हङकङ प्रहरीले गैरकानुनी रूपमा सहर प्रवेश गरेको आरोपमा सोमबार चार पाकिस्तानीलाई पक्राउ गरेको छ।
उनीहरूकै समूहमा आएका अन्य चार जना भने फरार रहेका छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
आठ गैरचिनियाँ पुरुष शेकओबाट बस चढेर शाउके वानमा झरेका थिए।
बसका चालकले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरूले बसभाडा भुक्तानी गर्दा पानीले भिजेको हङकङ डलर १०० दिएका थिए।
उनीहरू शाउकेइ वान जाने डबल डेकर बसमा चढेका थिए।
पाकिस्तानी राहदानी बोकेका उनीहरूसँगै आएका अन्य चार जना भने फरार छन्।
सोमबार बिहान करिब साढे आठ बजे शेकओको केप डि’अगुइलर रोडमा आठ जना गैर–चिनियाँको समूह सहर प्रवेश गरेको भनेर प्रहरीलाई खबर आएको थियो।
सूचना पाएपछि त्यतातिर लागेको प्रहरी त्यहाँ पुग्नुअघि नै उक्त समूह फरार भइसकेको थियो।
त्यसपछि प्रहरीले विभिन्न क्षेत्रमा सडक अवरुद्ध गरेर उनीहरूको खोजी गरेको थियो।
त्यसको आधा घण्टापछि एक बस चालकले केप डि’अगुइलर रोडमा आठ जना संदिग्ध व्यक्ति गाडीमा चढेको बताएका थिए। चालकका अनुसार उनीहरू अल्ड्रिच स्ट्रिटको शाउकेइ वान बस टर्मिनलमा ओर्लिएका थिए।
तत्पश्चात् प्रहरीले उनीहरूलाई बस टर्मिनल नजिकैको पो म्यान स्ट्रिटबाट पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरू २२ देखि २४ उमेर समूहका चार पुरुष हुन्।
यस्तै, दुई दिनअघि (शनिबार) पनि चार गैर–चिनियाँ पुरुष लान्ताउ टापुको दक्षिणपश्चिममा पर्ने पिक हिलबाट पक्राउ परेका थिए।
उक्त क्षेत्रमा माछा मार्न गएका स्थानीयले उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए।
पछिल्लो समय हङकङमा अवैध प्रवेश गर्नेको संख्या बढ्दै गइरहेको छ।
प्रहरी तथ्यांकअनुसार यस वर्षको पहिलो १० महिनामा बंगलादेश, पाकिस्तान र भियतनामका ९६८ जना अवैध रूपमा हङकङ प्रवेश गरेको आरोपमा पक्राउ परेका छन्।
त्यस्तै, यसै वर्ष अक्टोबर २२ देखि ३१ सम्मका सात वटा घटनामा बंगलादेश, भारत र पाकिस्तानका १०० भन्दा बढी अवैध आप्रवासीलाई हिरासतमा लिइएको थियो।
पछिल्लो घटनाक्रमले अवैध प्रवेश गर्नेहरूमा दक्षिणपूर्वी एसियाली देशका मानिस बढी पक्राउ परेपछि स्थानीय अधिकारीले मुख्यभूमि चीनका समकक्षीसँग मद्दत मागिसकेका छन्।
हङकङ र मुख्यभूमि चीनका अधिकारीले नोभेम्बर ४ देखि ६ को बीचमा गरेको दुई पक्षीय मानव तस्कर लक्षित अपरेसनमा कम्तीमा १२० जना संदिग्ध पक्राउ गरेका थिए।
स्थानीय अखबर साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)ले जनाएअनुसार यसअघि पत्रिकासँगको कुराकानीमा हङकङका सुरक्षा सचिव क्रिस ताङ पिङ–केङले पाकिस्तान र बंगलादेशबाट मुख्यभूमि चीनको उडान बढेकोले हङकङमा अवैध आप्रवासीको आगमन बढेको बताएका थिए।
उनका अनुसार पक्राउ परेका धेरै आप्रवासी पहिले मुख्यभूमि चीन उडेका थिए। त्यसपछि सेन्जेन प्राप्त जस्ता दक्षिण सहरहरूमा गएर त्यहाँबाट डुङ्गा चढी हङकङ प्रवेश गरेका थिए।
गत महिना पक्राउ परेका बंगलादेशी पुरुषहरूको एक समूहले आफ्नो देशबाट हङकङसम्मको यात्राका लागि प्रतिव्यक्ति ५५ हजार हङकङ डलर तिरेको प्रहरीलाई बताएका थिए।
प्रतिक्रिया