हङकङका नेपालीले यसरी सम्झिए किसन राईलाई

दोस्रो पुण्यतिथिमा सार्वजनिक भयो स्मृति ग्रन्थ
हङकङका नेपालीले यसरी सम्झिए किसन राईलाई

‘किसन राई स्मृति ग्रन्थ’ सार्वजनिक गरिँदै (तस्बिर : जगत अम्बु गुरुङ)


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १२:५३, हङकङ

हङकङेली नेपाली समुदायले दुई वर्षअघि निधन भएका पत्रकार तथा सामाजिक अभियन्ता किसन राईलाई विशेष कार्यक्रम गरी सम्झिएका छन्।

आइतबार (२९ अक्टोबर) हङकङको जोर्डनस्थित याउमा तेइमा रहेको किरात याक्थुङ चुम्लुङ हिममा आयोजित किसन राई स्मृति सभा तथा स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममार्फत् हङकङेली नेपालीले राईलाई सम्झिएका हुन्।

राईको दोस्रो वार्षिक पुण्यतिथिको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न ४८ व्यक्तिको लेख समेटिएको ‘किसन राई स्मृति ग्रन्थ’ सार्वजनिक गरिएको थियो।

राईकी श्रीमती शोभा मगर, छोरा अरिम राई, हङकङस्थित वाणिज्यदूत सतिस गुरुङ, एनआरएनए आईसीसी महिला सचिव टिका (राधिका) गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, हङकङ चेम्बर अफ कमर्सका उपाध्यक्ष शशीमदन राई, जनजाति महासंघ हङकङका महासचिव टोपराज तामाङ, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक इन्द्र वनेम र माया थुलुङ, सञ्चारकर्मी डा. चुरा थापा र लेखक कमल पौडेल लगायतले सामूहिक रूपमा स्मृति ग्रन्थको सार्वजनिक गरेका थिए।

कार्यक्रममा हङकङमा रहेका विभिन्न व्यक्तित्वको उपस्थिति थियो। उक्त अवसरमा केही वक्ताले आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमको सुरुमा बोल्ने क्रममा स्मृति ग्रन्थका संयोजक इन्द्र वनेमले पुस्तकले किसन राईको जीवनका यावत् कुरा समेटेको बताए।

यद्यपि अझै पनि कतिपय आफूहरूले राख्न चाहेका व्यक्तिका लेख र कतिपय लेख्न चाहनेलाई पनि समेट्न नसकिएको उनले बताए।

त्यस्तै लेखक कमल पौडेलले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। उनले पुस्तकमा समेटिएका अधिकांश लेख राईको पारिवारिक, व्यावहारिक, हङकङमा उनले गरेका पहिचानसम्बन्धी आन्दोलन तथा भाषा साहित्यमा गरेको योगदानका बारेमा केन्द्रित रहेको बताए।

वैरागी काइँला, रामेश श्रेष्ठ, खगेन्द्र संग्रौला, वसन्त थापा जस्ता व्यक्तित्वको लेख समेटिएको पुस्तकमा किसन राईकी आमा शिवमाया, श्रीमती शोभा, जेठो छोरा अरिम लगायत पारिवारिक सदस्यको संस्मरण पनि समेटिएको लेखक पौडेलले बताए।

स्मृति ग्रन्थमा किसन राईलाई नजिकबाट चिन्ने र विभिन्न कालखण्डमा उनीसँग संगत गरेका विभिन्न ४८ व्यक्तिका संस्मरणात्मक लेख समेटिएका छन्।

दुई दशकभन्दा लामो समय हङकङमा रहेर पत्रकारिता तथा समाजसेवामा सक्रिय धरानका किसन राईको दुई वर्षअघि निधन भएको थियो। घुमघामका क्रममा ओखलढुङ्गाबाट धरान फर्कने क्रममा खोटाङमा दुर्घटनामा परी उनको निधन हो।

कार्यक्रम स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक माया थुलुङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई स्मृति ग्रन्थका सम्पादक डम्बरकृष्ण श्रेष्ठले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .