हङकङका प्रजातन्त्रवादी नेता एडवर्ड लेउङ जेलबाट रिहा भएका छन्।
प्रजातन्त्रवादी आन्दोलनको चर्चित अनुहारमध्येका लेउङलाई राम्रो आचरण देखाएको भन्दै बुधबार रिहा गरिएको हो। यसअघि उनको रिहाइको लागि पनि हङकङमा प्रदर्शन भएको थियो।
यसअघि सन् २०१६ मा लेउङले हङकङको स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेका थिए। त्यतिबेला उनी सांसदको उम्मेदवार पनि बनेका थिए।
तर, उनलाई आन्दोलनमा दंगा फैलाउने काम गरेको र मानिसहरुलाई भड्काउने काम गरेको भन्दै प्रतिबन्ध लगाइएको थियो। साथै उनीमाथि मुद्दा पनि चलाइएको थियो।
यो मुद्दामा उनलाई ६ वर्षको जेल सजाय सुनाइएको हो। सोही सजाय अनुसार लेउङ सन् २०१८ यता जेलमा रहँदै आएका थिए।
यद्यपि उनले जेलमा देखाएको राम्रो आचरणको कारण उनको जेल सजाय छोट्याइएको हो।
सन् २०२० मा ल्याइएको राष्ट्रिय सुरक्षा कानुन अनुसार हङकङको स्वतन्त्रताको पक्षमा मानिसहरुलाई भड्काउने कार्य गरे आजीवन कारावाससम्मको जेल सजाय हुन सक्ने व्यवस्था छ।
प्रतिक्रिया