हङकङमा स-साना घटनाबाटै बढ्न थाले व्यक्ति हत्या, तीन दिनभित्र तीन जनाले गुमाए ज्यान

हङकङमा स-साना घटनाबाटै बढ्न थाले व्यक्ति हत्या, तीन दिनभित्र तीन जनाले गुमाए ज्यान

तस्बिर : एससीएमपी


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १८:५, हङकङ

हङकङमा स-साना विवाद व्यक्ति हत्या जस्तो जघन्य अपराधसम्म पुग्ने घटना बढ्दै गएको छ। पछिल्ला तीन दिनमा भएका घटनाले पनि यसलाई पुष्टि गरेको छ।

पछिल्लो तीन दिनमा यस्ता गम्भीर प्रकृतिका तीनवटा घटना भएका छन्। 

सबैभन्दा पछिल्लो घटनामा एक ६२ वर्षीय वृद्धले श्रीमतीलाई घाइते बनाएर आफू मृत भेटिएका छन्।

साउमाउ फिङस्थित फोटाट इस्टेटको टाटचुइ हाउसबाट झगडा भएको रिपोर्ट आएपछि पुगेको प्रहरीले भवनको पहिलो तलाको पोडियममा पुरुषको शव र भित्र फ्ल्याटमा उनकी श्रीमतीलाई घाइते अवस्थामा फेला पारेको थियो।

वृद्धले श्रीमतीलाई घाइते बनाएर आफूले पनि आत्महत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

घाइते महिलालाई उपचारार्थ क्वीन एलिजाबेथ अस्पताल पठाइएको छ।

यसैगरी, बुधबार पनि प्रहरीले यस्तै दुई घटनाको सामना गरेको थियो।

जसमा एउटा घटना सम्पत्तिको विवादमा थियो भने अर्को चोरीको।

सम्पत्ति विवादको घटनामा ताइपोस्थित ताइवो इस्टेटको १६औँ तलाबाट ६१ वर्षीय एक व्यक्तिले ४९ वर्षीया भान्जीलाई खसालिदिएका थिए।

यसका साथै प्रहरीले घटनास्थलको निरीक्षण गर्ने क्रममा भान्सामा प्रयोग हुने चक्कु र रगत लतपतिएको कैँची भेट्टाएको थियो।

यसबाट उनीहरूको घरभित्र झगडा भएको र पुरुषले भवनबाट खसालिदिएको बुझ्न सकिन्छ।

यो घटना बुधबार बिहान पौने दश बजेतिर भएको थियो भने सोही दिन दिउँसो १ बजे काइचुङस्थित औद्योगिक भवनको उपविभाजित भवनमा भएको चोरीको घटनामा ७७ वर्षीय वृद्धको शव नाइलनको झोलामा फेला परेको थियो।

यसको आधा घण्टापछि घटना भएको फ्ल्याटको छिमेकमा रहेको ताइवो हाउ इस्टेटको ब्लकबाट एक २६ वर्षीय पुरुष हामफाले।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चोरीमा संलग्न पुरुषले वृद्धको फ्ल्याटमा तोडफोड गर्दैगर्दा रंगेहात फेला परे। त्यसपछि उनले घाँटी थिचेर वृद्धको हत्या गरेका थिए।

यस्तै दुई हप्ता अगाडि पनि चिवान चाङस्थित एक सार्वजनिक आवास ब्लकमा ६६ वर्षीय पुरुषले छिमेकी ८५ वर्षीया वृद्धाको हत्या गरी आत्महत्या गरेका थिए।

लामो समयदेखिको आवाजसम्बन्धी विवादमा पुरुषले वृद्धालाई बञ्चरो प्रहार गरी हत्या गरेपछि आफू पनि फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .