अन्तर्राष्ट्रिय यात्रुको संख्याका आधारमा सिंगापुरको चाङ्गी विमानस्थल एसियाका विमानस्थलहरुमध्ये सबैभन्दा अगाडि देखिएको छ। यो वर्षको दोस्रो त्रैमासमा हङकङ विमानस्थल भने शीर्ष १० मा पनि पर्न सकेन।
हङकङले एसियाका अन्य विमानस्थललाई भेट्न निकै कठिन रहेको विश्लेषकहरुले बताएका छन्।
अप्रिलयता कोभिड प्रतिबन्धहरु हटेपछि यो क्षेत्रमा हवाई अन्तर्राष्ट्रिय यात्रा सहज भएको छ। दक्षिण एसियाका दिल्ली, मुम्बई र ढाकाले ठूलो संख्यामा यात्रु स्वागत तथा विदाइ गरेको छ।
सिंगापुरको स्वतन्त्र परामर्शदाता कम्पनी सोबी एभियसनका अनुसार अप्रिलदेखि जुनसम्ममा चाङ्गी विमानस्थलले ७३ लाख यात्रुलाई सेवा दियो।
दोस्रो स्थानमा दिल्लीको इन्दिरा गान्धी विमानस्थल (३२ लाख), तेस्रोमा ब्यांककको सुवर्णभूमि विमानस्थल (३२ लाख), चौथोमा सोलको इन्चन विमानस्थल (२९ लाख) र पाँचौ स्थानमा क्वालालम्पुर विमानस्थल (२६ लाख) छन्।
हङकङ विमानस्थलमा भने तीन महिनाकोअ वधिमा ५ लाख ९१ हजार यात्रु मात्र आए। जसले गर्दा यो विमानस्थल ३० औँ स्थानमा झरेको छ।
महामारीअघि अन्तर्राष्ट्रिय यात्रु संख्याको आधारमा हङकङ विमानस्थल एसियाको पहिलो थियो। २०१९ को दोस्रो त्रैमासमा यो विमानस्थलले १ करोड ९० लाख यात्रुलाई सेवा दिएको थियो।
त्यतिबेला दोस्रो स्थानमा रहेको इन्चन विमानस्थलले १ करोड ७० लाख यात्रुलाई सेवा दिएको थियो। एससीएमपी
प्रतिक्रिया