हङकङमा सबै मानिसलाई आफ्नै घरमा कोरोना परीक्षण गर्न निर्देशन दिएसँगै कोरोनाका नयाँ संक्रमितको संख्या पनि उल्लेख्य मात्रामा घट्न सकेको छैन।
हङकङ प्रमुख क्यारी लामले शनिबार कोरोनाका नयाँ संक्रमितको संख्यामा ठूलो कमी आउन नसके पनि यो संख्या निरन्तर घट्दो क्रममा रहेको बताएकी हुन्।
अबको केही समयमा हङकङमा कोरोना नियन्त्रणको लागि लगाइएको भौतिक दुरीको नियम पनि हटाउने तयारी भइरहेको समयमा लामको यस्तो भनाइ आएको हो।
हङकङमा शुक्रबारबाट सबै मानिसलाई एन्टिजिन परीक्षणको माध्यमबाट घरमा नै कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ। तीन दिने यो अभियानको क्रममा कोरोना संक्रमणको चेन ब्रेक गर्न सकिने विशेषज्ञहरूले बताउँदै आएका छन्।
हङकङ प्रमुख लामले मानिसहरुले घरमा नै एन्टिजिन परीक्षण गर्न पाउँदा नदेखिने कोरोना संक्रमितको संख्या पनि निकै कम हुन सक्ने बताएकी छिन्।
उनले कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर घटे आगामी दिनमा भौतिक दुरीको नियम हटाउन सकिने बताएकी छिन्।
हङकङमा अप्रिलको मध्यबाट विद्यालय पनि सुरु गर्न सकिने लामको विश्वास छ।
यद्यपि यस विषयमा थप अध्ययनको जरुरी रहेको उनले बताएकी छिन्।
Shares

प्रतिक्रिया