हङकङमा एमटीआर, सपिङ सेन्टर, ट्वाइलेट जस्ता सार्वजनिक स्थानमा चोरीका घटना बढ्दै गएका छन्।
यस्ता चोरीका घटनामा गिरोह नै संलग्न रहेको प्रहरीले पत्ता लगाएको छ।
पछिल्लो समय दर्ता भएका १ सय ६ वटा चोरीका घटनामा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ। जसमा ११ जना मुख्यभूमि चीनका छन्।
उनीहरूले हङकङका सार्वजनिक स्थानमा २/३ जनाको समूह बनाई चोरी गर्ने अनि मुख्यभूमि चीनमा गई चोरीका सामान बाँड्ने गरेको थाहा भएको हो।
वोङताइ सिन आपराधिक अनुसन्धान इकाइका प्रहरी निरीक्षक लाम किन–युले मंगलबार बताएअनुसार पक्राउ परेका ६ जनासँग मुख्यभूमि चीनको यात्रा कागजात भेटिएको छ। उनीहरू हङकङ छिरेको केही दिनमा चोरीमा संलग्न भएको उनले बताए।
प्रहरीका अनुसार पकेटमारहरूले भीडभाडमा गई एकजनाले छाताद्वारा अन्य यात्रुलाई छेक्ने र अर्कोले पीडितको झोलाबाट सामानहरू झिक्ने गरेको पाइएको हो।
पकेटमारहरू एमटीआर, किनमेल केन्द्र जस्ता भीडभाड हुने क्षेत्रमा बढी सक्रिय हुने गरेका छन्। उनीहरूले सामान्यतया गृहिणी र वृद्धवृद्धालाई बढी लक्षित गर्ने पाइएको छ।
त्यस्तै, पकेटमारहरूले सार्वजनिक शौचालयलाई पनि चोरीको गन्तव्य बनाउने गरेको प्रहरीले पत्ता लगाएको छ।
प्रहरी निरीक्षक लामले केही चोरीका घटना शौचालयमा पनि भएको बताए। मानिसहरूले शौचालय जाने क्रममा ‘वेटिङ रुम’मा सामान छोड्दा पकेटमारहरूले हुकको प्रयोग गरी चोर्ने गरेको पाइएको हो।
यसका साथै उनीहरूले खुद्रा पसललाई पनि चोरीको गन्तव्य बनाउने गरेको पाइएको छ। प्रहरीले जुनदेखि अगस्टको बीचमा वोङताइ सिनमा चोरीविरुद्धको अपरेशन सञ्चालन गरेको थियो। सांकेतिक नाम ‘डार्कभेल’ राखिएको यस अभियानमा प्रहीले ५० जनालाई पक्राउ गरेको हो।
यसकारण प्रहरीले सार्वजनिक स्थानहरूमा यात्रा गर्दा आफ्नो सामानको ख्याल गर्न सबैलाई आग्रह गरेको छ। साथै, कोही व्यक्तिमाथि शंका लागेमा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेको छ।
प्रतिक्रिया