हङकङबाट धेरै पैसा बेलायत गइरहेको छ, हामी ६० करोड नेपाल भित्र्याउँदै छौँ : धिरज राई (अन्तर्वार्ता)

हङकङबाट धेरै पैसा बेलायत गइरहेको छ, हामी ६० करोड नेपाल भित्र्याउँदै छौँ : धिरज राई (अन्तर्वार्ता)

धिरज राई नेपाल फाइनान्स लिमिटेड हङकङका प्रमुख कार्यकारी अधिकृत हुन्


नेपालखबर
असार २२, २०७९ बुधबार ७:४२, हङकङ

धिरज राई नेपाल फाइनान्स लिमिटेड हङकङका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन्। १२ वर्षदेखि सञ्चालनमा रहेको नेपाल फाइनान्स हङकङमा नेपालीले चलाएको सबैभन्दा ठूलो फाइनान्स कम्पनी हो, जसको पूँजी ९८ मिलियन हङकङ डलरभन्दा माथि छ। हङकङमा नेपालीहरूको मुख्य बसोबास रहेको जोर्डनमा कार्यालय राखेर नेपाल फाइनान्सले मुख्यगरी यहाँका नेपालीको बचत संकलन र ऋण लगानी गरिरहेको छ। कोभिड महामारीको समयको अस्तव्यस्त व्यवसायबाट सम्हालिँदै नेपाल फाइनान्सले अब नेपालमा लगानी विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत दुई वर्षभित्र ६० करोड रुपैयाँ भित्र्याउने योजना छ।

नेपाल फाइनान्सका सीइओ धिरज राईसँग हङकङस्थित उनको कार्यालयमा नेपालखबरले गरेको वार्ता :

तीन वर्षयता माहामारीको समयमा हङकङमा नेपालीले सञ्चालन गरेको प्रमुख फाइनान्स कम्पनीको रुपमा तपाईंहरूको अनुभव कस्तो रह्यो? 
महामारीको समयमा धेरै गाह्रो नै भयो। गाह्रो हुनुको पहिलो कारण, हाम्रो नेपाल फाइनान्समा ९५ प्रतिशत बचत नेपालीहरुकै छ। एक लाख, दुई लाख जम्मा गर्दै नेपालमा लगानी गर्ने वा केही रकम जोडेर परिवार र बालबच्चाका लागि बेलायत जाने नेपालीहरूले यहाँ बचत गर्छन्। वास्तवमा हामीले हाम्रो कारोबार पनि उनीहरुलाई नै लक्षित गरेका थियौं। थोरैले मात्रै यहाँ रकम जम्मा गरेर सम्पत्तिमा लगानी गरिरहेका छन्। बीचमा एक वर्ष पैसा ‘रोलिङ’ नै भएन। कोभिडका कारण धेरैले ६–६ महिना राख्दै फेरि समय थप्दै लगे। पैसा निकाल्ने भन्दा राखिदिनु पर्यो भन्ने धेरै आए। पैसा राखेपछि हामीले त ब्याज तिर्नुपर्छ। बचतकर्तालाई ब्याज र सरकारलाई १६.५ प्रतिशत कर तिर्नुपर्दा हामी दोहोरो मारमा पर्यौँ।

कोभिडकै कारण नेपाल जाने धेरैको योजना रद्द भयो। उनीहरुको पैसा फाइनान्समै राख्नु पर्यो। सामान्य अवस्थामा पुरानो पैसा निस्कने नयाँ आउने हुँदा सहज हुन्थ्यो। कोभिडको समयमा लगानी गर्ने ठाउँ भएन, अनि बचत थपिँदै गयो। ६ महिनाभन्दा धेरै राख्दा हामीलाई घाटा भयो।​

अब त कोभिडको असर सकिँदै गएको छ हङकङमा पनि। अहिले अवस्थामा सुधार हुँदैछ? 
अहिले कोभिड नियन्त्रण हुँदै जाँदा फेरि पैसा राख्ने कोही भएनन्। अहिले त फाइनान्सबाट रकम निकाल्ने मात्रै धेरै भए। ‘क्यास इन’ र ‘क्यास फ्लो’ राम्ररी नहुँदा फाइनान्स व्यवस्थापन गर्न निकै गाह्रो भयो। कोभिडको समयमा पनि हाम्रो लगानी डुबेको छैन। तर कतिपयको व्यक्तिगत ऋण डुबेको छ। आर्थिक कारोबारमा पुरुषभन्दा महिला बढी विश्वासिला हुने भएकाले महिलालाई प्राथमिकता दिएका थियौँ। तर कोभिडको समयमा हङकङमा धेरै नेपाली महिला बेरोजगार भए। रेष्टुरेन्ट, सैलुन तथा ब्युटिपार्लरहरू बन्द हुँदा सबै बेरोजगार। जागिर नभएको समयमा पैसा जम्मा गर भन्नुपनि भएन। त्यसैले कोभिडको कारण हाम्रो व्यवासय ‘डाउन’ भयो। हङकङ सरकारबाट पनि फाइनान्सियल क्षेत्रलाई कुनै राहत छैन।

कोभिडको समयमा पैसा राखिदिनु पर्यो भन्दै नेपालीबाट आएको रकम कतिजति थियो? 
करिब ६ महिना त नयाँ राख्नै बन्द गरिदियौँ। ४१ देखि ४६ मिलियन हङकङ डलर होल्ड गर्नुपर्यो। हामीले त्यो रकम लगानी गर्ने ठाउँ नै पाएनौँ। हामीले मात्रै होइन, यहाँका सबै फाइनान्सले त्यो समस्या भोगे। हामीले त्यसरी पैसा होल्ड गरिदिएका मध्ये ९५ प्रतिशत अहिले धमाधम पैसा निकालेर नेपाल गइरहेका छन्।

यस्तो कठिन अवस्थामा कम्पनी कसरी व्यवस्थापन गर्नुभयो? 
फाइनान्स व्यवस्थापनमा हामीले मुख्य गरि तीन पक्षमा ध्यान दिनुपर्छ। एक, इक्युटी क्यापिटल (आफ्नो सम्पत्ति), दुई, डेब्ट क्यापिटल (अरुबाट लिइने पैसा) र स्पेशल क्यापिटल (सुन, चाँदी लगायतको सम्पत्ति)। इक्युटी र स्पेशल क्यापिटलमा संस्था दह्रो भयो भने अप्ठ्यारो टार्न सकिन्छ। यसमा राम्रो व्यवस्थापन नगरेको भए अहिले हामीलाई निकै गाह्रो हुने थियो। अहिले दिनमै मिलियन डलर पैसा निकालिरहेका छन्। बचतकर्ताको मात्रै रकम राखेको भए अप्ठारोमा पथ्र्यौँ हामी। कसैले पैसा निकाल्नुभन्दा ३ महिनाअघि नै हामी व्यवस्थापन गरिसक्छौँ। त्यसैले अहिलेसम्म हाम्रा ग्राहकलाई पैसा माग्न आउँदा एक दिनपनि ढिलो गरेका छैनौँ।

डेब्ट क्यापिटल प्रयोगगर्दा फिर्ता गर्नुपर्छ। आफ्नो बलियो इक्युटी नहुनेलाई डेब्ट क्यापिटल मात्रै प्रयोगर्दा झन् गाह्रो हुन्छ। नेपाल फाइनान्स ब्यालेन्समा रहेको छ। फाइनान्समा एसेट्स हेरेर हुँदैन, इक्युटी क्यापिटल कति छ हेर्नुपर्छ। त्यो भनेको स्थायी सम्पत्ति हो।​

नेपाल फाइनान्सको इक्युटी क्यापिटल कति छ त?
हामीले हङकङमा सन् २०११ देखि नेपाल फाइनान्स सञ्चालन गरेका हौँ। लाइसेन्स होल्ड गरेको २०१२ बाट हो। नेपाली समुदायमा हामी लिडिङ फाइनान्स कम्पनी हौँ। हाम्रो क्यापिटल ९८ मिलियन डलरभन्दा माथि छ।

हङकङको फाइनान्सियल सिस्टम पारदर्शी रहेको मानिन्छ। तर पनि हङकङमा रहेर हुन्डी गर्नेमा नेपाली पनि अगाडि आउँछन्। सर्वसाधारणबाट करोडौँ डलर उठाएर बन्द भएका कम्पनी पनि छन्। यस्तो अवस्थामा सर्वसाधारणको विश्वास आर्जन गर्न कत्तिको कठिन छ? 
हङकङको सिस्टम पारदर्शी भएपनि धेरै समस्या आइरहेका छन्। नेपाल फाइनान्सलाई नेपालीहरुले विश्वास गर्नुमा हामी क्यापिटलमा बढी ध्यान दिन्छौं। ग्राहकको रिटर्नमा ध्यान दिँदै आएका छौँ। बचतकर्ताको रकम कसरी सुरक्षित राख्ने भन्ने कुरामा निकै ध्यान दिएका छौँ। हाम्रोमा महिनामा पाँच सय डलर मात्र बचतमा राख्ने ग्राहक पनि छन्। किनभने बचत गर्नुपर्छ भन्ने विश्वास दिलाएका छौँ। हङकङमा आफुले कमाएको पैसा बचत गर्दै बिहे अघि नै फ्ल्याट किन्ने नयाँ पुस्ताका नेपाली पनि छन्। उनीहरुलाई हामीले फाइनान्स कसरी गर्ने, सेभिङ कसरी गर्ने भन्ने सिकाएका छौँ। जसले उनीहरूको भविष्य सुरक्षित गरेको छ। कतिपयले बच्चा पाउनुअघि नै बचत गरेको रकमको ब्याजबाट बच्चा पाएपछिको समयमा खर्च पुर्याउन सकेका छन्। एक महिना, ६ महिना फिक्स्डमा बचत राख्ने योजना छन् हामीसँग। त्यो पैसा उनीहरुले चाहिएको बेला निकाल्न पाउँछन्। पैसा बचत गर्ने हाम्रा योजना र चाहेको बेला निकाल्न पाउने हुँदा हामीप्रति विश्वास बढेको छ।

केही कम्पनी वा संस्थाहहरू सर्वसाधरणबाट पैसा उठाएर बन्द गरिएका गुनासोहरू हामीसम्म पनि आइपुगेको छ। उनीहरूको पैसा डुबेको छ। यस्ता प्रश्न त तपाईंहरू सम्म पनि आउँछ होला नि? 
हामीले नेपालीहरुको मिलियन डलर राखेका छौँ। सामान्य काम गर्ने नेपालीले कमाएको पैसा यहाँ राखेका छन्। अरु संस्था बन्द भएको विषय आउँदा मलाई प्रश्न गर्छन्। उहाँहरुलाई आश्वस्त पार्छौँ। नेपाल फाइनान्स त्यस्तो छैन। डराउनु पर्दैन। हङकङमा त्यस्ता अविश्वासिला फाइनान्स रहेको सुनेको छु। तर नेपाल फाइनान्समा राखेको पैसा डुब्दैन।

हरेक मानिसले दुःखले कमाएको पैसा जम्मागर्दा कहाँ सुरक्षित हुन्छ भन्ने थाहा पाउनु पर्छ। फाइनान्सले पैसा दिनसक्छ वा सक्दैन मात्रै होइन अरु सुरक्षाका कुरापनि हुन्छन्।

हङकङमा नेपालीले नै चलाएका अरु फाइनान्स कम्पनी पनि छन्, जसलाई तपाईंले तालिम पनि दिइरहनु भएको छ। उनीहरू कसरी चलिरहेका छन्?
हामी वार्षिक रुपमा अडिट रिपोर्ट सार्वजनिक गर्छौँ। त्यसरी सार्वजनिक गर्ने कार्यक्रममा फाइनान्स कम्पनी चलाइरहेका अरु नेपाली र मिडिया पनि बोलाउँछौँ। हङकङमा फाइनान्स यसरी चलाउनु पर्छ भन्ने सुझाव पनि दिँदै आएका छौँ। कसैले एउटै दहको माछामा धेरै बल्छी फाल्दा सधैँ ४ वटा माछा पर्नेमा अब एउटा मात्रै पर्न थाल्यो भन्ने गर्छन्। म त्यसरी हेर्दिन फाइनान्सियल क्षेत्रलाई। यहाँ हजारौँ फाइनान्स कम्पनी छन्, जो आफ्नो क्षमता र इमान्दारिता अनुसार चलिरहेका छन्। हङकङ विश्वकै एउटा प्रमुख फाइनान्सियल हब भएकाले यहाँ नेपाली मात्रै होइन कारोबार गर्ने अरु धेरै समुदायका मानिस छन्।

नेपाल फाइनान्समा कारोबार गर्नेमध्ये कति प्रतिशत नेपाली छन्?
नेपाल फाइनान्समा कारोबार गर्ने मुख्य गरि नेपाली नै हुन्। बचत गर्ने र ऋण लिने ९५ प्रतिशत नेपाली छन्। ऋण लिन खोज्नेमा फिलिपिनो र हङकङका स्थानीय चिनियाँ पनि छन्। उनीहरुलाई दिएर साध्य नै हुँदैन। सुरक्षित पनि हुँदैन। यहाँ ऋण खाएर फिलिपिन्स हिँडिदिन्छन्।

त्यसरी ठूलो रकम नतिरेर हिंड्ने पनि छन्?
ठूलो रकम लिएर भाग्ने हङकङमा धेरै छन्। त्यसैले सरकारले लेन्डिङ लाइसेन्सलाई असुरक्षित भनेको छ। सरकारले फाइनान्सलाई ५८ प्रतिशतसम्म मात्र ब्याजमा लगानी गर्न सक्छौ भनेको छ। फाइनान्सले ऋण लिने व्यक्तिलाई ऋण लिएको कारण ‘ह्यारेस’ वा ‘टर्चर’ गर्न पाइँदैन भन्ने छ। त्यसैले हामीले ऋण दिँदा कसरी सुरक्षित हुन्छ भनेर हेर्नुपर्छ। हामीले डिपेन्डेन्ट आइडी होल्डरलाई पनि ऋण दिएका छौँ। अरु फाइनान्सले दिँदैनन्। डिपेन्डेन्ट व्यक्ति भोली स्थायी आइडी होल्डर हुन्छ। त्यसबेला कारोबार स्पष्ट हुनुपर्छ। घरहरु खरिद गर्नुपर्यो भने पनि पहिलाको फाइनान्सियल कारोबार स्पष्ट हुनुपर्यो। त्यसैले पैसा खाएर भाग्ने चान्स निकै कम हुन्छ।​

नेपालीले यहाँ बढीमा कतिसम्म पैसा जम्मा गर्छन्?
हङकङमा नेपालीले पैसा नकमाएको भन्ने होइन। वर्षमै २–३ गुणासम्म बढाउँछन्। नेपाल फाइनान्समा यही कम्पनीका साथीहरुले १५ मिलियन डलरसम्म बचत गरेका छन्। उनीहरू ठूला बचतकर्ता हुन्। २–४ मिलियन बचत गर्ने त धेरै हुन्छन्।

नेपालीले हङकङमा कमाएको पैसा नेपाल र बेलायत कति जान्छ, हङकङमै कति लगानी हुन्छ? 
पछिल्लो ट्रेन्ड हेर्दा हङकङका नेपालीको सबैभन्दा धेरै पैसा बेलायत गइरहेको छ। यसअघि बेलायतमा त्यति धेरै रकम जाँदैनथ्यो। अहिले सबैभन्दा धेरै बेलायत, त्यसपछि नेपाल र बाँकी हङकङमा लगानी भइरहेको देखिन्छ। बेलायतले बीएनओ पासपोर्ट खुल्ला गरेपछि उता जाने बढेका हुन्। पहिला लाहुरेहरुको परिवार मात्रै गए। अहिले धेरै नेपाली बेलायत जाँदा नेपालमा भन्दा धेरै पैसा उतै गइरहेको छ। नेपालीले हङकङमै पनि लगानी गर्ने क्रम बढिरहेको छ। धेरैले फ्लाट खरिद गरिरहेका छन्।

हङकङमा १२ वर्षसम्म फाइनान्स कम्पनी चलाएपछि तपाईंहरू चाहिँ अब नेपालमा लगानी गर्न खोजिरहनु भएको छ। हङकङका नेपाली बेलायततिर गइरहेका बेला तपाईंहरू कसरी नेपालमा लगानी गर्न आकर्षित हुनुभयो? 
पहिले नेपालमै व्यवसाय गरेकाले पनि मलाई नेपालमा नै लगानी गर्नुपर्छ भन्ने लागिरहेको थियो। नेपाल फाइनान्समा करिब ५० जना लगानीकर्ता छौँ। ४–५ वर्षअघि हामीले साधारण सभाबाटै नेपालमा लगानी गर्ने योजना पारित गरेर त्यसका लागि सात मिलियन डलर छुट्याएका थियौँ। म व्यस्त हुँदा योजना कार्यान्वयन हुन सकिरहेको थिएन। बीचमा फेरि कोभिड लगायतको कारणले ढिलो भयो। हालै नेपालमा नेपाल ओभरसिस् डेभलपर्स कम्पनी स्थापना भएको छ। यसको मुख्य उद्देश्य नेपालमा लगानी गर्नु हो। हामी नेपाल फाइनान्सको ७० प्रतिशत सेयर नेपालमा लगानी गर्ने तयारीमा छौँ। अब हङकङबाट नेपाल ओभरसिस् डेभलपर्स कम्पनीमा पूँजी लैजाने छौँ। कसरी पूँजी लैजाने र कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा विज्ञहरूसँग पनि छलफल चलिरहेको छ। दुई वर्षभित्र ६० करोड नेपाल भित्र्याउने लक्ष्य राखेका छौं। पहिलो चरणमा जग्गा खरिद गरेर प्लटिङ गरेर बेच्ने, दोस्रोमा हाउजिङ विकास गर्ने प्रयासमा छौँ। हाउजिङमा चिनियाँ प्रविधि भित्र्याउने योजनामा छौँ। अहिले काठमाडौँ केन्द्रित भएर सरकारी खाली जग्गा लिजमा लिएर व्यवसायिक भवन बनाउने वा बजारीकरण गर्ने योजना पनि छ। त्यस्तै अनलाइनबाट रियलस्टेट कारोबार मुख्य शहरमा विस्तार गर्छौँ।

चिनियाँ लगानी पनि आउँछ तपाईंहरूसँगै? 
चिनियाँ लगानी पछिको कुरा भयो। हामीलाई प्रविधि उनीहरुकै भित्र्याउनु पर्ने हुन्छ। उनीहरुको आइडिया ल्याउने हो। लगानी अहिले नेपाली नेपालीबीचमै रहेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .