हङकङमा डेढ शताब्दीयताकै भीषण वर्षा, बाढीका कारण सय जना बढी अस्पताल भर्ना, चार गम्भीर

‘ब्ल्याक रेन’का कारण ठप्पजस्तै छ हङकङ
हङकङमा डेढ शताब्दीयताकै भीषण वर्षा, बाढीका कारण सय जना बढी अस्पताल भर्ना, चार गम्भीर

बाढीमा फसेका कार चालकलाई उद्धार गर्दै उद्धारकर्मी। तस्बिर : सीएनएन


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १२:५२, हङकङ

हङकङमा बिहीबार रातिदेखि परेको भीषण वर्षाले झण्डै डेढ शताब्दीयताकै रेकर्ड ब्रेक गरेको छ। १ सय ३९ वर्षअघि अर्थात् सन् १८८४ देखि हङकङमा वर्षाको रेकर्ड सुरु भएयताकै यो सबैभन्दा ठूलो वर्षा हो। हङकङ अब्जर्भेटरीले बिहीबार राति ११ बजेदेखि मध्यरातसम्म १ घण्टाको बीचमा १५८ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको थियो।

वर्षाका कारण तल्लो क्षेत्रका सडकहरू नदी जस्ता बनेका छन्। सडकमा कतिपय सवारीसाधन डुबानमा परेका थिए। उनीहरूलाई उद्धारकर्मीले उद्धार गर्नुपरेको थियो।

बाढी तथा डुबानका कारण शुक्रबार दिउँसोसम्म सय जनाभन्दा बढी मानिस अस्पताल भर्ना भएका छन्, जसमा दुई पुरुष र दुई महिला गरी चार जना गम्भीर रहेको बताइएको छ।

हङकङले शक्तिशाली टाइफुन बेहोरेको हप्ता दिनमै अर्को शक्तिशाली प्राकृतिक विपद् बेहोर्न पुगेको हो।

गतहप्ता हङकङ समुन्द्री आँधी साओलाका कारण नराम्ररी प्रभावित भएको थियो। प्रशासनले गत शुक्रबार बिहान टी८ संकेत जारी गरेको थियो भने यतिले मात्र नपुगेर यसलाई बढाएर १० नम्बर संकेतसम्म पुर्‍याएको थियो।

उक्त दिन हङकङ ठप्पजस्तै थियो। टाइफुन साओला पाँच वर्षयताकै शक्तिशाली भएको बताइएको छ। यो आँधीका कारण ८६ जना घाइते भएको सरकारी तथ्यांक छ।

यसैगरी आज (शुक्रबार) पनि कालो वर्षा (ब्ल्याक रेन)का कारण हङकङको जनजीवन नराम्ररी प्रभावित भएको छ।

वर्षाका कारण तल्लो क्षेत्रका सडक जलमग्न भएका छन्। सडकमा रहेका सवारी साधनको आधा भाग पानीमा डुबेको तस्बिरमा पनि देख्न सकिन्छ।

ब्ल्याक रेनका कारण शुक्रबार चाइवानमा आएको बाढी। तस्बिर : एससीएमपी

वर्षाको प्रभाव साँझ ६ बजेसम्म रहनसक्ने मौसम विभागले जनाएको छ।

हङकङको सार्वजनिक प्रसारण सेवा आरटीएचकेका अनुसार वर्षाका प्रमुख बस सेवा, फेरी सेवा लगायतका सार्वजनिक सेवा बन्द छन्।

मौसम विभागले बिहीबार रातिदेखि नै मानिसहरूलाई घरभित्रै बस्न, बाहिर ननिस्कन तथा नदी नजिकका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

हङकङमा २७/२८ वर्षदेखि बसोबास गर्दै आएका नरजित राई आफू हङकङ आएदेखि नै यस्तो वर्षा कहिल्यै नेदेखेको बताउँछन्।

राई भन्छन्, ‘मैले अघिल्लै दिन कामबाट छुट्टी लिएर शुक्रबारलाई हङकङ आई हस्पिटलमा  आँखा जँचाउनका लागि अपोइन्टमेन्ट लिएका थिएँ। तर, बिहीबार रातिदेखि यति ठूलो पानी पर्‍यो कि मैले अहिलेसम्म देखेकै थिइनँ।’

उनी थप्छन्, ‘तैपनि बिहान अस्पताल जानको लागि निस्किएँ। सडकमा खोलामा झैं पानी बगिरहेको थियो। निकै कोसिस गर्दा पनि अगाडि बढ्न सकिनँ अनि अपोइन्टमेन्ट जेसुकै होस् भनी घर फर्किएँ।’

चाइवानस्थित सडक बाढीले बगर जस्तो बनाएको छ। तस्बिर : एससीएमपी

उनी बसेको स्थानबाट अस्पताल पुग्न आधा घण्टा मात्र समय लाग्दछ।

राईले आफ्नो फेसबुकमा पनि यो कुरा शेयर गरेका छन्।

शुक्रबार दिउँसो नेपालखबरले उनलाई पछिल्लो अवस्था के छ भनी जिज्ञासा राखेको थियो।

‘ब्ल्याक रेन चलिरहेको तर अहिले केही कम भएको’ बताउने उनी त्यतिखेर अस्पताल पुगेर फर्कंदै थिए।

तर, ब्ल्याक रेनका कारण अस्पताल बन्द थियो।

‘अस्पताल मात्र होइन, अहिले यहाँ मिनिबस, डबल डेकोर बस, फेरी सेवा पनि चलेको छैन। तर, बाढी भने केही कम भएको छ,’ त्यतिखेर काउलुन सिटीमा रहेका उनी बताउँछन्। बस लगायत सेवा बन्द रहे पनि ट्रेन भने चलिरहेको छ।

वाङचुक हाङस्थित आइसल्यान्ड रोडमा सवारीसाधनसँगै भासिएको सडक। तस्बिर : फेसबुक/एडविन यीङफाइ

हङकङमा वर्षालाई तीन तहमा वर्गीकरण गरिन्छ– एलो, रेड र ब्ल्याक रेन।

यी मध्ये तेस्रो प्रकारको वर्षा एकदम शक्तिशाली हुने र बाढी पहिरोको जोखिम अधिक हुने हुँदा बासिन्दालाई घर बाहिर ननिस्कन चेतावनी दिइने गरिन्छ।

शुक्रबारको ब्ल्याक रेनका कारण तेङचुइ, ताकु लिङ, चाताउ कोक लगायत क्षेत्र बढी प्रभावित भएको अब्जर्भेटरीले बताएको छ।

अकस्मात् ठूलो प्राकृतिक विपत् बेहोर्न पुगेपछि हङकङ सरकारले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी वर्तमान परिस्थितिको छलफलमा जुटेको छ।

भिडिओमा हेर्नुहोस् हङकङमा शुक्रबार भएको वर्षा-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .