हङकङमा आफ्नै छोरीलाई पटक–पटक यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बाबुविरुद्धको फैसला स्थगित भएको छ। बिहीबार गर्ने भनिएको फैसला प्रतिवादीले समय मागेका कारण ६ अक्टोबरसम्मका लागि स्थगित भएको हो।
वेटरको काम गर्ने ३९ वर्षीय फिलिपिनोले आफ्नी दश वर्षकी छोरीलाई पटक–पटक यौन दुर्व्यवहार गरेका थिए।
दश वर्षको उमेर हुँदादेखि यौन दुर्व्यवहारको शिकार भएकी बालिका १३ वर्ष पुग्दा महिनावारीमा गडबड भएपछि रहस्योद्घाटन भएको थियो।
सन् २०१९ देखि पीडित बनेकी ती बालिकाले २०२२ को अन्त्यमा सबै कुरा आमा समक्ष भनेकी थिइन्।
यसपछि उनकी आमाले प्रहरीमा रिपोर्ट दर्ता गराइन्। यसपछि प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो।
डीएमएल भनेर चिनिने अभियुक्तले अदालतसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका छन्।
यस मुद्दा सम्बन्धमा अदालतले बिहीबार फैसला सुनाउने तयारी गरेको थियो तर प्रतिवादीले समय मागेपछि न्यायाधीशले ६ अक्टोबरसम्मका लागि स्थगित गरे।
अभियुक्तका तीन छोरी र श्रीमती छन्। उनीहरू हङकङको लम्मा टापुमा बस्ने गरेका थिए। आफ्नो कर्तुतबारे पर्दाफास भएपछि उनले पीडित बालिका र उनकी आमासँग माफी माग्दै पत्र पनि लेखेका थिए। तर पीडित बालिकाकी आमाले उक्त पत्र अस्वीकार गरिन्।
दुर्व्यवहारको पहिलो घटना सन् २०१९ को डिसेम्बरमा घटेको हो।
पीडित बालिकाकी आमा व्यक्तिगत कामको लागि आफ्नी घरेलु कामदारसँग फिलिपिन्स गएकी थिइन्।
घरमा अभियुक्त तीन छोरीको जिम्मा लिएर बसेका थिए। उनले पीडित बालिकालाई कान्छी बहिनीसहित आफ्नो कोठामा सुत्न भने।
राति उनले बालिका (जसलाई परिवर्तित नाम एक्स दिइएको छ)को शरीरमा सुमसुम्याउनुका साथै संवेदनशील अंगमा छोएपछि उनी रोइन्। तर, पीडकले यो केवल मसाज हो भनी फकाए। पीडित बालिका उनको कुरामा चित्त नबुझाइ आफ्नै कोठामा गइन्। यतिखेर पीडकले बालिकासँग माफी मागेर घटना बाहिर आउनबाट रोके। यतिखेर पीडित बालिका १० वर्षकी थिइन्।
दुर्व्यवहारको अन्तिम घटना अक्टोबर २०२२ को हो। यतिखेर एक्स १३ वर्षकी थिइन्, एक रात अभियुक्त बालिकाको कोठामा पसे र यौनजन्य हर्कत गर्न थाले। बालिकाको प्रतिरोधले कुनै अर्थ राखेन। पीडकले करणी गरे र बाहिरिए।
महिनावारी समयमा नभएपछि बालिकाले सोही महिनाको अन्त्यतिर आफ्नी आमालाई घटनाबारे बताएकी थिइन्।
घटनाबारे पत्ता पाएपछि उनकी आमाले सर्वप्रथम बालिकाको विद्यालयकी सामाजिक कार्यकर्तालाई घटनाको जानकारी गराएकी थिइन्।
यो तीन वर्षको बीचमा अभियुक्तले एक्सलाई धेरै पटक दुर्व्यवहार गरेका थिए। बालिकाका अनुसार उनी महिनाको कम्तीमा पाँच पटक दुर्व्यवहारमा पर्ने गरेकी थिइन्।
बालिकाका अनुसार सन् २०१९ बाट दुर्व्यवहार खेपेकी उनले २०२० बाट करणीसमेत भोग्दै आएकी थिइन्।
वेटरको काम गर्ने अभियुक्त डीएमएल नोभेम्बर २०२२ मा पक्राउ परेका हुन्।
प्रतिक्रिया