हङकङमा यी नेपालीले जिते दोस्रोपटक गल्फ च्याम्पियनसिपको उपाधि

हङकङमा यी नेपालीले जिते दोस्रोपटक गल्फ च्याम्पियनसिपको उपाधि

मगेन्द्र राई
मंसिर १, २०७८ बुधबार १६:५८, काठमाडौँ

हङकङस्थित डिस्कभरी गल्फ क्लबले हरेक वर्ष सञ्चालन गर्ने क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि नेपाली गल्फर वाई राईले दोस्रोपटक जितेका छन्। यसअघि सन् २०१८ मा पनि उनले उक्त उपाधि जितेका थिए। 

हङकङको लान्ताउस्थित डिस्कभरी गल्फ कोर्समा गत शनिबार र आइतबार दुई दिनसम्म सञ्चालित कूल ३६ होलको खेलमा वाईबीले आफ्ना प्रतिद्वन्द्वीलाई ४ स्ट्रोकले पछि पार्दै उपाधि हात पारेका हुन्। 

७२ पारको स्ट्रोक प्ले फर्म्याटमा सिङगल्स हेन्डिक्याप खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन १८ होलमा उनी निकटतम प्रतिद्वन्द्वीभन्दा ३ स्ट्रोकले पछि परेका थिए। दोस्रो दिनको अर्को १८ होलको टी अफबाटै बोगी भएपछि पाँचौं होलसम्म आउँदा उनी ५ स्ट्रोकले पछि परे। तर खेलको मध्यतिरबाट कमब्याक भएपछि अन्ततः ४ स्ट्रोकले अग्रता लिँदै उपाधि कब्जा गर्न उनी सफल भए। 

प्रतियोगितामा २५ वटाभन्दा बडी देशका प्रतियोगीले भाग लिएका थिए। 

‘पाँच स्ट्रोकले पछि पर्दा अब खेल जित्न सकिन्न भन्ने मानसिक दबाब कत्तिको झेल्नुभएको थियो?’

नेपालखबरको प्रश्नमा उनले भने, ‘खेल खस्कनमा धेरै फ्याक्टर हुन्छन्, प्रतियोगिताभर मौसम र कोर्स टफ थियो, खेलमा मेन्टल स्ट्रेन्थ (मानसिक शक्ति) सबैभन्दा महत्त्वपूर्ण पार्ट हो, मेरो मेन्टल स्ट्रेन्थ बलियो छ, अन्तिम अवस्थासम्म बिना प्रेसर एफर्ट लगाउन सक्छु, क्यान डु अटिच्युड छ, जसले गर्दा कमब्याक भई प्रतियोगिता जित्न सफल भएँ।’

आत्मबलकै कारण यसअघि पनि हार्नै लागेका प्रतियोगिता जितेको उनले सुनाए। 

‘उमेरले नेटो काटिसक्दासमेत यो उच्चस्तरमा खेल्न सक्नु तपाईंको गल्फ कला ‘गड गिफ्टेड’ त हैन?’

उनले भने, ‘म भाग्यवादको सधैं सख्त विरोधी हुँ, लाछीहरूले मात्र भाग्यको कुरा गर्छन्, कर्म वा मेहनत गर्नपर्छ, कठिन मेहनत नै सफलताको कडी हो।’

उनले थपे, ‘खेलकुदमा मुख्य रूपमा अटोक्राटिक, डेमोक्राटिक र होलिस्टिक गरी तीन प्रकारका सिक्ने र सिकाउने तरिका हुन्छन्, पश्चिमाहरू डेमोक्राटिक र होलिस्टिक स्टायलमा सिक्ने, सिकाउने गर्छन्, मलाई त्यो स्टायल मन पर्दैन, मलाई अटोक्राटिक स्टायल मनपर्छ, जसले कडा मेहनत गर्नपर्छ भन्ने सिकाउँछ, अनि सफलता हात पर्छ।’

उनले चीन र भारतको उदाहरण दिँदै क्षेत्रफल र जनसंख्या उस्तै रहेका चीन र भारतका ओलम्पिक पदक तालिका हेरे पुग्ने उनले बताए। 

उनी भन्छन्, ‘चिनियाँ खेलाडीहरूले त्यसै जितेका हैनन्, त्यो कठिन मेहनतको फल हो।’

वाईबीले यही प्रतियोगिता सन् २०१८ मा पनि जितेका थिए। 

‘एकै उपाधि दुई दुईपटक जित्नु भो, कतिको खुसी हुनुहुन्छ?’

उनले भने, ‘मेरो शारीरिक बनावट र राष्ट्रियता हेरेर कतिपयले नजरअन्दाज गर्छन्, किनकि संसारका अनेकौं मूलका खेलाडी छन्, कतिले भाग्यले साथ दिएर जिते होलान् भन्ने अनुमान पनि गरे, तिनीहरूका लागि मैले फेरि पनि जितेर प्रमाणित गर्नु थियो, जसमा म सफल भएँ।’ 

खेलमा मात्र हैन, जुनसुकै क्षेत्रमा शतप्रतिशत मेहनत गर्न जरुरी रहेको उनले बताए। मेहनतको प्रतिफल आफूले पाएको उनको भनाइ छ। 

‘यो अर्थमा म खुसी र सन्तुष्ट दुवै छु’, उनले भने। 

क्लब च्याम्पियनसिपलाई मेजर टुर्नामेन्टका रूपमा हेरिन्छ। उनले यसबाहेक अन्यसमेत गरी यसपटक ८ वटा उपाधि जितिसकेका छन्। 

यो जितसँगै यो वर्षको अन्तिममा घोषणा गरिने ‘च्याम्पियन अफ द च्याम्पियन २०२१’ को उपाधिसमेत उनले सुरक्षित गरिसकेका छन्। 

उनी १ हेन्डिक्याप हुन्। उनी हङकङमा सफल नेपाली व्यवसायीका रूपमा चिनिएका छन्। 

उनका छोरा डेन्जल गल्फमै हङकङ नेसनल जुनियर्स स्वाडमा आबद्ध छन्।

गत फेब्रुअरीमा अन्तरक्लब प्रतियोगितामा बाबु–छोराले नै उपाधि जितेका थिए। यसरी बाबुछोरा दुवै छनोट भई उपाधि जितेको यो पहिलो कीर्तिमान हो। 

हालसम्म दुवैले उल्लिखित दर्जनौं प्रतियोगिता जितिसकेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .