हङकङका शीर्ष ३ धनाढ्य : सापटीमा व्यवसाय सुरु गर्नेदेखि गरिब परिवारकासम्म

हङकङका शीर्ष ३ धनाढ्य : सापटीमा व्यवसाय सुरु गर्नेदेखि गरिब परिवारकासम्म

दायाँबाट क्रमशः लिका सिङ, लिसाउ कि र हेनरी चेङ


नेपालखबर
फागुन १५, २०८० मंगलबार १८:५२, हङकङ

फोर्ब्स पत्रिकाले हरेक वर्ष विश्वका धनी व्यक्तिको सूची प्रकाशित गर्ने गरेको छ।

त्यसै अनुरुप पत्रिकाले हङकङका सबैभन्दा धनी ५० व्यक्तिको सूची तयार गरेको छ।

फोर्ब्सले जानकारी गराए अनुसार विभिन्न व्यक्ति, विश्लेषक, सरकारी निकाय, स्टक एक्सचेन्ज, डाटाबेस तथा अन्य स्रोतहरूबाट जानकारी लिएर धनी व्यक्तिको सूची निकालिएको हो।

यस्तो सूचीमा व्यवसाय, आवासीय वा सहरसँग अन्य सम्बन्ध भएका विदेशी नागरिक वा सहरमा नबस्ने तर सहरसँग महत्त्वपूर्ण व्यापार वा अन्य सम्बन्ध भएका नागरिक पनि समावेश हुन सक्छन्।

५० धनीमध्ये सबैभन्दा अग्रणी स्थान ओगट्न सफल तीन व्यक्ति निम्न रहेका छन्ः

लिका सिङ, ३६.२ बिलियन डलर
हङकङका सबैभन्दा धनी व्यक्ति लिका सिङलाई सुपरम्यान उपनामले पनि चिनिन्छ।

उनलाई एसियाकै प्रभावशाली व्यवसायीका रूपमा चिनिन्छ।

लिले सन् २०१८ मा सीके हचिसन होल्डिङ्स र सीके एसेट होल्डिङ्सको अध्यक्षबाट बिदा लिइसकेका छन्। तर, पनि उनी कम्पनीको वरिष्ठ सल्लाहकारका रूपमा छन्।

अहिले उनका छोरा भिक्टरले उनको सम्पूर्ण कारोबारको नेतृत्व गरेका छन्। यो कम्पनी समूहमा तीन लाखभन्दा बढी कर्मचारी कार्यरत छन् र ५० भन्दा बढी देशमा सञ्चालित छन्।

लि २१ वर्षको हुँदा सन् १९५० मा आफन्तहरूबाट ६ हजार ५ सय डलर सापट तथा ऋण लिएर व्यावसायिक जीवनको सुरुआत गरेका थिए।

उनको लिका सिङ फाउन्डेसनले अहिलेसम्म ३.८ बिलियन डलरभन्दा बढी रकम विभिन्न परोपकारी कार्यका लागि दान गरिसकेको छ।

हङकङकै सबैभन्दा धनी व्यक्तिमा सूचीकृत भएका लिको सम्पत्ति ३६.२ बिलियन (३६ अर्ब २० करोड) अमेरिकी डलर रहेको छ।

अघिल्लो वर्षको तुलनामा कुल सम्पत्तिमा गिरावट आए पनि उनी धनी व्यक्तिको पहिलो नम्बरमै रहन सफल भए।

उनको सम्पत्तिको सबैभन्दा ठूलो मानक सीके एसेट होल्डिङ्सको सेयर घट्दा उनको सम्पत्तिमा गिरावट आएको हो।

उनको कम्पनीले बजारमा घरको माग बढाउन आवासीय परियोजनाहरूको मूल्य घटाउँदै आएको छ।

लिसाउ कि, २७ बिलियन डलर
लिसाउ किले सन् १९७६ मा हेन्डरसन ल्यान्ड डेभलपमेन्ट स्थापना गरेका थिए। यसैको माध्यमबाट उनले आफ्नो सम्पत्ति बढाउँदै लगे।

सन् २०१९ मा उनले हेन्डरसन ल्यान्डको अध्यक्षबाट राजीनामा दिए र आफ्ना छोराहरू मार्टिन र पिटरलाई सह-अध्यक्षको रूपमा नियुक्त गरे।

लिसाउ परोपकारी व्यक्तिका रूपमा पनि परिचित छन्। उनले शिक्षा क्षेत्रका लागि चार सय मिलियन डलरभन्दा बढी दान गरिसकेका छन्।

उनी एक गरिब परिवारमा हुर्केका थिए तर आज पनि हङकङकै दोस्रो धनी व्यक्ति भएका छन्।

दोस्रो नम्बर धनीमा स्थान बनाएका उनको सम्पत्ति पनि अघिल्लो वर्षको भन्दा घटेर २७ बिलियन (२७ अर्ब) डलरमा सीमित भएको छ।

उनको हेन्डरसन ल्यान्डको सेयर ३० प्रतिशतले घटेको छ।

हेनरी चेङ एन्ड फेमिली, २२.१ बिलियन डलर
हेनरी चेङ आफ्ना स्वर्गीय बुबा चेङ यु–तुङको उत्तराधिकारी बनेका छन्, जो परिवारको प्रमुख फर्म चाउ ताई फुक ज्वेलरी र न्यू वर्ल्ड डेभलपमेन्टको अध्यक्ष बनेका छन्।

कम्पनीमा परिवारका कम्तीमा ९  सदस्य उद्यमको नेटवर्कमा काम गर्छन्। जसमा हेनरी चेङका हार्वर्ड–शिक्षित सन्तान एड्रियन र सोनिया पनि छन्।

एड्रियन चेङ न्यु वर्ल्ड डेभलपमेन्टका उपाध्यक्ष हुन् र सोनिया चेङ रोजवुड होटल ग्रुपको सीईओ हुन्, जुन २०११ मा न्यु वर्ल्डले अधिग्रहण गरेको थियो।

यो परिवारको सम्पत्ति पनि गतवर्ष भन्दा सात बिलियन डलर गिरावट भई २२.१ बिलियन (२२ अर्ब १० करोड) डलरमा सीमित भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .