टाइफुन कोइनु : हङकङमा लागू भयो टी९ संकेत, १० को पनि सम्भावना

टाइफुन कोइनु : हङकङमा लागू भयो टी९ संकेत, १० को पनि सम्भावना

आँधीका कारण हङकङको मौसम धुम्मिएको छ (तस्बिर : एससीएमपी)


नेपालखबर
असोज २१, २०८० आइतबार १७:४४, हङकङ

आइतबार साँझ ७ बजेबाट हङकङमा टी९ संकेत लागू भएको छ। सुरुआतीमा कमजोर आँकलन गरिएको टाइफुन कोइनु एकाएक शक्तिशाली हुँदै गएपछि परिस्थिति हेरेर टी१० पनि जारी हुनसक्नेतर्फ अब्जर्भेटरीले संकेत गरेको छ। अब्जर्भेटरीले यसअघि कोइनु त्यति शक्तिशाली नहुने भविष्यवाणी गरेको थियो।

आइतबार साँझ ५ बजेसम्म कोइनु सहरको ७० किलोमिटर दक्षिणमा केन्द्रित रहेको जनाइएको छ। आँधी उत्तरपश्चिम सर्दै पर्ल नदीको मुहान नजिक सर्ने पूर्वानुमान गरिएको छ।

आँधीका कारण आइतबार साँझ ७ बजेसम्म चार जना घाइते भएको अधिकारीले बताएका छन्। यतिखेर कोइनुसँग सम्बन्धित तीव्र वर्षाले सहरलाई असर गरिरहेको छ। सहरको दक्षिणी क्षेत्रमा आँधीको प्रभाव धेरै रहेको छ। यहाँ हावाको गति अझै बढ्ने अनुमान गरिएको छ।

स्थिति अझै बढ्दै गएमा उच्च उष्णकटिबन्धीय चक्रवात चेतावनी संकेत समेत जारी गर्नुपर्ने अवस्था आयन सक्ने अब्जर्भेटरीले बताएको छ। आइतबार बेलुका पौने ५ बजेसम्म हावाको अधिकतम गति १२२ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ।

आँधीका कारण सहरमा छिटफुट घटना घटेका छन्। बिहान साढे ९ बजे टी३ संकेत लागू भएको अवस्थामा ह्याप्पी भ्यालीमा कार्यरत दुई जना सफाइकर्मीलाई रुखको हाँगा भाँचिएर टाउकोमा चोट लागेको थियो। उनीहरूलाई वानचाइस्थित रुट्टोन्जी अस्पताल लगिएको थियो।

साँझ ५ बजेसम्म सहरमा सात वटा रुख ढलेको रिपोर्ट प्राप्त भएको छ। त्यस्तै, कोइनुका कारण प्रभावित एक जनाले सार्वजनिक अस्पतालमा सेवा लिएका छन्।

टाइफुन कोइनुका कारण हवाइ, जल तथा स्थल सेवा अवरुद्ध भएका छन्। साँझ ७ बजेसम्ममा ९० उडान रद्द भएको र १३० वटा ढिलाइ भएको प्राधिकरण जनाएको छ।

सिटीबसले दिउँसो २:४० देखि दिउँसोको सेवा स्थगन गरिसकेको छ भने केएमबीले दिउँसो ३ बजे अन्तिम बस छुटेपछि दिनभरका सेवा बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

स्टारफेरीले दिउँसो साढे १ बजेदेखि सेवा बन्द गर्ने बताइसकेको थियो भने सनफेरीले काउलुनबाट २:३५ मा नर्थप्वाइन्टका लागि अन्तिम जहाज प्रस्थान गरेपछि बन्द गर्ने बताइसकेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .