जी७, ईयू र ‘फाइभ आइज’ले गरे हङकङको निर्वाचनको विरोध

जी७, ईयू र ‘फाइभ आइज’ले गरे हङकङको निर्वाचनको विरोध

नेपालखबर
पुस ६, २०७८ मंगलबार ११:४९, काठमाडौँ

जी७, युरोपेली संघ (ईयू) र अमेरिकासहित पाँच राष्ट्रको समूहले हङकङमा भएका संसदीय परिषद्को निर्वाचनको विरोध गरेका छन्।

हङकङको संसदीय परिषद्को निर्वाचनमा भाग लिने उम्मेदवारको लागि राखिएको मापदण्डले हङकङको स्वायत्तता खोसिएको भन्दै जी७ र ईयूले आपत्ति जनाएका हुन्। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्ड सम्मिलित ‘फाइभ आइज’ले पनि सोमबार त्यस्तै किसिमको विज्ञप्ति जारी गर्दै यो निर्वाचनको विरोध गरेको छ। 

गत मार्चमा चीनले संसदीय परिषद्को निर्वाचनमा भाग लिन ‘देशभक्त’ हुनुपर्ने मापदण्ड ल्याएको थियो। यो मापदण्डले मतदाताको आवाजमा अंकुश लगाउने भन्दै यसलाई स्वीकार गर्न नसकिने पश्चिमा मुलुकले बताएका छन्। 

पछिल्लो समय चीनले हङकङमाथि दबाब बढाएसँगै पश्चिमा मुलुकले निरन्तर त्यसको विरोध गर्दै आएका छन्। दबाबकै बीच भएको संसदीय परिषद्को निर्वाचनमा चीन समर्थक उम्मेदवारले जित हात पारेका छन्। 

ईयू, जी७ र फाइभ आइजका मुलुकले चीनलाई हङकङको राजनीतिक संस्थाप्रतिको विश्वास फिर्ता ल्याउने किसिमको कदम चाल्न आग्रह गरेका थिए। उनीहरुले हङकङमा मानव अधिकार र आधारभूत स्वतन्त्रता, प्रजातान्त्रिक सिद्धान्त र कानुनी शासनको पालना गर्न आग्रह गरेका छन्। 

फाइभ आइजले चीनले हङकङबाट अर्थपूर्ण राजनीतिक विपक्षीलाई अन्त्य गरेको बताएको छ। हङकङकी प्रमुख क्यारी लामले हङकङको नयाँ प्रणालीको बचाउ गरेकी छिन्। उनले अहिले हङकङ सही लयमा आएको र निर्वाचनमा कम मत खस्नुको कुनै अर्थ नहुने बताउँदै आएकी छिन्। पश्चिमा मुलुकले व्याख्या गरेको प्रजातन्त्र हङकङका लागि लागू नहुने लामको भनाइ छ। 

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले हङकङको निर्वाचनमा कम मत खस्नुको कारण महामारीको सन्त्रास, चीनविरोधी भावना र बाह्य शक्तिको प्रभाव भएको बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .