हङकङमा आइतबारदेखि हाइड्रोजन बस सञ्चालनमा

उद्घाटन यात्राका लागि घण्टौँ लाइन बसेका यात्रु भन्छन् : नयाँ प्रविधिसँग साक्षात्कार हुन पाउँदा उत्साहित छौँ
हङकङमा आइतबारदेखि हाइड्रोजन बस सञ्चालनमा

हाइड्रोजनद्वारा सञ्चालित बसको उद्घाटन सत्रलाई स्वागत गर्दै हङकङवासी (एससीएमपी)


नेपालखबर
फागुन १३, २०८० आइतबार २०:१, हङकङ

हङकङमा आइतबारदेखि हाइड्रोजनबाट सञ्चालित बसको सेवा सुरु भएको छ।

सहरमै पहिलो पटक सञ्चालनमा आएको हाइड्रोजन बसलाई हेर्न सर्वसाधारण निकै उत्सुक देखिए।

चिसो मौसमको पर्वाह नगरी उत्साहीहरू बिहान ३ बजेदेखि नै काइतकको मुकअन स्ट्रिटमा जम्मा भइसकेका थिए।

सयभन्दा बढी व्यक्ति क्यामेरा र प्लेकार्डसहित यात्राको लागि ठाउँ सुरक्षित गर्न खोज्दै थिए। पहिलो यात्रा काउलुन, याउचिम मङ र सामसुइ पोको लागि तय गरिएको थियो।

१८ वर्षीय केन लाइ आफ्नो साथी डेनियल चेङसहित काइतकको लागि बस चढ्ने पहिलो लाइनमा थिए।

‘म बिहान ३ बजेदेखि लाइनमा बसेको हुँ,’ लाइ भन्छन्, ‘नयाँ प्रविधिसँग साक्षात्कार हुन पाउँदा निकै उत्साहित भएको छु।’

बसको ढोका खुल्नेबित्तिकै दुई जना डबल डेकर बसको माथिल्लो डेकमा उक्ले र अगाडिको पंक्तिको सीट सुरक्षित गरे।

त्यस्तै, अर्का उत्साही १२ वर्षीय गोर्डन आयुङ बिहान ९ बजेदेखि लाइनमा बसे। उनले पनि तल्लो डेकमा रहेको हाइड्रोजन ब्याट्रीबाट चल्ने इन्जिनको छेउमा सीट सुरक्षित गरे।

‘म हाइड्रोजनबाट चल्ने बस र पेट्रोलियम पदार्थबाट चल्ने बसबीचको भिन्नता महसुस गर्न चाहन्छु,’ आयुङले भने, ‘यस बसको इन्जिन धेरै शान्त छ र यसले वायु प्रदूषण पनि गर्दैन।’

यी तीन प्रतिनिधि पात्र जस्तै अन्यले हाइड्रोजन बस चढ्दाको प्रत्यक्ष अनुभूति गरे।

यी यात्रु जो हाइड्रोजनद्वारा सञ्चालित बसको उद्घाटन यात्रामा आफ्नो सिट सुरक्षित गर्न घण्टौँ लाइनमा बसेका थिए

११९ जना क्षमताको बसमा चढ्न नसकेका अरू धेरैले बाटो छेउमा बसेर गाडी गुडेको दृश्यावलोकन गरे।

हाइड्रोजन बसलाई सिटीबसले सञ्चालनमा ल्याएको हो। सिटीबसका महाप्रबन्धक रोजर मा चिम–वाइले यो बसले पहिलो महिनामा रुट २० मा दिनको ६ देखि ८ ट्रिप गर्ने बताए।

उनका अनुसार बसको २२एम रुट तोक्वाइ वान र काइतक क्रुज टर्मिनल तथा रुट २०ए ले काइतक क्रुज टर्मिनलबाट वेस्ट काउलुन हाइस्पिड रेल स्टेसनसम्मको सेवा दिनेछ।

कम्पनीले यस वर्ष कम्तीमा पाँच वटा इको फ्रेन्ड्ली बस सञ्चालनमा ल्याउने र इन्धन भर्ने अर्को एउटा स्टेसन पनि थप्ने योजना महाप्रबन्धक माले सुनाए।

माले बताएअनुसार हाइड्रोजन बसले सुरुङको यात्रा भने गर्न सक्ने छैनन्।

हाइड्रोजन सिलिन्डर र सप्लाइ सिस्टम जडान भएका बस डिजेलबाट चल्ने सवारीसाधनभन्दा वातावरणमैत्री हुने विश्वास गरिएको छ। किनभने हाइड्रोजन रासायनिक प्रतिक्रियाबाट बिजुलीमा परिणत हुने हुँदा उसले पानी मात्र उत्सर्जन गर्नेछ।

सिटीबसले बसमा इन्धन भर्न करिब १० मिनेट समय लागेको र यसले चार सय किलोमिटर माइलेज दिएको बताएको छ।

सन् २०५० सम्ममा हङकङलाई कार्बन शून्य उत्सर्जन सहर बनाउने सरकारको लक्ष्यलाई पाँच वर्ष अगाडि नै पूरा गर्ने लक्ष्यसहित कम्पनी अगाडि बढेको सिटीबसले जनाएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .