डिसेम्बरको पहिलो साताबाट हङकङका नागरिकले क्वारेन्टिन विना नै मेनल्याण्ड चीन प्रवेश गर्न पाउने भएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार अपेक्षा गरिएभन्दा छिटै नै मेनल्याण्ड चीनसँगको सीमा खुल्न लागेको हो।
यद्यपि चीन प्रवेशको लागि भने केही निश्चित कोटा छुट्याइएको छ। जसअनुसार दैनिक केही सय मानिस मात्र मेनल्याण्ड चीन प्रवेश गर्न पाउनेछन्।
स्रोतका अनुसार हङकङ र मेनल्याण्ड चीनका अधिकारीहरुबीच भएको केही सातायताको वार्तामा सीमा छिटोभन्दा छिटो खोल्ने विषयमा सहमति जुटेको हो। जसअनुसार हङकङको मेनल्याण्ड चीनसँगको सीमा खुल्नु र चिनियाँ ओलम्पिक विजेताहरुको हङकङ भ्रमण एकसाथ हुनेछ।
समाचारमा उल्लेख गरिएअनुसार सुरुमा केही सय मानिसको लागि क्वारेन्टिन विना नै मेनल्याण्ड चीनको सीमा खुलेपछि बिस्तारै यो कोटा बढाइँदै लगिनेछ। यस विषयमा हङकङको संवैधानिक तथा मेनल्याण्ड मामिला ब्यूरोले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
यसअघि डिसेम्बरको मध्यबाट मेनल्याण्ड चीनसँगको सीमा खुल्न थाल्ने र तीन चरणमा गरी अर्को वर्षको जुनसम्म पूर्णरुपमा सीमा खुल्ने चिनियाँ अधिकारीहरुले बताएका थिए।
लामो समयदेखि कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण हङकङको अर्थतन्त्र समस्यामा परेको छ। हङकङले पनि मेनल्याण्ड चीनसँगको सीमा खोल्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँदै आएको छ।
Shares
प्रतिक्रिया