एशियाको व्यस्त ब्यापार केन्द्र हङकङमा रहेका नेपाली युवा ‘देश अनुसारको भेष’ भन्दै ‘जब’ छाडेर आफ्नै ब्यापार–व्यवसायमा जुट्न थालेका छन्। व्यवसायमा संलग्न भएसँगै नेपाली युवाहरू संगठित पनि हुन थालेका छन्।
आइतबार हङकङको ब्यापारिक केन्द्र सेन्ट्रलस्थित होङथाइ एक्स्पो एण्ड बिजनेश सेन्टरको सभाकक्षमा ८० जना युवा उद्यमीको भेलाले संगठित संस्थाको औपचारिक घोषणा नै गरेको छ।
विदेश आएर ब्यापार व्यवसायमा संलग्न युवाहरुले गठन गरेको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको हङकङ राष्ट्रिय समिति विधिवत घोषणा गरिएको हो। चार महिनाअघि, अक्टोबर २०२२ मा हङकङमा दर्ता गरिएपनि यो संस्था हङकङमा आइतबार औपचारिक रुपमा घोषणा गरिएको हो।
ह्याण्डीक्राफ्ट व्यवसायी आकाश बन्जाराको अध्यक्षतामा गठन गरिएको १३ सदस्सीय हङकङ समितिमा युवा उद्यमीहरुलाई समेट्दै जाने बताइएको छ। घोषणा कार्यक्रममा सहभागी हुन संस्थाका केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाह अष्ट्रेलियाबाट हङकङ आइका थिए।
कार्यक्रममा हङकङका नेपाली महाबाणिज्यदूत उदयबहादुर राना मगर सहभागी भएका थिए।
भेलामा सहभागी युवा उद्यमीहरूबीच डिजिटल युगमा कसरी व्यवसाय अगाडि बढाउने भन्ने विषयमा छलफल चलाएका थिए।
महासंघको हङकङ समितिका महासचिव इन्दर पुनका अनुसार हङकङमा नेपाली युवा उद्यमीहरूको संख्या सयभन्दा बढी रहेको छ।
‘हामी व्यवसाय गरिरहेकाहरुको व्यवसाय प्रवद्र्धन गर्नेछौं र नयाँलाई व्यवसायमा आउन प्रोत्साहन गर्नेछौं’, पुनले भने, ‘नयाँलाई क्षमता वृद्धि तालिम दिइनेछ।’
२५ वर्षदेखि हङकङमा बसेर निर्माण व्वसाय गरिरहेका अर्चन गुरुङको भनाइमा सन् १९९७ पछि हङकङमा समूहगत रुपमा भित्रिन थालेका नेपालीहरुले हङकङमा फाट्टफुट्ट बाहेक व्यवसायतर्फ खासै ध्यान दिएका थिएनन्। नेपालीहरू निर्माण क्षेत्र, सुरक्षा गार्ड र होटल एण्ड बेभरेज क्षेत्रमा बढी खपत भइरहेका थिए। पछिल्लो समय नेपालीहरु व्यसायतर्फ ढल्किरहेका छन्।
अर्चन भन्छन्, ‘हङकङमा जो व्यवसायमा प्रवेश गरे उनीहरू कोही सफल, कोही असफल भएका छन्। तर पछिल्लो समय व्यवसायमा लाग्नुलाई नेपाली समुदायमा सकारात्मक रुपमा हेरिन्छ।।’
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको केन्द्रिय कार्यालय काठमाडौंमा स्थापना गरिएको छ। महासंघ अन्तर्गत विभिन्न देशमा यसका राष्ट्रिय समिति खोलिएका छन, जसमा हङकङ पनि आवद्ध हुन पुगेको हो।
हङकङ सहित अष्ट्रेलिया, चीन, जापान, बेलायत, अमेरिका, मध्यपूर्वी एशियामा यो संस्थाको राष्ट्रिय समिति स्थापना गरिएका छन्।
प्रतिक्रिया