मंगलबार बिहान हङकङको चुनमुनस्थित २३ तिनकिङ रोडमा रहेको सानवाइ कोर्ट पार्किङ लटमा आगजनी भएको छ।
आगजनीका कारण १० वटा कारमा क्षति पुगेको छ। एक व्यक्तिले पार्किङ स्थलबाट धुवाँ निस्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बिहान करिब चार बजे भएको आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पानीको जेट र श्वासप्रश्वास उपकरणको टोलीसहित अग्निनियन्त्रकहरू खटिएका थिए।
प्रारम्भिक अनुसन्धानले आगलागीको कारण शंकास्पद देखाएको छ।
सेक्युरिटी क्यामेराको फुटेजमा एक व्यक्तिले पार्किङस्थलमा रहेको एउटा गाडीलाई लक्षित गर्दै ज्वलनशील वस्तु फ्याँकिरहेको देखिएको प्रहरीले बताएको छ।
यस पश्चात् उक्त कारको मालिकलाई सम्पर्क गर्दा उक्त घटना घट्नुअघि कसैसँग विवाद भएको बुझिएको छ। यसकारण बदलाभाव कसैले यस्तो हर्कत गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया