हङकङमा दक्षिण एसियाली निशानामा परेको हल्लापछि नेपाली त्रसित

हङकङमा दक्षिण एसियाली निशानामा परेको हल्लापछि नेपाली त्रसित

मगेन्द्र राई
कात्तिक २, २०७६ शनिबार १३:२९,

प्रहरीले सीसी टिभी फुटेजको आधारमा घटनामा संलग्न संदिग्ध आक्रमणकारीहरुलाई नियन्त्रणमा लिने भनेर अनुसन्धान थालिसकेको छ।

प्रहरीले जिम्मी साममाथि आक्रमण गर्नेहरु दक्षिण एसियाली मूलका हुन सक्ने आधार फेला परेको जनाएका छन्।

प्रहरीेले दक्षिण एसियाका नागरिकमाथि आशंका गरेपछि यतिबेला हङकङका आन्दोलनकारीले प्रतिशोध साध्ने भनेर चेतावनी दिन थालेका छन्।

दक्षिण एसियाली निशानामा

हङकङमा आन्दोलनकारीहरुले दक्षिण एसियाली मूलका नागरिकलाई निशाना बनाउने हल्ला चलेपछि त्रास फैलिएको छ। आन्दोलनकारीले अनलाईनमार्फत् घटनाको बदला लिनसक्ने भनि व्यापक हल्ला फिजिएको छ।

उक्त हल्ला चलेपछि दक्षिण एसियालीहरुको बाहुल्य रहेको चिम शा चुइस्थित चुङकिन मेन्सन, मिराडोर मेन्सन लगायतका स्थानहरु निशानामा पर्न सक्ने भनी त्यहाका ब्याबसायी र काम गर्नेहरु त्रसित बनेका छन्।

त्यहाँ नजिकै रहेको मुसलमानहरुको मस्जिदसमेत निशाना बन्नसक्ने हल्ला फिजिएको छ।

हङकङमा दक्षिण एसियाली भन्नाले नेपाली, पाकिस्तानी, भारतीय, श्रीलंकन र बङ्गलादेशीहरुलाई बुझिन्छ। स्थानीय संचारमाध्यले सार्वजनिक गरेको समाचारमा घटनामा पाकिस्तानीहरुको सङ्लग्नता रहेको अपुष्ट खबर छ।

आन्दोलनकारीले दक्षिण एसियालीलाई निशाना बनाएको खबरसँगै यी सबै देशका नागरिकहरु त्रासमा बसिरहेका छन्।

आईतबारबाट काउलूनको चिम सा शुईबाट व्यापक प्रदर्शन गर्ने मोर्चाको योजनालाई प्रहरीले सुरक्षाको कारण प्रतिबन्ध लगाएको छ। यद्यपी बिगतमासमेत प्रदर्शनकारीहरुले त्यस्ता प्रतिबन्धहरुलाई अबज्ञा गर्दै आएकोले प्रदर्शन जारी रहने अनुमान गरिएको छ।

चुङकिन मेन्सन र मिराडोर मेन्सनका ब्याबस्थापन कमिटी तथा सेक्युरिटी गार्डहरुले आईतबार पसल नखोल्न तथा आवातजावत नगर्न सूचना जारी गरेको छ।

Image result for jimmy sham hong kong

जिम्मी सामद्वारा अल्पसंख्यकमाथि बदला नलिन अपिल

आन्दोलनकारीले दक्षिण एसियाली नागरिकलाई निशाना बनाउने बताएपछि घाइते रहेका मोर्चाका संयोजक जिम्मी सामले अस्पताल शैयाबाटै जनतालाई आक्रमणविरुद्ध कुनै पनि जातीय समूहमाथि बदला नलिन अपिल गर्दै आइतबारको जुलुसमा शान्तिपूर्वक भाग लिन आग्रह गरेका छन्।

उनले फेसबुकमार्फत् उक्त घटनाको सत्यतथ्य अनुसन्धान स्वतन्त्र आयोगले मात्र गर्नसक्ने बताएका छन्। साथै उनले आफूलाई घटनास्थलमा तत्काल उद्दार गर्ने आफ्ना साथीहरु, स्वस्थकर्मी र प्रहरीहरुलाई धन्यवाद दिएका छन्।

प्रारम्भिक अनुसान्धनमा आक्रमणकारी दक्षिण एशियालीहरूभएको देखिए पनि अपराधीहरुको पहिचान भै नसकेको मोर्चाका सह–संयोजक एरिक लाई ले बताएका छन्।

ढुक्क रहन भन्दै पर्चा टाँसियो

त्रासपूर्ण हल्ला फैलिएपछि प्रदर्शनकारीहरुले प्रभाव पार्नसक्ने क्षेत्रहरु चुङकिन मेन्सन, मिराडोर मेन्सन, मस्जिद वरपर पर्चाहरु टाँसिएका छन्।

उक्त पर्चामा दक्षिण एसियालीहरुलाई ढुक्कर रहन आग्रह गरिएको छ। पर्चामा अप्रिय घटना नहुने जनाइएको छ।

पर्चामा सम्पूर्ण दक्षिण एसियालीहरुलाई सम्बोधन गर्दै काउलुन मस्जिद र ईस्लामिक सेन्टर, चुङकिन मेन्सन तथा त्यहाँ उनीहरुद्वारा संचालित पसलहरुमा क्षति नपुर्याउने तथा दक्षिण एसियालीहरु जथाभावी मारपिट नगर्ने भनिएको छ।

इस्लामिक समुदायद्वारा प्रेस विज्ञप्ती

हङकङस्थित इस्लामिक समुदायको एक संस्थाले प्रेस विज्ञप्ती जारी गरी जिम्मी शाममाथि भएको आक्रमणको घटनालाई ‘बर्बर र क्रुर’ भन्दै भत्सर्ना गरेको छ।

यस्ता कार्य समाजमा बिभाजन ल्याउने षड्यन्त्र भएको इस्लामिक समुदायको ठहर छ। विज्ञप्तीमा हङकङमा आफूहरुले २०० बर्ष लामो समय शान्तिपूर्ण बिताएको र हिंसामा आफूहरु कहिल्यै नलाग्ने बताइएको छ।

बिज्ञप्तिमा भनिएको छ,‘हामी हङकङका जनताको साथमा छौं र समानता, शान्ति र सद्भावको वातावरण कायम गर्न हामी निरन्तर प्रयास गर्ने छौं।’

यसैबीच माउलुन मस्जिदका ईमम(धार्मिक गुरु)ले प्रार्थनाका लागि मस्जिद आउने सम्पूर्ण मुस्लिमहरुलाई सतर्क रहन मौखिक सुझाव दिएको कुरा मस्जिद नजिकै बसोबास गर्ने मद्रासबाट आएका खमिल जेनुन अब्दिलले नेपालखबरलाई बताएका छन्।

उनले भने,‘ईममले आईतबार प्रार्थना गर्न आउँदा मस्जिद वरपर चहलपहल नगर्न चेतावनी दिएका छन्। आन्दोलन सम्बन्धी कुनै पनि गतिविधिमा सङ्लग्न नहुन भनेका छन्। मैले पनि आफ्ना छोराछोरीहरुलाई आईबार मस्जिद नगई घरमै रहन भनेको छु।’

सुरक्षाको लागि पसलमा ‘नेपाली सप’को पर्चा टाँस्दै

अधिकारीहरुका अनुसार आन्दोलनकारीको प्रमुख निशानामा पाकिस्तानीहरु परेका छन्।

यस्तो अवस्थामा नेपाली समुदाय भने केही सुरक्षित हुनसक्ने धारणा चुङकिङ मेन्सनको भुई तलामा किराना पसल तथा खाजा घर सन्चालक गरिरहेका खगराज सापकोटा बताउँछन्।

‘पसलमा नेपाली सप भनेर कागजमा लेखेर राख्नु भएछ नि किन?’ नेपालखबरले सोधेको प्रश्नमा उनले भने,‘म हेर्दा पाकिस्तानी जस्तै देखिन्छु, मेरो अनुहार देखेर यो पनि पाकिस्तानी नै रहेछ भन्ने भान भएर पसल तोडफोड गरिदियो भने चौपट हुन्छ, यस्तो डिस्प्ले गर्दा यो पसल नेपालीको रहेछ भन्ने उनीहरलाई लागे उनिहरुको निशानाबाट बच्न सकिन्छ कि भन्ने आशाले यसो गरेको हुँ।’

सापकोटाले आइतबार पसल बन्द गरी परिवारसँग घुमफिर गर्ने नेपालखबरलाई बताएका छन्।

नेपाली नेता भन्छन्ः आफ्नो सुरक्षा आफैं गर्नुपर्छ

हङकङस्थित नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा सिएसटिएन प्रोजेक्ट ईन्चार्ज रीता गुरुङले आन्दोलनकारीबाट आफैं जोगिनु पर्ने बताएकी छिन्।

‘हामी हङकङमा बसेका छौं, यहाँको कानुन र नीति नियमप्रति वफादार हुनैपर्छ, तथापी सुरक्षा निकाय आफैं कमजोर भएको यस्तो प्रतिकुल परिस्थीतिमा आफ्नो र परिवारको सुरक्षा गर्दै शान्तिको कामना गर्नुको विकल्प छैन।’ उनले नेपालखबरलाई भनिन्।

यो आन्दोलन राजनैतिक भएको हुँदा नेपालीहरुको सङ्लग्नताको खासै अर्थ नलाग्ने उनको धारणा छ। रिताले नेपालखबरलाई भनिन्,“नयाँ पुस्ताहरुले जतिसुकै शिक्षा हासिल गरे पनि, जतिसुकै पैसा र नाम कमाए पनि यहाँका रैथानेहरुले सँधै दक्षिण एसियाली भन्ने ट्याग झुन्ड्याइ रहन्छन्, सँधै दोस्रो दर्जाको नागरिक सम्झिरहन्छन्।’

उनले बर्तमान परिस्थितिमा नेपालीहरु तटस्थ रहनु नै उपयुक्त हुने बताउदै हिँसात्मक गतिविधिबाट टाढा रहेर हिंसाको बिरोध गर्नु पर्ने बताईन्।

हङकङमा सरकार बिरुद्ध बिसौं हप्तादेखि आन्दोलन जारी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .