हङकङले अर्को हप्तादेखि २० हजार कामदार भर्ती गर्दै

प्रत्येक त्रैमासिकमा आवेदन खुला, निर्माणमा मात्रै १२ हजार ल्याइने
हङकङले अर्को हप्तादेखि २० हजार कामदार भर्ती गर्दै

तस्बिरहरू : एससीएमपी


नेपालखबर
असार २८, २०८० बिहिबार १८:३८, हङकङ

हङकङले आगामी हप्तादेखि विभिन्न क्षेत्रमा गरी २० हजार कामदार भर्ती गर्ने प्रक्रिया सुरु गर्दैछ।

जनशक्ति संकट कम गर्नको लागि निर्माण क्षेत्रमा मात्रै १२ हजार कामदार (कन्स्ट्रक्सन वर्कर) भर्ती गर्न लागिएको हो।

यो योजना अनुरुप पहिलो चरणको लागि अर्को हप्तादेखि आवेदन खुला गरिनेछ। आवेदन प्रत्येक त्रैमासिकमा खुला गरिने जनाइएको छ।

रोजगारदाताका प्रतिनिधि, श्रम क्षेत्र र व्यावसायिक प्रशिक्षण संस्थानका प्रतिनिधिबीच आयातित कर्मचारीले गर्ने कामको प्रकार र उनीहरूको पारिश्रमिक सम्बन्धमा सहमति जुटेपछि विहीबार हङकङका विकास सचिव बर्नाडेट लिन होन–होले उक्त घोषणा गरेकी हुन्।

निर्माण, यातायात र उड्डयन क्षेत्रमा गरी कुल २० हजार कामदार ल्याइनेछ।

होन–होले पहिलो चरणको योजना निर्माण मजदुरतर्फ लक्षित हुने र यो जुलाई १७ मा सुरु हुने बताइन्। निवेदन कार्यान्वयन हुन करिब दुई महिना लाग्ने पनि उनले उक्त अवसरमा बताइन्।

 विकास सचिव बर्नाडेट लिन होन–हो

निर्माण क्षेत्रमा दक्ष श्रमिकको कामलाई २९ प्रकारमा वर्गीकरण गरिएको छ। त्यस्तै, प्राविधिकतर्फ १८ प्रकार छन्।

सार्वजनिक कामका परियोजनाहरूमा आयातित कामदारले मात्र काम गर्न पाउनेछन्।

सचिव होन–होले भनिन्, ‘हामी प्रत्येक त्रैमासिकमा आवेदन लिनेछौं। सफल आवेदकहरूको पहिलो ब्याच यही वर्षको अन्तिम त्रैमासिकमा हङकङ आइपुग्ने आशा छ।’

गत महिना सरकारले निर्माण, उड्डयन र यातायात क्षेत्रलाई योजना अन्तर्गत कामदार आयात गर्न अनुमति दिने बताएको थियो।

सरकारको यो घोषणासँगै निर्माण क्षेत्रले १२ हजार कामदार आयात गर्न सक्नेछ।

त्यस्तै, उड्डयन र यातायात क्षेत्रले ६ हजार ३ सय कामदार र १ हजार ७ सय प्रशिक्षक चालक ल्याउन पाउनेछन्।

अध्ययन प्रतिवेदनका अनुसार हङकङमा सन् २०१८ मा काम गर्ने जनसंख्या ३.६८ मिलियन थियो। सन् २०२२ मा आइपुग्दा यो जनसंख्या ६ प्रतिशतले घटेर ३.४६ मिलियन पुगेको छ।

त्यस्तै, कम सीप भएका कामदारहरूको संख्या पनि सोही अवधिमा १ लाख ६० हजारले घटेको छ।

यो तथ्यांकमा विदेशी घरेलु कामदारहरू समावेश छैनन्।

सरकारले यो योजना अन्तर्गत ल्याइएका मजदुरहरूको आवासका लागि युन लङस्थित ताम मेईमा व्यवस्थापन गर्नेछ।

यसको व्यवस्थापन निर्माण उद्योग काउन्सिलले गर्नेछ।

अक्टोबरमा सञ्चालनमा आउने यस आवास गृहमा ८ हजार मानिस बस्न सक्नेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .