हङकङका नयाँ नेता जोन ली का–चिउले मानिसहरुको दैनिक जीवनयापनका मुद्दा सम्बोधन गर्न चारवटा कार्यदल गठन गर्ने तयारी गरेका छन्।
हङकङको प्रमुख कार्यकारीको रुपमा पहिलोपटक संसदीय परिषद पुगेका उनले आफ्नो योजना सार्वजनिक गरेका हुन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार जोन लीले परिणाममुखी हुँदै काम गर्ने बताएका छन्।
त्यसका लागि उनले कार्यकालको सफलता मापन गर्ने प्रमुख सूचक पनि स्थापना गरेका छन्। उनले सबै ब्युरो प्रमुखलाई अर्को महिनाको अन्तिमसम्ममा आफ्नो लक्ष्य उल्लेख गरी बुझाउन निर्देशन पनि दिएका छन्।
उनले सबै जिम्मेवार निकायका प्रमुखले कुनै पनि समस्या आउँदा समय खर्च नगरी तत्काल समाधानमा जुट्न पनि निर्देशन दिएका छन्।
बुधबार संसदीय परिषदमा ९० मिनेटको सम्बोधनको क्रममा उनले सामाजिक मुद्दाहरु सम्बोधनको लागि चारवटा अन्तरविभागीय कार्यदल गठन गरिने भएको छ।
शीर्ष तहका अधिकारीहरु समावेश हुने उक्त कार्यदलले गरीबी नियन्त्रण, जिल्ला मामिला समन्वय र घरजग्गसम्बन्धी कारोबार लगायतका विषयमा आफ्नो ध्यान केन्द्रित गर्नेछ।
जोन लीले गत जुलाई १ मा हङकङको प्रमुख कार्यकारीको रुपमा शपथ ग्रहण गरेका थिए।
प्रतिक्रिया