औद्योगिक दुर्घटनामा कामदार असुरक्षित बन्न थालेपछि हङकङ दुई ध्रुवमा विभाजित

औद्योगिक दुर्घटनामा कामदार असुरक्षित बन्न थालेपछि हङकङ दुई ध्रुवमा विभाजित

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १३:४५, हङकङ

सन् २०१९ मा आफ्ना पतिको मृत्यु भएपछि हङकङकी न्यान्सी लीको जीवन ओरालो बाटोतर्फ लाग्यो। हङकङको तेस्रो एयरपोर्टको रनको परियोजनामा काम गर्न थालेको तेस्रो दिनमा नै उनको मृत्यु भएको थियो।

बुलडोजर चलाउने ३८ वर्षीय लीका श्रीमान् सा चुङले चलाएको बुलडोजर अनियन्त्रित भई समुद्रमा खसेको थियो। उनको उद्धार गरी अस्पताल पुर्‍याइएको भए पनि त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो। 

उनी परिवारको लागि अन्नदाता थिए। उनको मृत्युपछि लीलाई आफ्ना तीन सन्तानको हेरचाह र सासूससुराको खर्च जुटाउन हम्मेहम्मे पर्न थाल्यो। उनले कतैबाट पनि सहयोग पाउन सकिनन्।

‘यो घटनापछि म ठूलो समस्यामा परेँ। मलाई आफ्नो वरपर के भइरहेको छ भन्नेसम्म पनि थाहा हुँदैनथ्यो। मलाई आफू ठूलो अन्धकारमा परेको र अब के गर्ने भन्ने केही थाहा नभएको आभाष भएको थियो’, ४१ वर्षीया लीले भनिन्। 

लीलाई श्रीमान्को कम्पनीले क्षतिपूर्तिबापत दिएको उनको ८४ महिनाको तलबले भने केही सहज भयो। यसबापत उनले करिब २६ लाख हङकङ डलर पाएकी थिइन्। गत मार्चमा उनले १० लाख हङकङ डलर एकमुष्ठ पाएकी थिइन् भने उनले सन्तानको हेरचाहको लागि मासिक १० हजार एचकेडलर पाउनेछिन्। 

आफ्ना पतिको मृत्युपछि विक्षिप्त बनेकी उनी अहिले पनि कार्यस्थलमा भएका दुर्घटनाबाट मृत्यु भएको समाचार हेर्दा मन थाम्न सक्दिनन्। 
‘कामदारहरुको सुरक्षाको व्यवस्था बढाइनुपर्छ’, उनी भन्छिन्, ‘प्रत्येक दुर्घटनामा थप एक परिवार टुक्राटुक्रा हुन्छ। यो मरेको एक मानिसको मात्र विषय होइन, त्यसबारे प्रभावित हुन सक्ने धेरै मानिसको सवाल हो।’

अहिले हङकङको सरकार आफ्नो पेशागत सुरक्षा कानुनमा पुनर्विचारको संघारमा छ। हङकङको संसदीय परिषद्ले सुरक्षा कमजोरी वा लापरबाहीको कारण घाइते वा मृत्यु भएको अवस्थामा ठेकेदार र कर्मचारीलाई हुने जरिवाना बढाउने किसिमको व्यवस्था ल्याउने तयारीमा छ। 

कर्मचारी संघहरुले अहिले प्रस्ताव गरिएको परिवर्तनलाई सकेसम्म छिटो कानुन बनाउन माग गर्दै आएका छन्। यसको सहयोगमा कार्यस्थललाई सुरक्षित बनाउन सकिने उनीहरुको भनाइ छ। यद्यपि कर्मचारी र ठेकेदारले भने यसको विरोध गर्दै आएका छन्। उनीहरुले प्रस्ताव गरिएको जरिवाना निकै ठूलो भएको बताउँदै आएका छन्।  

पछिल्लो समय हङकङका कार्यस्थलमा हुने दुर्घटनाबाट मृत्यु हुनेको संख्या चिन्ताको विषय बनेको छ। कार्यस्थलमा हुने दर्घटनाबाट मृत्यु हुने दर सन् २०१८ मा प्रतिहजारमा ३१.७ थियो। गत वर्ष यो दर प्रतिहजारमा २९.५ मा झरेको छ। तर पनि मृत्यु हुने कामदारको संख्या भने चिन्ताजनक अवस्थामा नै छ। 

चुङको मृत्यु सन् २०१९ मा भएका २२ औद्योगिक दुर्घटनाको मृत्युमध्येको एक थियो। जसमध्ये १६ मृत्यु निर्माण क्षेत्रको दुर्घटनाको क्रममा भएको थियो। सन् २०१९ मा निर्माण क्षेत्रमा २ हजार ९७४ दुर्घटना भएका थिए। जुन, समग्र औद्योगिक दुर्घटनाको एक तिहाइ हो। 

सन् २०२० मा निर्माण क्षेत्रमा २ हजार ५३२ दुर्घटना भएका थिए। यो क्रममा १८ जनाको मृत्यु भएको थियो। गत वर्ष भएका ३ हजार १०९ दुर्घटनामा परी २३ जनाको मृत्यु भएको थियो। सन् २०२२ को सुरुवाती ६ महिनामा ३ हजार ३५४ औद्योगिक दुर्घटना भएका छन्।

जसमध्ये १३९९ निर्माण क्षेत्रमा भएका छन्। औद्योगिक दुर्घटनामा मृत्यु हुने १२ मध्ये ९ जनाको निर्माण क्षेत्रमा भएको दुर्घटनामा मृत्यु भएको हो। 

हङकङको निर्माण क्षेत्रका कामदार युनियनका एनजी वाई लेउङ कार्यस्थलमा हुने प्रत्येक मृत्यु निकै ठूलो हुने बताउँछन्। पछिल्लो समय पहिलो प्राथमिकता सुरक्षा भन्ने नारा पनि सस्तो भएको आभाष हुन थालेको उनको भनाइ छ। ठेकेदारको लापरबाही र पेशागत सुरक्षा सावधानीमा कमजोरीको कारण धेरै मानिको मृत्यु भएको उनले बताए। 

पछिल्लो केही समययता मात्र हङकङमा औद्योगिक दुर्घटनाका धेरै घटना सार्वजनिक भइसकेका छन्। यसै क्रममा गत मंगलबार दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई कामदारको मृत्यु भएको थियो। 

कार्यस्थलको सुरक्षाको लागि हङकङमा अहिले सन् १९५५ र १९९७ का दुई नियम लागू भइरहेको छ। त्यसैले अहिलेको समयलाई सुहाउँदो गरेर जरिवाना बढाउने प्रस्ताव अघि सारिएको छ।

प्रस्तावित नयाँ नियमअनुसार पेशागत सुरक्षा नियम पालना नगर्ने कर्मचारीलाई अधिकतम एक करोड एचके डलर जरिवाना र २४ महिनासम्मको जेलको व्यवस्था हुन सक्ने उल्लेख छ। अहिले सो मुद्दामा अधिकतम पाँच लाख एचके डलरसम्मको जरिवाना र १२ महिना जेल सजाय हुन सक्ने व्यवस्था छ। 

त्यस्तै अहिले अघि सारिएको विधेयकमा अनुसन्धानको लागि तोकिएको समयसीमा पनि ६ महिनाबाट बढाएर एक वर्ष पुर्‍याइएको छ। यसले औद्योगिक दुर्घटनाको सम्बन्धमा अधिकारीहरुलाई अनुसन्धानको लागि थप समय मिल्नेछ र उनीहरुले थप प्रमाण संकलन पनि गर्न पाउनेछन्। 

अहिले यो विधेयकबारे लेगको विधेयक कमिटीले अध्ययन गरिरहेको छ। 

सन् २०२० मा कामदारको मृत्यु भएको २७ मुद्दाको सुनुवाई सकिएको थियो। जसमध्ये उक्त मुद्दामा दोषी देखिएकालाई औसतमा ६२ हजार एचके डलर र सहायक देखिएकालाई औसतमा २४ हजार एचके डलर जरिवाना गरिएको थियो। 

न्यान्सी लीका पतिको मृत्युको सम्बन्धमा भने चार ठेकेदार दोषी पाइएका थिए। उनीहरुलाई सन् २०२० मा ४५ हजारदेखि ६५ हजार एचके डलरको बीचमा जरिवाना गरिएको थियो।

नयाँ विधेयकमा व्यवस्था गरिएको कडा किसिमको कानुनबारे कर्मचारी युनियनका एनजी भन्छन्, ‘जरिवाना नबढाउँदासम्म रोजगारदारताले कामदारको पीडा महसुस गर्दैनन् र यो विषयलाई उनीहरुले त्यति गम्भीररुपमा पनि लिँदैनन्।’

हङकङको निर्माण संघका कार्यकारी निर्देशक गडफ्री लेउङ किङ–क्वोक ठेकेदारहरुलाई अन्यायपूर्ण तरिकाले लक्षित गर्ने काम भइरहेको आरोप लगाउँछन्। पछिल्लो समय भएका दुर्घटनालाई लिएर ठेकेदारमाथि प्रहार गर्ने काम भइरहेको उनको भनाइ छ।

कामदारहरुको सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ र अहिलेको कानुन पनि परिमार्जित हुनुपर्छ भन्नेमा आफ्नो मत भए पनि अहिले अघि सारिएको कानुन भने न्यायोचित नरहेको उनले बताए। 

अहिले नै ठेकेदारहरुलाई काममा लगाइने गरेको प्रतिबन्ध सजायको लागि पर्याप्त रहेको उनले बताए। 

हङकङका सांसद पिटर शिउ का–फाइले यो विधेयकबारे सरकारले आगामी दिनमा व्यवसायीको कुरा पनि सुन्ने विश्वार व्यक्त गरे। सबै ठेकेदार धनी नहुने र सबैको व्यवसाय निकै ठूलो नहुने भएकाले उनीहरुमाथिको ठूलो सजायले प्रतिकूल नतिजा आउन सक्ने उनको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .