हङकङमा आइतबार सरकार विरोधी आन्दोलनकारीले विशाल जुलुस निकाल्ने

हङकङमा आइतबार सरकार विरोधी आन्दोलनकारीले विशाल जुलुस निकाल्ने

मगेन्द्र राई
मंसिर २१, २०७६ शनिबार १२:४२,

गत नोभेम्बर २४ मा सम्पन्न जिल्ला परिषद्को निर्वाचनमा विपक्षी गठबन्धनले अत्यधिक बहुमतसहित चुनाव जितेको थियो।

यस जुलुसलाई आन्दोलनकारीहरुले निर्वाचनको जित तथा विपक्षी गठबन्धनको शक्ति प्रदर्शनको रुपमा लिएका छन्।

यस जुलुसमा ३२ हजारभन्दा बढी मानिसहरु सहभागी हुनेछन्। पहिलोपटक विपक्षीको जुलुसलाई हङकङ प्रहरीले वैधानिकतासमेत दिएको छ।

जुलुसमा सुरक्षाका लागि प्रहरीसहित २ सयभन्दा बढी विशेष प्रहरी मार्सलहरु खटाइने छ।

आयोजकले हङकङमा मानवअधिकारको समर्थन तथा प्रहरीको ज्यादती विरुद्ध जुलुस निकाल्न लागिएको उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवसको पुर्बसन्ध्यामा नागरिक मानवाधिकार मोर्चा हङकङको नेतृत्वमा हुन लागेको उक्त जुलुस हङकङ द्विपको कजवे बेदेखि अपरान्ह ३ बजेबाट शुरु हुनेछ।

सेन्ट्रलस्थित चार्टर रोडमा राति १० बजे भित्र जुलुसलाई समापन गरिसक्नु पर्ने सर्तमा प्रहरीले जुलुसको लागि अनुमति दिएको छ।

प्रहरी जुलुस आयोजना मोर्चालाई जुलुस कानुनी र व्यवस्थित ढङ्गले सञ्चालन गर्न आग्रह गरेका छन्। प्रहरीको सर्तअनुसार सहभागीहरूले कसैलाई धम्की कुटपिट गर्न पाउने छैनन् साथै हङकङ र चीनको राष्ट्रिय झण्डाको अपमान गर्न पाउने छैनन्।

जुलुसमा विशाल जनसमुदायको सहभागिता हुने तथा दङ्गा भड्किन सक्ने अनुमान गरिएको छ।

‘जुलुस शान्तिपूर्ण हुन्छ, सबै उपस्थित हुनुपर्छ’

हङकङको सबैभन्दा ठूलो लोकतन्त्र समर्थक समूहले आइतबारको प्रदर्शन शान्तिपूर्ण हुने बाचा गरेका छन्।

प्रदर्शनको नेतृत्व गर्ने नागरिक मानवाधिकार मोर्चाले गत जुन महिनामा सम्पन्न भएको दुई विशाल जुलुस पनि आफूहरुले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सफल भएको दावी गर्दै आइतवार हुने जुलुस समेत शान्तिपूर्ण हुने दावी गरेको छ।

मोर्चाको उपाध्यक्ष एरिक लाईले भने,‘अघिल्लो हप्तामा ३० लाख जनताले जिल्ला परिषद चुनावमा आफ्नो मत दिएको हामीले देख्यौं। हामी उनीहरुलाई पनि जुलुसम भाग लिन जोडदार प्रोत्साहन गर्दछौं। हामी आशा गर्दछौं कि सम्भव भएसम्म धेरै भन्दा धेरै मानिसहरू आन्दोलनमा सामिल हुनेछन्।’

मोर्चाका संयोजक जिमी सामले प्रदर्शनकारीहरुलाई प्रहरीसँग वादविवाद नगर्न आग्रह गरेका छन्। प्रहरीहरुसङ्ग समन्वय गर्न २०० मार्शलहरु तैनाथ हुने बताइएको छ।

संयमता अपनाउन प्रहरीको आग्रह

केहीहप्ता अगाडि प्रहरी प्रमुखको पदभार सम्हालेका क्रीस ताङले प्रदर्शनकारीहरुलाई शान्तिपूर्ण जुलुस निकाल्न आग्रह गरेका छन्््। उनले व्यवस्थित तथा शान्तिपूर्ण प्रदर्शन गरि विश्वलाई उदाहरण देखाईदिन आह्वान गरेका छ्न्।

तर आन्दोलनमा हिंसा भड्किए निर्धारित समय अगावै जुलुस बन्द गरिदिने चेतावनी उनको छ। प्रहरीले भनेका छन्,‘प्रदर्शनकारीहरु हिंस्रक नभएसम्म हामी अश्रुग्यास प्रयोग गर्नेछैनौं। हामी बल प्रयोग गर्न पूर्व पर्याप्त चेतावनी दिन सक्दो कोशिस गर्नेछौं, मार्शलहरूसँग सम्वाद गर्न हामी सक्दो कोशिश गर्छौं।’

प्रहरी प्रमुख ताङ भर्खरै बेजिङ भ्रमणबाट फर्किएका छन्। उनी बेजिङमा चिनियाँ सुरक्षा अधिकारीहरुहरुसङ्ग भेटघाट गरेर फर्केका हुन्। उनलाई चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयको पूर्ण समर्थन रहेको छ। सुरक्षा मन्त्रालयले जतिसक्दो छिटो हिंसा रोक्न ताङको दृढ संकल्प र मनोबलका साथ नेतृत्व सम्हाल्ने आशासमेत गरेको छ।

गत आइतबार, हजारौं प्रदर्शनकारीहरुले चिम सा शुई बाट हुङ होम सम्म जुलुस निकाले। जुलुसको क्रममा हिंसा भड्किँदा प्रहरीले पिपर स्प्रे र अश्रु ग्याँस प्रयोग गरेका थिए भने आन्दोलनकारीहरुले प्रहरीमाथि स्मोक बम प्रहार गरेका थिए। केही पसलहरुमा तोडफोड समेत भएको थियो।

आम हड्ताल र पठनपाठन बहिष्कारको अफवाह

हङकङमा आम हड्ताल र पठनपाठन बहिष्कारको अफवाह सूरु भएको छ। इन्टरनेट प्रयोगकर्ताहरुले आगामी सोमबार तीन हड्ताल नामक नयाँ अनलाईन अभियानको आह्वान गर्दै आन्दोलनको हल्ला चलाएका छन्।

हङकङबाट चिनियाँ भाषामा प्रकाशित हुने सिङ ताउ दैनिक पत्रिकाका अनुसार गत महिना पुनःसंशोधन कानुनकोबिरूद्ध प्रहरी विरोधी प्रदर्शनकारीहरूले तीन हड्ताल र ड्वन अपरेसनको शृंखला सुरू गरेका थिए।

जसले एकपछि अर्को हिंसा निम्त्याएको थियो। टोलो राजमार्ग र सुरुङ मार्गहरु सहित अन्य यातायातहरु ठप्प पारिएको घटना अझै ताजा छ। केही
इन्टरनेट प्रयोगकर्ताहरुले सरकारलाई आइतबार साँझसम्म अपीलको जवाफ दिन अन्यथा आगामी सोमबारदेखि अर्को अभियान संचालन गर्ने चेतावनी दिएका छन्।

उनीहरुले आन्दोलनकारीहरुलाई सोमबार बिहान ६ बजे बाटै विभिन्न जिल्लाहरुलाई निशाना बनाई आन्दोलन चर्काउन आग्रह गरेका छन्।

मा ताइ पो, शा तिन, चुम मुन, चुन वान, क्वुन तोङ, शाम शुई पो, वोंग ताई सिन, चुङ क्वान ओ, याउ चिम मोङ र वान चाई मा हड्तालहरू शुरू गर्न आह्वान गरिएको छ।

६ महिनायता चलिरहेको हङकङ आन्दोलनको क्रममा झन्डै ६ हजार आन्दोलनकारीहरु पक्राउ परिसकेका छन्। आर्थिक रुपमा अरबौंको क्षति भएको छ भने व्यापार व्यवसाय चौपट भएको छ। यहाँको जनजीवन कष्टकर हुँदै गएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .