हङकङको निर्माण क्षेत्रले ‘कामदार सुरक्षा अनुगमन एप’ बनाउने

औद्योगिक दुर्घटना कम गर्ने उद्देश्य
हङकङको निर्माण क्षेत्रले ‘कामदार सुरक्षा अनुगमन एप’ बनाउने

निर्माणस्थलमा क्रेन भत्किँदा गतवर्ष तीन कामदारको मृत्यु भएको थियो (एससीएमपी)


नेपालखबर
मंसिर १८, २०८० सोमबार १५:५७, हङकङ

हङकङमा पछिल्लो समय बढ्दै गएको औद्योगिक दुर्घटनालाई कम गर्ने प्रयासस्वरुप निर्माण क्षेत्रले कामदारको कार्यसम्पादन अनुगमन गर्न एप बनाउने भएको छ।

स्थानीय सञ्चारमाध्यम एससीएमपीले उल्लेख गरेअनुसार तीन सय सदस्य उद्योगको प्रतिनिधित्व गर्ने हङकङ कन्स्ट्रक्सन एसोसिएसनका प्रमुख ठेकेदारहरू यस्तो एप बनाउन सहमत भएका छन्।

निर्माण क्षेत्रमा सुरक्षा उपाय उल्लंघन गर्ने कामदारको पारदर्शी रेकर्ड राख्न सकिने गरी एप निर्माण गर्न लागिएको हो।

‘प्रणालीलले कामदारलाई सजाय दिने उद्देश्य राख्दैन। तर, निर्माण साइटहरूमा हुने सबै दुर्घटनाबाट बच्ने आशा गरिएको छ,’ एपको विकाससँग परिचित एक आन्तरिक स्रोतलाई उद्धृत गर्दै एससीएमपीले लेखेको छ, ‘जब जीवन गुम्छ, ठेकेदार वा उपठेकेदार जिम्मेवार हुन्छन्।’

स्रोतका अनुसार एप निर्माणको उद्देश्य कामदारलाई सजाय दिने नभई जोखिम कम गर्न र दुर्घटनाका लागि जिम्मेवार व्यक्ति ट्र्याक गर्न मद्दत गरोस् भन्ने हो।

केही सीमित कम्पनीले पहिले नै आफ्नो कार्यस्थलमा यस्तो प्रणाली अपनाइसकेको पनि स्रोतको दाबी छ।

यो एप ९ महिनाअघि नै विकसित गरिएको थियो र मूल रूपमा हिपहिङ कन्स्ट्रक्सनले मात्र प्रयोग गरेको थियो।

कम्पनीले नै निर्माण क्षेत्रमा सुरक्षा अधिकारीले निरीक्षणका क्रममा भेटेका सुरक्षा उल्लंघनहरू बाहिर ल्याउन सक्ने प्रणाली विकसित गरेको थियो।

विकसित गरिएको नयाँ प्रणालीमा खराब प्रदर्शन गर्ने कामदारलाई निलम्बन गर्ने प्रावधान छैन, बरु यसको सट्टा सुरक्षाप्रति सचेत कर्मचारी पहिचान गर्ने र पुरस्कृत गर्ने संयन्त्र समावेश छ।

‘हामी हाम्रा सदस्य कम्पनीहरूसँग यो एप साझा गर्न पाउँदा धेरै खुसी छौँ। उनीहरूले यो एप अवलोकन गर्न सक्छन् र आफ्नो आवश्यकता महसूस गरी प्रयोग गर्न सक्नेछन्,’ स्रोतलाई उद्धृत गर्दै एससीएमपीले लेखेको छ, ‘यदि यो मानक बन्यो भने एप प्रयोग गर्न अस्वीकार गर्ने कामदारलाई निर्माण क्षेत्रमा जाने अनुमति दिइने छैन।’

सरकारी तथ्यांकअनुसार हङकङमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निर्माण क्षेत्रमा एक हजार तीन ९७ औद्योगिक दुर्घटना भएका छन्।

यस वर्षको थप तथ्यांकले २८ नोभेम्बरसम्म निर्माण क्षेत्रका १७ कर्मचारीको औद्योगिक दुर्घटनामा मृत्यु भएको देखाएको छ।

निर्माण क्षेत्रमा दुर्घटना बढ्दै गएपछि सरकारी अधिकारीहरूले पेसागत सुरक्षा मापदण्ड प्रणालीको विकास गर्न दबाब दिँदै आएका छन्।

हङकङ निर्माण उद्योग कर्मचारी जनरल युनियनका अध्यक्ष वोङ पिङले शुक्रबार ‘वर्षको सुरुआतमा जारी भएको पेसागत सुरक्षा तथा स्वास्थ्य अध्यादेशअन्तर्गत जरिवानामा वृद्धि भए पनि दुर्घटनाको संख्यामा कमी आउने कुनै संकेत नदेखिएको’ भन्दै नयाँ प्रणालीलाई जतिसक्दो चाँडो लागू गर्नुपर्ने बताएका थिए।

संशोधित कानुनअनुसार सुरक्षा नियम उल्लंघन गरेको ठहर भएमा दोषी रोजगारदातालाई अधिकतम १० मिलियन हङकङ डलर जरिवाना र दुई वर्षसम्मको कैद हुन सक्ने प्रावधान छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .