हङकङमा कोरोना बढ्दै, खोप लगाउन मान्दैनन् ज्येष्ठ नागरिक

हङकङमा कोरोना बढ्दै, खोप लगाउन मान्दैनन् ज्येष्ठ नागरिक

नेपालखबर
भदौ १८, २०७९ शनिबार १०:४६, हङकङ

हङकङका सेवानिवृत्त सफाइकर्मी लिउ मेई–फेंग र उनका श्रीमानले एक वर्षअघि दुई डोज सिनोभ्याकको कोभिड–१९ को खोप लगाएका थिए। तर, अहिलेसम्म उनीहरुले बुस्टर डोज भने लगाएका छैनन्। 

दुवैलाई गत सेप्टेम्बरमा दोस्रो डोज खोप लगाउँदा अचानक मुटुको धड्कन बढ्ने र उच्च रक्तचापको समस्या देखियो। जसको कारण उनीहरुले दुई साताको अवधिमा पाँचपटक एम्बुलेन्स बोलाए। 

तर हरेकपटक अस्पतालका डाक्टरले उनीहरुलाई चिनियाँ बनाइएको खोपको साइड इफेक्ट भएको बताए र घर पठाए। यद्यपि उनीहरुले कहिले पनि कोरोना खोपको तेस्रो डोजको लागि उचित रहेको वा नरहेको भन्ने विषयमा भने केही बताएका थिएनन्। 

६८ वर्षीया लिउ र उनका पूर्व सुरक्षाकर्मी ७४ वर्षीय श्रीमान शाम शुई पोको एक युनिटमा बस्छन्। उनीहरूका पाँच छोराछोरी छन्, तर एक मात्र हङकङमा छन् र विरलै मात्र उनीहरुलाई भेट्न आउँछन्। 

लिउका अनुसार उनीमा थकानलगायतका अन्य खोपको कारण उत्पन्न लक्षण छन्। उनी तेस्रो डोज खोप लगाउनुअघि यसबारेमा डाक्टरसँग राम्रोसँग कुरा गर्न चाहन्छिन्। 

“म आफूलाई राम्रोसँग सुरक्षित राख्न तेस्रो र चौथो डोज लगाउन तयार छु तर प्रतिकूल प्रभावसँग डराउँछु”, उनले भनिन्।

अहिले हङकङमा कोरोना संक्रमण बढ्दो क्रममा छ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकमा भने खोप लगाउने दर कम छ। उनीहरुको लागि घरघरमा पुगेर सेवा दिने व्यवस्था गरिए पनि सोचेअनुसार उनीहरुले खोप लगाइरहेका छैनन्। 

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार गत अप्रिलमा सरकारी कार्यक्रम सुरु भएदेखि खोप लगाउनपर्ने आवश्यकता देखिएका करिब दुई लाख बासिन्दामध्ये १६ प्रतिशतले मात्र कोरोना खोप लगाएका छन्। उनीहरुमध्ये ३७ हजारले सिनोभ्याकको खोप लगाएका छन्। १५ हजारभन्दा धेरैले पहिलो डोज खोप लगाएका थिए भने १८ हजारले दोस्रो डोज लिएका थिए।

केवल ३ हजार ४ सय मानिसले मात्र तेस्रो र चौथो डोज खोप लिएका थिए। खोप दिइएकामध्ये ८५ प्रतिशतभन्दा धेरै ७० वर्ष वा सोभन्दा धेरै उमेरका मानिसहरु छन्। 

‘खोप लगाउनेको संख्या सन्तोषजनक छैन’, ज्येष्ठ नागरिक आयोगका अध्यक्ष डा डोनाल्ड ली क्वोक–तुङले भने।

उनले सहरको प्राथमिक हेरचाह सञ्जालको राम्रो उपयोग गर्न र जिल्ला स्वास्थ्य केन्द्रहरूमा खोप प्रदान गरेर सकेसम्म धेरै ज्येष्ठ नागरिकहरूसम्म पुग्ने कार्यक्रम सुरु गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन्। 

पारिवारिक औषधि विशेषज्ञले पारिवारिक चिकित्सक र जिल्ला स्वास्थ्य केन्द्रमा काम गर्ने व्यक्तिहरूलाई खोपको सुरक्षा र फाइदाबारे डराउने मानिसहरुलाई बुझाउनुपर्ने उनको भनाइ छ। 

शुक्रबारसम्म, ६० वा सोभन्दामाथिका ८३.६ प्रतिशत बासिन्दाले पहिलो डोज खोप लगाइसकेका छन्। ८१.७ प्रतिशतले दोस्रो डोज लिएका छन्। तथ्यांकअनुसार अझै पनि हङकङमा ३ लाख ५० हजार ज्येष्ठ नागरिकले कोरोना खोपको पहिलो डोज पनि लिएका छैनन्।  

शुक्रबारसम्म, ६० वर्ष वा सोभन्दा माथिका सबै मानिसहरूमध्ये ६७.८ प्रतिशतले तेस्रो डोज खोप लिएका छन् ७० वर्ष वा सोभन्दा बढीमा यो संख्या ६०.७ प्रतिशत छ भने ८० वर्ष वा सोभन्दा माथिको लागि यो संख्या ४९.२ प्रतिशत मात्र छ। करिब ६ लाख ८० हजार हङकङे ज्येष्ठ नागरिकले कोरोना खोपको तेस्रो डोज पाएका छैनन्। 

सरकारी महामारी सल्लाहकार प्रोफेसर डेभिड हुई शु–चेओङले वृद्धहरूलाई पर्याप्त रूपमा जोगाउन केवल दुई डोज खोप पर्याप्त नभएको बताए। विशेषगरी पछिल्लो समय पुनः बढ्दै गएको कोरोना संक्रमणले चिन्ता बढाएको उनको भनाइ छ। 

शुक्रबार हङकङमा कोरोनाका ९ हजार ९०१ नयाँ संक्रमित थपिएका छन्। त्यस्तै आठजनाको मृत्यु भएको छ। अघिल्लो दिन मात्र हङकङमा गत मार्चपछि पहिलोपटक कोरोनाका नयाँ संक्रमितको संख्या १० हजार नाघेको थियो। 

हुइले गम्भीर लक्षण, अस्पताल भर्ना र मृत्युबाट बच्न वृद्धवृद्धाहरूलाई खोपको तीन डोज लिनुपर्ने आधारभूत आवश्यकता रहेको बताए। चौथो डोज अझ राम्रो हुने उनको भनाइ छ।

“तीन डोज खोप नलिनेहरु उच्च जोखिममा छन्”, उनले वृद्धहरूलाई जाडोअघि कम्तीमा तीन डोज लिन आग्रह गरे। उनले कोरोना संक्रमणको कारण मृत्यु हुनेमा पनि कोरोना खोप नलिएका मानिसको संख्या धेरै भएकाले खोप लिनु जरुरी रहेको पनि उल्लेख गरेका छन्। 

सोसाइटी फर कम्युनिटी अर्गनाइजेसनका इभान लिन वाइ–किउ पनि कोरोना खोपको दुई डोज दिएका मानिसमा कोरोनाको लक्षण त्यति गम्भीर नदेखिएको बताउँछन्। अझै पनि केही मानिसमा खोपप्रति विश्वास नभएको कारण उनीहरु अन्योलमा परेको उनको बुझाइ छ। 

लिनका अनुसार परिवारभन्दा टाढा र सामुदायिक सञ्जालमा नआएका हङकङका “लुकेका ज्येष्ठ नागरिक” सबैभन्दा धेरै जोखिममा छन्। 
यस्तोमा मानिसहरुको घरघरमा गएर कोरोना खोप लगाउने अभियानलाई अझै विस्तार गर्न आवश्यक रहेको लिनको भनाइ छ। 

हङकङका सांसद टिक ची–युएनले डाक्टरहरूलाई वृद्ध व्यक्तिहरूलाई उनीहरू जागिरका लागि योग्य छन् कि छैनन् भनेर स्पष्ट रूपमा बताउन र उनीहरूलाई “अस्पष्ट जवाफ” नदिन आग्रह गरे।

संक्रमणको वृद्धिलाई ध्यानमा राख्दै अधिकारीहरूले समाजमा खोप नभएका वृद्ध व्यक्तिहरूलाई पहिचान गर्न उनले सुझाव दिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .