हङकङका नेपालीले यसरी बनाउन सक्छन् ‘एनआरएन कार्ड’

हङकङका नेपालीले यसरी बनाउन सक्छन् ‘एनआरएन कार्ड’

विपेन्द्र घिमिरे
असार २६, २०८० मंगलबार १८:५९, हङकङ

तपाईं नेपालबाट आएर हङकङ या यूकेमा बस्दै हुनुहुन्छ? वा, अन्य कुनै मुलुकमा बस्दै हुनुहुन्छ ? गैर-आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन चाहनुहुन्छ? अथवा, नेपाली समुदायको हुनुहुन्छ। हङकङ, यूके वा अन्य मुलुकमा स्थायी बसोबास गर्नुहुन्छ।

तपाईंले गैर–आवासीय नेपालीको परिचयपत्र बनाउन चाहनु भएको छ? यदि त्यसो हो र के–कस्ता कागजात आवश्यक पर्लान् भनेर अलमलमा पर्नु भएको छ? अब तनाव नलिनुस्। 

नेपाली महावाणिज्यदूतावासको कार्यालय, हङकङले नन–रेसिडेन्ट नेपाली (एनआरएन) कार्ड लिन आवश्यक कागजातबारे आफ्नो वेबसाइटमा बुँदागत रूपमा विवरण दिएको छ।

सर्वप्रथम त तपाईंले यसका लागि फर्म भर्नुपर्ने हुन्छ। फर्म भर्नुभन्दा पहिले तपाईंको स्थायी बसोबास नेपाल वा हङकङ निर्क्योल गर्नुपर्ने हुन्छ।

अथवा, तपाईंको नागरिकता नेपालको हो वा हङकङको?

अहिले पनि नेपाली नागरिक हो र हङकङमा बसोबास मात्र भए तपाईंले अनुसूची–१, नियम ३ को उपनियम (१) सँग सम्बन्धित ‘गैर–आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिने निवेदनको ढाँचा’ को ‘खण्ड–क’ मा पर्ने ‘विदेशमा बस्ने नेपाली नागरिकहरूको प्रयोजनका लागि’ भन्ने फर्म भर्नुपर्ने हुन्छ।

त्यस्तै, यदि तपाईंले विदेशी नागरिकता लिइसक्नुभएको छ भने अनुसूची–१, नियम ३ को उपनियम (१) सँग सम्बन्धित ‘गैर–आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिने निवेदनको ढाँचा’ को ‘खण्ड–ख’ मा पर्ने ‘नेपाली मूलको विदेशी नागरिकको प्रयोजनका लागि’ भन्ने फर्म भर्नुपर्ने हुन्छ।

दुवै प्रकारका फर्म २/२ पृष्ठका छन्।

‘खण्ड क’ अर्थात् विदेशमा बस्ने नेपालीले भर्ने फर्ममा विशेषतः आफ्नो नाम-थर, नेपालको स्थायी ठेगाना, बाबु र आमाको नाम-थर र ठेगाना, आफ्नो उमेर, नागरिकता प्रमाणपत्र नम्बर, जारी भएको जिल्ला र मिति, नेपाली राहदानी नम्बर, राहदानी जारी गर्ने कार्यालयको नाम, स्थान र जारी मिति उल्लेख गर्नु पर्छ।

त्यस्तै, बसोबास गरिरहेको विदेशी मुलुकको नाम र ठेगाना, सो मुलुकमा बसोबास गर्न सुरु गरेको मिति उल्लेख गर्नु पर्छ। बसोबास गर्ने मुलुक एकभन्दा बढी भए क्रमशः उल्लेख गर्नु पर्छ।

त्यस्तै, विदेशमा कुनै व्यवसाय गरेर बस्नुभएको छ भने त्यो उल्लेख गर्नु पर्दछ। हालको पेसा/व्यवसाय दर्ता भएको मुलुक र स्थान पनि उल्लेख गर्नु पर्छ। उक्त व्यवसायबाट कारोबार हुने वार्षिक औसत रकम पनि अमेरिकी डलरमा उल्लेख गर्नु पर्दछ।

विदेशमा रोजगारीमा आबद्ध हुनुहुन्छ भने रोजगारसम्बन्धी विवरण उल्लेख गर्नु पर्दछ। रोजगार दिने संस्था, उक्त संस्थाको ठेगाना र त्यहाँ कहिलेदेखि कार्यरत रहेको भन्ने पनि खुलाउनु पर्छ।

साथै, मासिक/वार्षिक पारिश्रमिकका साथै अन्य सुविधा भए उल्लेख गर्नु पर्दछ। यति मात्रै होइन, विदेशमा पाएको ज्ञान, अनुभव वा सीप पनि उल्लेख गर्नु पर्छ।

यसका अलावा, नेपालमा लगानी गर्न इच्छा गरेको क्षेत्र र अनुमानित लगानी पनि फर्ममा भर्नु पर्दछ।

यी त भए फर्ममा भर्नुपर्ने विवरण। यसका अलावा निम्न कागजात पनि पेश गर्नु पर्छः

  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • नेपाली राहदानीको प्रतिलिपि,
  • विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
  • विदेशमा पेसा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,
  • कुनै अन्तर्राष्ट्रिय संघ–संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात,
  • हालसालै खिचिएको पासपोर्ट साइजको चार प्रति फोटो, र
  • निवेदनमा उल्लेख भएका विवरण सम्बन्धी अन्य कागजात।

यसैगरी, तपाईंले हङकङको नागरिकता लिइसकेको भए चाहिँ ‘खण्ड ख’ अन्तर्गतको ‘नेपाली मूलको विदेशी नागरिकको प्रयोजनका लागि’ भन्ने फर्म भर्नुपर्ने हुन्छ।

खण्ड-क र खण्ड-ख अन्तर्गतको निवेदनको ढाँचा।

जसमा निवेदकको नाम-थर, निवेदकको बाबुआमाको नाम-थर र ठेगाना, निवेदकको उमेर, राहदानी नम्बर, राहदानी जारी गर्ने मुलुक, जारी गर्ने कार्यालय र ठेगाना, जारी भएको मिति तथा बहाल रहने अवधि उल्लेख गर्नु पर्दछ।

त्यस्तै, नेपालको नागरिकता परित्याग गरेको भएमा नागरिकता परित्याग गर्नुअघि नेपालमा रहँदाको ठेगाना, परित्याग गरेको नागरिकता नम्बर, परित्याग गरेको नागरिकता जारी गर्ने जिल्ला र परित्याग गरेको मिति लेख्नु पर्दछ।

यसका साथै, निवेदकको नेपालमा निकटतम नातेदार भएमा नातेदारको नाम र थर, ठेगाना, निवेदकसँगको नाता उल्लेख गर्नु पर्दछ।

बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक भएमा उनीहरूको नाम, थर, ठेगाना र नागरिकता नम्बर खुलाउनु पर्दछ।

यसबाहेक, हाल बसोबासरत मुलुकको नाम र ठेगाना, त्यो मुलुकमा बसोबास गर्न सुरु गरेको मिति लेख्नु पर्छ। बसोबास गरेका मुलुक एकभन्दा बढी भए क्रमशः लेख्न सकिन्छ।

आफू बसोबास गरेको मुलुकमा कुनै पेसा, व्यवसाय वा रोजगार गरेको भए पेसा, व्यवसाय वा रोजगारको विवरण, हाल पेसा, व्यवसाय वा रोजगार गरिरहेको मुलुक र कार्यालयको ठेगाना, वार्षिक औसत कारोबार वा आम्दानी अमेरिकी डलरमा उल्लेख गर्नु पर्छ।

साथै, निवेदकले हासिल गरेको ज्ञान, सीप र अनुभवका साथै नेपालमा लगानी गर्न इच्छा गरेको क्षेत्र र अनुमानित लगानी पनि खुलाउनु पर्छ।

फर्ममा यति विवरण उल्लेख गरेपछि निम्न कागजात पेश गर्नु पर्छ : 

  • बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात,
  • नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण,
  • बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नम्बर, जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,
  • नेपालभन्दा बाहिर कुनै देशमा कुनै पेसा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
  • नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,
  • हालसालै खिचिएको पासपोर्ट साइजको चार प्रति फोटो ।
  • निवेदनमा उल्लेख भएका विवरण सम्बन्धी अन्य कागजातहरू।

महावाणिज्यदूतावास कार्यालयले जनाएअनुसार एनआरएन कार्ड तयार हुन आवेदन दिएको मितिबाट ५ कार्यदिन समय लाग्नेछ।

यसको शुल्क हङकङ नागरिकता बाहकलाई २,११० हङकङ डलर लाग्छ। ब्रिटिस नागरिकता बाहकलाई ४,०५० हङकङ डलर लाग्नेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .