हङकङमा दर्ता खोलिएको एक घण्टामै नयाँ कोभिड–१९ स्वास्थ्य कोडमा करिब ८३ हजारले साइन अप गरेका छन्। यो स्वास्थ्य कोड मेनल्याण्ड चीनसँगको सीमा खुला भएपछि क्वारेन्टिनरहित भ्रमणका लागि आवश्यक पर्छ।
हङकङका शीर्ष अधिकारीले दर्ता खुला गरेसँगै यसमा धेरै मानिसको आकर्षण देखिएको बताएका छन्।
यद्यपि पहिलो घण्टामा नै दर्ता गराउनेमध्ये धेरैले आफ्नो कोड एक्टिभ भने गराउन सकेका छैनन्। यो कोड एक्टिभ गराउनुभन्दा पहिला मानिसको ठेगाना प्रमाणीकरण गर्नुपर्ने हुन्छ। आगामी सातासम्म उनीहरुको दर्ताको प्रक्रिया पूरा हुनेछ।
अहिले हङकङ चीनसँगको सीमा खोल्ने योजनामा अघि बढिरहेको छ। हङकङ र मेनल्याण्ड चीन दुवैमा व्यवसाय गर्ने व्यवसायीहरुका लागि हङकङ र चीनबीचको सीमा खुल्नु निकै महत्वपूर्ण हुने साउथ चाइना मर्निङ पोस्टले बताएको छ।
यद्यपि अहिले ल्याइएको योजना स्मार्टफोन भएका मानिसहरुको लागि मात्र लागू हुने भएकाले स्मार्टफोन नबोक्ने मानिसको लागि पनि सरकारले आवश्यक व्यवस्था गर्न केहीले माग गरेका छन्। हङकङमा स्वास्थ्य कोड र यससँग सम्बन्धित प्रतिबन्धकाे एउटा समूहले विराेध गर्दै आएकाले यति छोटो समयमा धेरै मानिसले दर्ता गराउने अपेक्षा थिएन।
Shares

प्रतिक्रिया