कम्पनी खोलेर १० जनाबाट ८ मिलियन हङकङ डलर ठगी, ३ जना पक्राउ

कम्पनी खोलेर १० जनाबाट ८ मिलियन हङकङ डलर ठगी, ३ जना पक्राउ

प्रहरी अपरेसनका बारेमा गरिएको पत्रकार सम्मेलनमा बायाँबाट क्रमशः कार्यवाहक प्रमुख निरीक्षक माक वाइ-क्वाङ, कार्यवाहक सुपरिटेन्डेन्ट मोक लाइ-किंग र इन्स्पेक्टर एनजी हे-यु। तस्बिरः साउथ चाइना मर्निङ पोस्ट


नेपालखबर
असार २२, २०८० शुक्रबार १५:४६, हङकङ


१० जनासँग आठ मिलियन हङकङ डलर (१ मिलियन अमेरिकी डलर) ठगी गर्ने ३ जनालाई हङकङ प्रहरीले पक्राउ गरेको छ।

कम्पनीका लागि भन्दै मानिसहरूलाई क्लर्कका रूपमा भर्ना गरेर उक्त ठगी गरिएको हो।

प्रहरीले कम्पनीको शिम शा चुईस्थित कार्यालयमा छापा मारेर पीडितहरूसँग गरिएको विभिन्नि सम्झौतापत्र लगायत कागजात बरामद गरेको शुक्रबार जनाएको छ।

यसै सिलसिलामा पीडकहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन्। उनीहरूमध्ये एक कम्पनीको अध्यक्ष र अर्का दुई कर्मचारी हुन्।

उनीहरूले रोजगारीसम्बन्धी जानकारी दिने विभिन्न वेबसाइटहरूमा १० हजार हङकङ डलरभन्दा बढी मासिक तलबको विज्ञापन राखेर कर्मचारी भर्ती गरेका थिए।

पीडितहरू कम्पनीमा सामेल भइसकेपछि उनीहरूलाई लगानी एजेन्टको रूपमा प्रस्तुत गर्दै आफ्ना ‘अन्य सहकर्मी’लाई पनि यसमा सामेल हुन लगाउन प्रोत्साहन गरेका थिए।

यसमा ‘कन्भिन्स’ गर्नको लागि पीडकहरूले लन्डनको कमोडिटी बजारमा सुनको व्यापारमा भएको नाफालाई बढाइचढाइसहित उद्धृत गरेका थिए।

पीडकहरूको कार्यालयमा छापा मार्दा भेटिएका कागजात।

बारम्बार एउटै बहाना प्रयोग गरेर पीडितहरूले आफ्नो सबै बचत नगुमाउन्जेलसम्म उनीहरूलाई थप पैसा लगानी गर्न प्रोत्साहन गरिएको थियो। जब उनीहरूसँग बचत सकियो अनि राजनीनामा गर्न भनियो।

प्रहरीका अनुसार २७ देखि ७० वर्ष उमेर समूहका १० पीडितलाई ४० हजारदेखि २.९ मिलियन हङकङ डलरसम्म ठगी गरिएको थियो। ठगिनेमा अधिकांश गृहिणी र बेरोजगार छन्।

पछिल्लो समय उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रमाणहरू प्राप्त गरेपछि शिम शा चुईस्थित कार्यालयमा छापा मार्दा ३० देखि ४९ वर्षसम्मका उक्त तीन जना पक्राउ परेका हुन्।

तीनै जनालाई हिरासतमा राखिएको छ। अपराध पुष्टि भएमा १४ वर्षसम्मको जेल सजाय हुनसक्छ।

‘रेडमिरर’ कोड नामको उक्त प्रहरी अपरेसनमा प्रहरीले दुई वटा लग्जरी घडी, १७ वटा कम्प्युटर, पाँच वटा मोबाइल र धेरै कागजात बरामद गरेको छ।

फरार अन्य संदिग्धहरूको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ।

यस वर्षको जनवरी–मार्चको बीचमा हङकङ प्रहरीले ८,८८६ ठगीका मुद्दा दर्ता गरेको जनाएको छ। गतवर्षको सोही अवधिमा दर्ता भएका ५,३७८ मुद्दाको तुलनामा यो धेरै बढी हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .