ। बसमा चढ्नेबित्तिकै पिठ्यूँ भिजेको पाएँ,’ निकोल भन्छिन्, ‘यो निकै घृणित कार्य थियो।’
यसपटक समेत प्रहरीलाई रिपोर्ट गर्ने सोच आए पनि कुनै अर्थ नदेखेकाले नगरेको बताउने निकोल आँसुमिश्रित स्वरमा भन्छिन्, ‘आफ्नो पछाडि को छ भनी चनाखो हुँदै हिँड्नुबाहेक अरू विकल्प छैन।’
---
चारिस, जसले सन् २०१६ मा यसप्रकारको हिंसा बेहोरिन्।
‘मङककमा कजिनसँग घुम्न गएको थिएँ। जब हामी भीडको बीचबाट चोक पार गर्दै थियौँ, अचानक तातो तरल पदार्थले पिठ्यूँ भिजेको पाएँ,’ उनी भन्छिन्।
अन्योलमा परेको र के भयो भन्ने निश्चित नभएकोले उनले घटनाबारे प्रहरीमा रिपोर्ट गरिनन्।
‘यो घटनाले मलाई निकै सताउँछ,’ चारिस भन्छिन्, ‘घटनापछि प्रत्येकपटक त्यो चोकमा पुग्दा पिठ्यूँ छोप्न हात पछाडि राख्छु।’
लिलीको त्यो पोस्ट, जसले चार्लिनलाई हिम्मत दियो
लिली, एक अफिस क्लर्क हुन्। ४ फेब्रुअरी साँझ ६ बजे मङककको सोही चोक (जहाँ चारिस हिंसामा परेकी थिइन्)मा कसैले पछाडिबाट तरल पदार्थ फ्याँक्यो।
उनले यस्तै प्रकारका हिंसाका बारेमा अनलाइन पोस्ट देखेकी थिइन्। अनि, यत्तिकै चुप नलाग्ने अठोटसहित भोलिपल्ट घटनास्थल फर्किइन् र आफूलाई हिजो घटेको घटनाको नक्कल गर्दै भिडिओ बनाएर इन्स्टाग्राममा अपलोड गरिन्।
भिडिओ अपलोड गर्नुअघि उनले उल्टै आफूमाथि विभिन्न लाञ्छना आउलान् कि भन्ने नसोचेकी होइनन्। तर ‘यो मेरो दोष होइन, विकृतिलाई अन्त्य गर्नैपर्छ’ भन्ने सोचिन् र पोस्ट गरिन्।
उनको भिडिओमा ५६ जनाले आफूहरूले पनि त्यस्तै उत्पीडन भोगेको बताएका थिए।
लिलीको यही पोस्टले चार्लिनलाई यसविरुद्धको अभियान नै सञ्चालन गर्ने गरी इन्स्टाग्राम पेज खोल्न प्रोत्साहित गर्यो।
आफू एक्लो हुँदा जति डर लागेको थियो, अब समूहमा भएकाले त्यो डर हराएको र सामूहिक रूपमा समस्याको सामना गर्न सक्षम रहेको चार्लिन बताउँछिन्।
चार्लिनले अभियानकै रूपमा इन्स्टाग्राम पेज सुरु गरेपछि निकोल र चारिसले पनि आफ्ना पीडा साझा गर्दै सन्देश पठाए। अब उनीहरू एक्लाएक्लै होइन, सामूहिक रूपमा विकृत प्रवृत्तिको विरुद्ध लड्नेछन्।
‘उपेक्षित’ यौन हिंसा
समाजले बलात्कार र अशोभनीय आक्रमणलाई मात्र यौन हिंसा ठान्दा दैनिक जीवनमा घट्ने यस प्रकारका यौन हिंसा लामो समयदेखि विकृतिको रूपमा देखापर्दै आएको रेनलिली नामक संस्थाकी सामाजिक कार्यकर्ता फ्लोरेन्स साङ बताउँछिन्।
‘छविमा आधारित यौन हिंसा तथा महिलाको शरीरमा तरल पदार्थ छर्कनेजस्ता कुरा लामो समयदेखि बेवास्तामा पर्दै आएका छन्,’ साङ भन्छिन्, ‘कन्सर्न पेजलाई धन्यवाद। यस्तो सामाजिक समस्यामाथि हाम्रो ध्यानाकर्षण भयो।’
लैंगिक अध्येता लाईले लिक्विड स्प्लासिङ एक प्रकारको यौन हिंसाको रूपमा रहेको र यो चिनियाँ तथा अंग्रेजी अनलाइन पोर्न प्लेटफर्महरूमा ‘कम अन वुमन इन पब्लिक’ अथवा ‘इजाकुलेसन इन द स्ट्रिट’ (सडकमा स्खलन) भनेर ट्याग गरिएको अश्लील भिडिओमा यसको जरा रहेको बताइन्।
पंक्तिकारले फेला पारेका मोबाइलबाट खिचिएका र पोर्न साइटमा अपलोड गरिएका धेरै भिडिओमा सामान्यतः एक पुरुष सडक, सपिङ मल आदिमा महिलालाई पछ्याउँछ र उनीहरूले थाहा नपाउने गरी स्खलन गरेको देखिन्छ।
यस्तै, बीबीसीले गत जुनमा एक आपराधिक समूहको अनुसन्धान गर्यो, जसले चीनको एक सार्वजनिक ठाउँमा महिलालाई दुर्व्यवहार गर्न १५ जनाको टोली खटाएको र उक्त क्रियाकलापलाई भिडिओमा कैद गरी अनलाइनमा बेचेको भेटिएको थियो।
‘अपराधीहरू चतुर छन्, उनीहरूलाई थाहा छ कि वीर्यमा डीएनए हुन्छ, त्यसैले उनीहरू अस्वाभाविक हर्कतपछि तातोपानी वा अन्य अज्ञात तरल पदार्थ पनि छर्कन्छन्,’ लाई भन्छिन्।
यसप्रकारका घटना हङकङमा मात्र नभई ताइवान र चीनका सहरमा पनि घटेको चिनियाँ समाचारले देखाउँछन्।
एक खोज रिपोर्टका अनुसार सन् २००७ देखि २०२३ सम्म ताइपेइ, न्यु ताइपेइ र काओसिङमा कम्तीमा आठ पुरुषलाई महिलाहरूमा वीर्य, थुक वा अज्ञात तरल पदार्थ छर्केको आरोपमा पक्राउ गरिएको थियो।
गत अक्टोबरकै कुरा, ग्वाङझाउमा ट्रेनबाट यात्रा गरिरहेको बेला महिलाको पिठ्यूँमा तरल पदार्थ छर्केको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको थियो। (हङकङ फ्रि प्रेसबाट अनूदित)
Shares
प्रतिक्रिया