हङकङको कोरोना महामारी नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा क्याथे प्यासिफिका दुई पूर्व उडान सहायकमाथि मुद्दा चलाइएको छ।
अमेरिकाबाट आएका उनीहरुले हङकङमा कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध उल्लंघन गरी संक्रमण फैलाएको आरोप छ।
उनीहरुले होम आइसोलेसनको नियम पालना नगरेको भन्दै हङकङको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
उनीहरुले सबैभन्दा धेरै संक्रामक मानिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण अन्य मानिसलाई सार्न पनि सहयोग पुर्याएको आरोप छ।
उनीहरुलाई सोमबार जमानतमा रिहा गरिएको र फेब्रुअरी ९ मा अदालतमा उपस्थित हुन बोलाइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
अहिले मुद्दा चलाइएका मध्ये ४५ वर्षीय एक पुरुष डिसेम्बर २४ मा अमेरिकाको न्युयोर्कबाट हङकङ आएका थिए।
त्यसपछि उनी सोही विमानमा आएका अर्का उडान सहायकको घरमा क्रिसमस मनाउन पुगेका थिए।
त्यस्तै सोही दिन अमेरिकाको सिकागोबाट आएका ४४ वर्षीय पुरुषले पनि कोरोना प्रतिबन्ध नमानेको पाइएको हो।
उनी भने डिसेम्बर २७ मा मून प्यालेस रेष्टुरेन्टमा गएका थिए। उनी क्याथे प्यासिफिकका कर्मचारी थिए।
उनीहरु दुवैमा ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण देखिएको थियो। उपचारपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भएका थिए।
उनीहरुमाथि डिसेम्बर २५ र २७ मा अनावश्यक गतिविधि गरेको आरोप लगाइएको छ।
हङकङमा कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको नियम उल्लंघन गर्नेलाई अधिकतम ६ महिनाको जेल सजाय र ५ हजार हङकङ डलर जरिवाना हुने व्यवस्था छ।
प्रतिक्रिया