हङकङको काउलुनस्थित निर्माण क्षेत्रमा ग्यास लिक भई मृत्यु भएका दुई कामदारका सुपरभाइजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वेस्ट काउलुन कल्चलर डिस्ट्रिक्टको याउमा तेइस्थित अस्टिन रोडमा रहेको निर्माण क्षेत्रमा गत आइतबार दुई मजदुरको मृत्यु भएको थियो।
जमिनमुनिको पाइपलाइन मर्मत गर्न शनिबार निर्माणस्थलमा पुगेका उनीहरू आइतबार बिहानसम्म पनि कसैको सम्पर्कमा नआएपछि खोजी भएको थियो।
यसै क्रममा आइतबार बिहान उनीहरूलाई एकै ठाउँमा बेहोस अवस्थामा फेला पारिएको थियो। पछि उनीहरूलाई अस्पतालले मृत घोषित गर्यो।
यो घटनापछि निर्माण क्षेत्रको संवेदनशील काममा हेलचक्र्याइँ गरिएको भनी आलोचना हुँदै आएको छ।
यसै क्रममा प्रहरीले परियोजनाका सुपरभाइजरलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पेसागत सुरक्षा तथा स्वास्थ्य अध्यादेश उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जनाएको छ।
सुपरभाइजरलाई पक्राउ गर्नुपर्ने आवाज उठ्न थालेपछि सुरुमा सु उपनामका ती सुपरभाइजर बेपत्ता भएका थिए। तर, पछि प्रहरीले उनलाई चिमसा चोइबाट पक्राउ गर्यो।
सुपरभाइजर सुलाई पेसागत सुरक्षा तथा स्वास्थ्य अध्यादेशको धारा ६ उल्लंघन गरेको आरोप लागेको छ। यदि यो आरोप पुष्टि भएमा अधिकतम दुई वर्षको जेल सजाय र दश मिलियन हङकङ डलर जरिवाना हुन सक्छ।
पाइपलाइनलाई तीन भागमा विभाजन गरिएको छ। पहिलो खण्ड प्रवेशद्वारबाट १० मिटरको दुरीमा पर्छ। त्यसपछि दोस्रो खण्ड ४–५ मिटर टाढा छ भने तेस्रो अर्थात् अन्तिम खण्ड ८० देखि १०० मिटरपछि पुगिन्छ। पीडित दुई कामदार पहिलो खण्डमा काम गर्ने क्रममा दुर्घटनामा परेका हुन्।
प्रतिक्रिया