हङकङका एमटीआर राति ११ बजेबाट बन्द

हङकङका एमटीआर राति ११ बजेबाट बन्द

मगेन्द्र राई
कात्तिक ११, २०७६ सोमबार १०:५८,

हङकङमा रेल सञ्चालन गर्दै आएको एमटीआर कर्पोरेसनले सोमबार राति ११ बजेबाट एयपोर्ट एक्स्प्रेसबाहेक सबै रेल सेवाहरु बन्द गर्ने भएको छ। सरकारविरोधी आन्दोलनकारीहरुले रेल स्टेसनहरुमा बारम्बार तोडफोड र आगजनी गरेपछि त्यसको मर्मत गर्न निर्धारित समयअगावै सेवा बन्द गर्न बाध्य हुनुपरेको कर्पोरेसनले जनाएको छ।

गत आइतबार आन्दोलनकारीहरुले अप्रत्याशित रुपमा रेल स्टेसनहरुमा पेट्रोल बम प्रहार गरी आगजनी गर्न थालेपछि सम्पूर्ण रेल सेवाहरु १० बजेअगावै बन्द गरेका थिए भने आन्दोलनकारीहरुको निशानामा परेको जोर्डन, यौ मा तेई र मङ कोक स्टेसनहरु साँझ पर्नुअगावै बन्द भएको थियो।

यातायात र आवास सचिव फ्रान्क चान फानले रेल सेवा तथा अन्य सवारी साधनहरुउपर अवरोध र तोडफोड नगर्न अनुरोध गर्दै भने, ‘यस्ता विनाशकारी हर्कतले असुविधा, व्यक्तिगत तथा सार्वजनिक सुरक्षामा समेत गम्भीर समस्या निम्त्याउनसक्छ।’

अब कहिलेबाट रेल सेवाहरु सामान्य अवस्थामा फर्कन सक्छ? भनी पत्रकारहरुको प्रश्नको जवाफमा चानले भने, ‘हामी व्यावहारिक रुपमा रेल सेवा चाँडोभन्दा चाँडो सामान्य अवस्थामा फर्काउन चाहन्छौँ तर वास्तविकता यो हो कि आन्दोलनकारीहरुले बारम्बार रेल सेवा प्रणाली माथि तोडफोड र आगजनीजस्ता अकल्पनीय हर्कत गरिरहेका छन्।’

hk rail way 2

यात्रीहरुले आशा गरेका सेवा सुविधा र सुरक्षाको मापदण्डलाई मध्यनजर गर्दै रेल सेवाका कर्मचारी, प्राविधिकहरु ध्वस्त भएको रेल स्टेसनका सामग्रीहरु मर्मत गर्न अहोरात्र खटिरहेका उनले बताए। परिस्थितिलाई आँकलन गरेर रेल सेवा अझ चाँडै पनि बन्द हुन सक्ने बताइएको छ। रेल सेवा सामान्यतया रातको १ बजेसम्म सञ्चालन हुने गर्दछ।

यसैबीच ९९ अर्ब डलरको लगानीमा निर्माण हुँदै गरेको सातिन–सेन्ट्रल जोड्ने रेल सेवाको पहिलो परीक्षणको रुपमा सोमबार सम्पन्न भएको छ। उक्त परीक्षण ताईवाई र काई तक स्टेसनबीच भएको आरटीएचकोले बताएको छ। निर्माण घोटालामा परेको उक्त परियोजना पूर्ण सेवा यही वर्ष हुने भनिए पनि सम्पूर्ण निर्माण पूरा भई सञ्चालनमा आउन अझै २ वर्ष लाग्ने बताइएको छ।

hk rail way 3

रेलसेवाको कारण नेपाली रेस्टुरेन्ट सञ्चालकहरु मारमा
सबैभन्दा विश्वसनीय, भरपर्दो र सुरक्षित मानिएको रेल सेवा निर्धारित समयभन्दा अगावै बन्द हुन थालेपछि नेपाली रेस्टुरेन्ट व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन्। हरेक शनिबार र आइतबार आन्दोलन, तोडफोड र आगजनी हुने गरेको छ। यसैको कारण रेल सञ्चालकले चाँडै स्टेसनहरु बन्द गरिदिन्छ्न्। नेपालीहरुको राजधानीको रुपमा मानिने याउ चिङ मोङ जिल्लाको जोर्डन क्षेत्र त्यसको मारमा परेका छन्।

सबैभन्दा बढी चहलपहल, भेटघाट कार्यक्रम हुने उक्त क्षेत्रमा धेरै नेपालीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन्। ‘बिजनेस डे’को रुपमा लिइने शनिबार र आइतबार नै रेल सेवाहरु चाँडै बन्द भएपछि धन्दा चौपट भएको जोर्डनस्थित बगैंचा रेस्टुरेन्टकी म्यानेजर तीर्थ राई बताउँछिन्। देश विदेशमा समेत ब्रान्ड बनाएको बगैँचा रेस्टुरेन्टमा चहलपहल कम हुँदै जान थालेको छ। तीर्थ भन्छिन्, ‘रेल सेवाहरु चाँडै बन्द हुन थालेपछि बुकिङहरु समेत रद्द हुन थालेको छ, ग्राहकहरु घर फर्कन समस्या भएपछि रेस्टुरेन्ट आउन छाडेका छन्, जो आउँछन्, रेल छुट्छ भन्दै गइहाल्छन्।’

जोर्डनमै लामो समयबाट सञ्चालित कङ्गन रेस्टुरेन्टको व्यापार ३० प्रतिशतले गिरावट आएको सञ्चालक कमल पौडेल बताउँछन्। पौडेल भन्छन्, ‘यो आन्दोलन एटम बमजस्तै साबित भो, जसले सबैथोक ध्वस्त बनायो। आन्दोलन र यातायात बेलैमा बन्द हुन थालेपछि मान्छेहरु घरबाट बाहिर निस्किन समेत डराइरहेका छ्न्, हरेक क्षेत्र प्रभावित भएका छन्।’ पौडेलका अनुसार अबको तीन महिनापछि धेरै रेस्टुरेन्टहरु उठिबास हुन सक्छ। सबै थोक सत्यानाश हुनसक्ने उनको ठहर छ।

hk rail way 4. jpg

प्रदर्शन प्रभावित क्षेत्रबाट टाढा रहन थाई महावाणिज्यदूतावासको सुझाव
थाईल्यान्ड महावाणिज्यदूतावास हङकङले फेसबुक पोस्टमार्फत आफ्ना नागरिकहरुलाई प्रदर्शन प्रभावित क्षेत्रबाट टाढा रहन सुझाव दिएको छ। उक्त सुझावमा एडमिराल्टीको तामार पार्क, सेन्ट्रलको चार्टर गार्डेन, चिम सा चुईको सिल्सबरी रोड र कुन तुङ क्षेत्र नजान भनेको छ।

त्यसैगरी प्रिन्स एडवार्ड रेल स्टेसनमा बेलुकी ७ बजेपछि नजान भनिएको छ भने प्रदर्शनको बखत आन्दोलनकारी र प्रहरी दुवैको फोटो वा भिडियो समेत नलिन सचेत गराएको छ। त्यसो गर्दा आन्दोलनकारीहरु चिढिन सक्ने दूतावासको अनुमान छ।

नेपाली महावाणिज्यदूतावासको पनि सबै नेपालीहरुलाई सकेसम्म त्यस्ता गतिविधिबाट टाढा र तटस्थ रहन सुझाव दिएको छ। हङकङमा सरकारविरोधी आन्दोलनले २१औँ हप्तामा प्रवेश गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .