हङकङमा पाँचौं लहरको कोरोना संक्रमण बढेसँगै सरकारले सबै मानिसको कोरोना परीक्षणको योजना अघि सारेको छ।
यो योजनाअन्तर्गत सबै मानिसको परीक्षण गर्ने अवधिमा लकडाउन हुने बताइएको छ।
यद्यपि लकडाउन कस्तो किसिमको हुने र कसरी कार्यान्वयन हुने भन्नेबारे स्पष्ट व्यवस्था गरिएको छैन। जसले गर्दा हङकङका मानिसहरुमा आशंका बढेको छ।
अहिले हङकङका मानिसहरु आवश्यक सामग्रीहरु बेलैमा जोहो गर्न मानिसहरुको भिड लागेको छ।
मंगलबार हङकङका राजनीतिक नेता र सञ्चार विशेषज्ञहरुले फरक फरक किसिमका समाचारको कारण मानिसहरुमा आशंका पैदा भएको उल्लेख गरेका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सोमबार र मंगलबार हङकङका सुपरमार्केटमा खाद्य तथा अन्य आधारभूत सामग्री खरिद गर्ने मानिसको भिड देखिएको थियो।
हङकङका सबै मानिसको कोरोना परीक्षण गर्दा समग्र सहरमा लकडाउन गर्ने कि निश्चित क्षेत्र तोकेर छुट्टाछुट्टै क्षेत्रमा लकडाउन गर्ने विषयमा स्पष्ट हुन सकेको छैन।
हङकङ प्रमुख क्यारी लामले अहिले यस विषयमा छलफल भइरहेको उल्लेख गरेकी छन्।
उनले सबै मानिसहरुलाई कोरोना नियन्त्रणको लागि स्थानीय निकायले कुनै प्रतिबन्ध लगाए पनि शान्त रहेर त्यसको पालना गर्न आग्रह गरेकी छिन्।
विशेषज्ञहरुले अहिले मानिसहरुमा अन्योल देखिएको भन्दै सरकारलाई आगामी योजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन्।
बापटिस्ट युनिभर्सिटीका प्राध्यापक रायमण्ड ली पछिल्लो समय लकडाउनको विषयमा विभिन्न किसिमको हल्ला चलिरहेको कारण सरकारले समयमा नै आफ्ना नागरिकहरुलाई सही सूचना दिनु जरुरी रहेको बताउँछन्। उनी भन्छन्, ‘यो सरकारको लागि एउटा पाठ पनि हो।’
विशेषगरी पछिल्लो केही दिनयता हङकङमा कोरोना संक्रमण नियन्त्रणकै लागि लकडाउन हुन सक्ने समाचारहरु फैलिएका छन्। यसले पनि मानिसहरुमा आशंका बढाएको छ। यद्यपि सरकारले भने उक्त विकल्पको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ।
केही जानकारहरुले भने अहिलेको अवस्थामा सरकारले मानिसहरुमा अन्योल बढाउने विषय के हो भन्ने पहिचान गरेर त्यसलाई निवारण गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताएका छन्। यद्यपि सरकारले यस किसिमको समस्या पहिचान गर्न सक्नेमा भने उनीहरुको आशंका छ।
Shares

प्रतिक्रिया