हङकङमा अनलाइन ठगी बढ्दै, हप्तामै ठगिए १८५ जना, गुमाए १०० मिलियन डलर

लगानी विशेषज्ञद्वारा छनोट गरिएको भन्दै स्टक किन्न देखाइन्छ प्रलोभन
हङकङमा अनलाइन ठगी बढ्दै, हप्तामै ठगिए १८५ जना, गुमाए १०० मिलियन डलर

तस्बिर : एससीएमपी


नेपालखबर
मंसिर १, २०८० शुक्रबार ८:४८, हङकङ

लगानी विशेषज्ञहरूको सुझावको आधारमा छनोट भएको दावी गरिएको ‘स्टक’ किन्दा हङकङमा १८५ जना ठगिएका छन्।  

एक हप्ताको समयावधिमा ठगिएका उनीहरूले १०० मिलियन हङकङ डलरभन्दा बढी गुमाएको प्रहरीले बताएको छ।

गत महिना पनि यही प्रकृतिको ठगीमा ११० जना ठगिएपछि प्रहरीले सर्वसाधारण सतर्क रहन सूचित गरेको थियो।

ठगी बढ्दै गएपछि प्रहरीले आफ्नो साइबरडिफेन्डर फेसबुक पेजमा सूचना जारी गर्दै सतर्क रहन पटक–पटक आग्रह गरेको छ।

घटनाबाट पीडित स्रोतले स्थानीय अखबारलाई दिएको जानकारी अनुसार ठगी समूहले पीडितहरूलाई ह्वाट्सएप लगायतका सामाजिक मिडिया प्लेटफर्ममा समूहमा सामेल गराई स्टक किन्नको लागि प्रोत्साहित गरेका थिए।

स्टक किन्नको लागि ट्रेडिङ वेबसाइट र एप डाउनलोड गर्न प्रलोभन देखाइएको थियो, जुन वेबसाइट र एप नक्कली थिए।

पीडितले बोगस प्लेटफर्ममार्फत लगानी गरेका थिए तर रकम फिर्ता लिन खोज्दा ठगहरूले अकाउन्ट ब्लक गरिसकेका थिए।

प्रहरीले आफ्नो फेसबुक पेजमा दिएको जानकारी अनुसार बोगस ट्रेडिङ एपहरूमा ARAMEX, BtePro+ र Yomaex समावेश छन्।

त्यस्तै अर्का एक पीडितले ‘टु बी फ्लोरिसिङ’ नामक मेसेजिङ ग्रुपमा सामेल भएर १.२ मिलियन हङकङ डलर गुमाएका छन्।

प्रहरीले बताएअनुसार उनलाई स्टकमा लगानी गर्न नक्कली ट्रेडिङ एप डाउनलोड गर्न लगाइएको थियो।

त्यसपछि १० वटा लेनदेनमार्फत हङकङका विभिन्न बैंक खातामा पैसा ट्रान्सफर गर्न लगाइएको थियो। पछि रकम झिक्न खोज्दा नमिलेपछि आफू ठगिएका महसूस गरेका थिए।

ठगीका घटना बढ्दै गएपछि कुनै पनि लगानी गर्नुअघि  स्क्यामिटर (Scameter) खोज इन्जिनमा जाँच गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

साइबरडिफेन्डर वेबसाइट र एपमार्फत पहुँचयोग्य स्क्यामिटरले शंकास्पद वेब ठेगाना, इमेल, प्लेटफर्म प्रयोगकर्ताको नाम, बैंक खाता, मोबाइल नम्बर, आईपी ठेगाना आदि पहिचान गर्न मद्दत गर्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .