हङकङको नर्थ प्वाइन्टस्थित यिङवोङ हाउसको फ्ल्याटमा बुधबार भएको आगलागीका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसोेसम्मको रिपोर्टअनुसार उक्त आगलागीमा घाइते भएका चार जनामध्ये एक जनाको मृत्यु भएको हो भने दुई घाइते गम्भीर छन्।
हङकङको स्थानीय अखबार डिमसमका अनुसार घाइतेमध्ये बिहीबार दिउँसो करिब ४ बजे चान उपनामकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
यस्तै, लाम उपनामका २२ वर्षीय पुरुष र ३२ वर्षकी फिलिपिनो महिलाको अवस्था गम्भीर छ।
वोङ उपनामका ३५ वर्षीय चौथो घाइतेलाई सामान्य चोट मात्र लागेको थियो। आगलागी पश्चात् उनैले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलको कानुन प्रवर्तन एजेन्सी र दमकल विभागले अनुसन्धान गरिरहेका छन्। अहिले घटनास्थललाई घेराबन्दी गरिएको छ।
घटनास्थल वरपर अग्नि नियन्त्रकहरूले आगलागीबाट बच्ने उपाय सुझाइएको पर्चा बाँडिरहेका छन्।
यिङवोङ हाउसको फ्ल्याटमा बुधबार बिहान करिब ३ बजेतिर आगलागी भएको थियो।
प्रहरीले तीन जनालाई बेहास अवस्थामा उद्धार गरेको थियो। गम्भीर घाइते दुई जनाको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ।
भीषण रूपमा लागेको आगो निभाउन अग्निनियन्त्रकहरूलाई आधा घण्टा समय लागेको थियो। घटनाको अनुसन्धानमा पूर्वी जिल्ला क्षेत्रीय अपराध युनिट खटिइरहेको छ।
प्रतिक्रिया