किसन राई मृत्यु प्रकरणमा स्पष्टीकरण दिन्छु, माफी माग्दिनँ : विनय शाह

किसन राई मृत्यु प्रकरणमा स्पष्टीकरण दिन्छु, माफी माग्दिनँ : विनय शाह

मगेन्द्र राई
कात्तिक २१, २०७८ आइतबार १७:५८, काठमाडौँ

हङकङका पत्रकार किसन राईको मृत्युपछि ‘एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ’ भन्ने विनय शाहले आफु स्पष्टिकरण दिन तयार रहेको तर माफी नमाग्ने बताएका छन्। 

काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा ७ कात्तिक (२४ अक्टोबर) साँझ भीरबाट लडेर पत्रकार राईको मृत्यु भएपछि सामाजिक सञ्जालको समूहमा दिएको अभिव्यक्तिलाई लिएर शाह विवादमा तानिएका थिए।

हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक समेत रहेका शाहले सोही संस्थाका निर्देशकहरुको भाईबर ग्रुप च्याटमा ‘धेरैपछि खुसीको समाचार सुनियो। एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए, जसले राईको मृत्युपछि शोकमा रहेको हङकङको नेपाली समुदायलाई स्तब्ध बनाएको थियो। 

हाल बेलायतका रहेका शाहको अभिव्यक्तिका कारण राईको मृत्युमाथि धेरैले आशंका व्यक्त गर्ने अवस्था समेत सिर्जना गरेको थियो। 

शाहको भनाईले स्तब्ध र दुखी बनाएको भन्दै घटना भएको दश दिनपछि १८ कात्तिक (४ नोभेम्बर) मा किरात राई यायोक्खा हङकङले आपत्ति जनाएको थियो। 

यायोख्खा हङकङका अध्यक्ष चन्द्रका राई र महासचिव गङ्गाराम राईले विज्ञप्तीमा हिन्सले विनय शाहमाथि कारबाही गर्नुपर्ने माग गरेको थियो। 

‘हिन्सले नैतिकताको जिम्मेवारी बहन गर्दै संस्थाको डाईरेक्टर विनय शाहलाई तुरुन्त कारबाही गरि हङकङको नेपाली समाज माझ लिखित माफी माग्न लगाओस्’, विज्ञप्तीमा भनिएको छ, ‘हिन्सले शाहलाई माफी माग्न नलगाए वा निजलाई कुनै कार्बाही नगरे आगामी दिनमा किराया हङकङ बाध्य भई कठोर भन्दा कठोर अन्य कारबाही गर्न अगाडि बढ्ने जानकारी गराउँछौं।’

किसन किरात राई यायोक्खा हङकङका पूर्व अध्यक्ष तथा संरक्षक थिए। 

किरात राई यायोक्खा हङकङको विज्ञप्तीपछि हाल लन्डनमा रहेका शाहले आफुमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन्। 

‘विज्ञप्तिमा प्रयोग भएका वाक्यहरुप्रति मेरो आपत्ति छ, एउटा सामाजिक संस्थाले कुनै व्यक्तिलाई कारबाही गर्न मिल्दैन’, शाहले भने, ‘कानुनी कारबाही गर्ने अधिकार प्रहरी र अदालतलाई मात्र हुन्छ। सक्छ भने किरायाले मलाई कारबाही गरेर देखाओस्।’ 

कसैको मृत्यु हुँदा खुसी मनाउनु मानवीय संवेदनहिनता भएन र?

यो प्रश्नमा शाहले भने, ‘एउटा भाईरस सखाप भन्ने वाक्य मात्र किसनलाई भनेको हुँ, बाँकी शब्दहरु अन्य सन्दर्भको हो। सम्बन्धित व्यक्तिहरुले सोधेमा त्यसको स्पष्टीकरण दिन तयार छु तर माफी माग्दिनँ।’

हिन्सले भने शाहमाथि होइन, त्यो च्याट लिक गर्ने व्यक्तिमाथि चाहिँ कारबाही गर्ने तयारी गरेको छ। 

हिन्सकै एक जना डाईरेक्टर नरेन्द्र राज गुरुङले किसन राईको मृत्युमाथि भएको उक्त संवादको स्क्रिन सट अर्का डाईरेक्टर बर्दन गुरुङले चुहावट गरेको दाबी गरे। 

नरेन्द्रले यस विषयमा संस्थागत रुपमा छलफल गरि बर्दनमाथि आन्तरिक कारबाही गर्ने तयारी भएको दाबी गरे।​

शाहकै जस्तो भनाई स्याङ्जाली कान्छा नामले चिनिने कोमल गरुङले पनि आफ्नो फेशबुक स्टाटसमा लेखेका थिए, जुन केही समयपछि डिलिट गरिएको थियो।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .