अपराध नियन्त्रण गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्ने हङकङ प्रहरीको संकेत

अपराध नियन्त्रण गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्ने हङकङ प्रहरीको संकेत

सन् २०१९ मा हङकङको सरकारी कार्यालय बाहिर सीसीटीभी क्यामेरा जडान गर्दै कामदार (एससीएमपी)


नेपालखबर
माघ २८, २०८० आइतबार १६:५३, हङकङ

हङकङका प्रहरी प्रमुख रेमन्ड सिउले अपराध नियन्त्रण र राष्ट्रिय सुरक्षा कायम गर्न अनुहार पहिचान प्रविधि (फेसियल रिकग्निसन टेक्नोलोजी–एफआरटी)को प्रयोग गर्न सकिने बताएका छन्।

हङकङ सरकारले यो वर्षको अन्त्यसम्ममा सहरभर दुई हजार सीसीटीभी क्यामेरा जडान गर्ने यसअघि नै घोषणा गरिसकेको छ।

जस अन्तर्गत पहिलो चरणमा आगामी महिनासम्म ६१५ वटा क्यामेरा जडान गर्न लागिएको छ।

यसै सिलसिलामा एफआरटीको प्रयोगको सम्भावना पनि नकार्न नसकिने प्रमुख सिउले बताएका हुन्।

स्थानीय सञ्चारमाध्यममा उद्धृत भए अनुसार सिउले कानुनको प्रवर्तन र अन्य क्षेत्रमा यसले अझ प्रवभाकारी भूमिका खेल्ने बताए।

प्रमुख सिउ भन्छन्, ‘यस विषयमा नागरिकले चिन्ता लिनु पर्दैन। प्रहरीले यसलाई अपराध विरुद्ध लड्न प्रयोग गर्नेछ। यो पनि कानुनी रूपमा मात्र हुनेछ।’

दुई हजार सीसीटीभी क्यामेरा जडान गर्ने सरकारले घोषणा गरेपछि नागरिकको गोपनीयता भङ्ग हुनेमा प्रश्न उब्जिएको थियो। यसैको जवाफ स्वरुप सिउले ‘चिन्ता लिनु नपर्ने’ भनेको बुझ्न सकिन्छ।

यसको प्रयोग सम्बन्धमा अन्तर्राष्ट्रिय प्रयोग पनि हेरिने सिउले बताएका छन्।

उनले यस मामलामा बेलायत र सिंगापुरको उदाहरण दिन पनि छुटाएनन्।

बेलायतले सन् १९९०को दशकमै निगरानी क्यामेरा जडान गर्न थालेको र अहिले देशभरिको संख्या हेर्दा ७.३ मिलियनभन्दा माथि रहेको उनको भनाइ छ।

त्यस्तै, सिंगापुरको उदाहरण दिएका सिउले अहिले त्यहाँ ९० हजार सीसीटीभी क्यामेरा भएको बताए।

यस्तै हङकङमा पनि दुई हजार क्यामेरा थोरै हुने र भविष्यमा यो संख्या बढ्ने आशा आफूले राखेको सिउ बताउँछन्।

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा सुरक्षा कायम गर्न त्यहाँ निगरानी क्यामेरा निकै उपयोगी र प्रवभावकारी देखिएकोले हङकङमा पनि यो प्रभावकारी हुनेतर्फ सिउ आशावादी देखिएका छन्।

क्यामेराले सार्वजनिक क्षेत्रलाई मात्र कभर गर्ने र व्यक्तिगत डेटाका लागि गोपनीयता आयुक्तको कार्यालयसँग परामर्श गर्ने पनि सिउले बताएका छन्।

सरकारका उपमुख्य सचिव चेउक विङ–हिङ गत महिना सहरका घटना बसोबास भएका र उच्च अपराध हुने भनेर किटानी भएका क्षेत्रमा २ हजार सीसीटीभी क्यामेरा जडान गर्ने खुलासा गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .