ad ad

मधेस


मधेशका गरिब रुवाउने मिटरब्याजी

मधेशका गरिब रुवाउने मिटरब्याजी

शैलेन्द्र महतो
साउन १०, २०७९ मंगलबार ६:५२, जनकपुरधाम

सिरहाको कर्जन्हा नगरपालिका ३ की कुसुमदेवी साह २०७४ फागुनतिर घर बनाउँदै थिइन्। आफूले जोहो गरेको रकम बीचमै सकियो।

घर निर्माणको बाँकी काम पूरा गर्न कुसुमले स्थानीय मिटरब्याजी हिना यादवसँग पछि ब्याजसमेत मिलाउने गरी तीन महिनासम्म पटक पटक गरेर ६ लाख रुपैयाँ ऋण लिइन्।

तीन महिनापश्चात मिटरब्याजी हिनाले ब्याजसहित रकम फिर्ता गर्न वा तमसुक बनाउन दबाव दिन थालिन्।

कुसुमले सबै रकम विस्तारै चुक्ता गरिदिने बताइन्। तर, हिनाले निरन्तर कर गरिरहँदा कुसुम तमसुक बनाउन बाध्य भइन्।

तमसुक बनाउन जाँदा मिटरब्याजी हिनाले जब ऋणको हिसाब सुनाइन्, तब कुसुम आत्तिइन्।

किनभने हिनाले कुसुमलाई दिएको ६ लाख ऋण हप्ताको ब्याज जोडेर तीन महिनामै २० लाख पुर्याइसकेकी थिइन् । अर्थात्, एक लाख रुपैयाँ ऋणको हप्ताको १० हजार रुपैयाँ ब्याज। हप्तामै एक लाख ऋणको १० हजार ब्याजदर जोडेर हिसाब सुनाउँदा कुसुम आश्चर्यमा पर्नु स्वाभाविक थियो।

कुसुम देवी

आफू गरिब भएकोले मिलाएर ब्याज जोड्न कुसुमले पटकपटक अनुनय गरिन्। तर, हिना टसको मस भइनन्। साँवा र मिटरब्याज जोडेर तीन महिनामै भएको २० लाख रुपैयाँको तीन गुना आर्थात् ६० लाखको तमसुक बनाउन हिनाले कुसुमलाई बाध्य पारिन्।

२०७५ जेठमा हिनाले आफू साहु भएर दुईवटा तमसुक बनाइन् । ससुरा पल्टु यादवलाई साहु खडा गरे एउटा तमसुक बनाइन् र  विदेशमा रहेका श्रीमान् दीपेन्द्र यादवका नाममा अर्काे गरी जम्मा ४ वटा तमसुक बनाइन्।​ जसमध्ये एउटा ६ लाख, एउटा २१ लाख, एउटा १८ लाख र एउटा १५ लाख रुपैयाँका तमसुक बनाइएका थिए।

‘हिनालाई धेरै हात जोडेँ। तर मानिनन्। एक लाखको हप्ताको १० हजार ब्याज जोडेर जबर्जस्ती चार वटा कागज गराइन्,’ कुसुमले नेपालखबरसँग भनिन्।

कागज बनाउने बेला हिनाले अहिले कागज बनाउनु, पछि मिलाएर पैसा दिनु भनेर फकाएकी थिइन्।

तर, अहिले उनले कुसुमलाई घर न घाटको बनाइदिएकी छन्। कुसुमले हालसम्म हिनालाई ऋण वापत ७ लाख नगद र ३ लाख बढीको गरगहना दिइसकेकी छन्।

तर, मिटरब्याजी हिनाले ससुरा पल्टु यादवका नाममा रहेको २१ लाखको तमसुक बमोजिम ऋण असुलउपर गराइपाऊँ भनी अदालतमा मुद्दा दिएर पनि जितिसकेकी छन्।

अदालतले ०७६ पुस २९ मा​ हिनाका ससुरा पल्टुलाई कुसुमले २९ लाख २७ हजार ७५० रुपैयाँ ८२ रुपैयाँ तिनुपर्ने आदेश जारी गरेको छ।

अदालतले फैसला गरेको रकम तिर्न नसकेपछि कुसुमको घर रहेको १२ धुर जग्गा, घर र चर्पीसहित भएभरको सबै सम्पत्ति डाक लिलाम गरिदिएको छ।

अहिले हिनासहित उनको परिवारले घर खाली गर्न र बाँकी तीनवटा कागजको पैसा छिटो तिर्न धम्की  दिइरहेको कुसुम सुनाउँछिन्।

मिटरब्याजी हिनाले सम्पत्ति हडपेपछि कुसुमको परिवार कष्टकर समय बिताइरहेको छ।

‘२१ लाखको मुद्दा हारिसकेकी छु। मैले ६ लाख ऋणको ७ लाख नगद र गरगहना गरी १०  लाख रुपैयाँ बढी चुक्ता गरिसकेकी छु। अहिले पनि तीनवटा कपाली तमसुक बाँकी छन्,’ कुसुमले भनिन् ‘पटकपटक घर खाली गराउन धम्कीसहित कुटपिट गर्छन्। हामी कसरी बाँच्नु!’

सुएभ मियाँ

सुएभ मियाँकाे पनि उस्तै हालत

कल्याणपुर नगरपालिका १० बङ्ठियाका सुएभ मियाँलाई घरखर्च चलाउन मुस्किल भयो। २०७० सालतिर उनले स्थानीय साहु रामकृपाल साहसँग ३० हजार रुपैयाँ ऋण लिए।

आर्थिक रुपले विपन्न सुएभले २ वर्षसम्ममा पनि ऋण चुक्ता गर्न सकेनन्। रामकृपालले ताकेता गरेर तनाव दिन थाले।

२०७२ साउन ५ गते साहु रामकृपालले सावाँ ब्याज जोडेर २ लाख ५७ हजार ६ सय ८१ रुपैयाँ पुर्याए। जसको तेब्बर अर्थात्, ७ लाख ७३ हजार ४३ रुपैयाँको नयाँ तमसुक साहु रामकृपालले बनाए।

डेढ वर्षपछि २०७३ माघतिर सुएभले साहु रामकृपालले मागे अनुसार ४ लाख रुपैयाँ दिएर ऋण चुक्ता गरे।

तर, साहु रामकृपालले तमसुक फिर्ता दिएनन्।  तमसुक मिर्चैयाको घरमा रहेको भन्दै अर्को दिन ल्याइदिने भनेर रामकृपालले सुएभलाई पठाइदिए।

मिटरब्याजकै कारोबार गरेर रामकृपाल धनी भएका छन्। मिर्चैया बजारमा समेत उनले अवैध मिटरब्याजको धन्दा गर्छन्।

विश्वासमा परेर तमसुकका लागि त्यतिबेला सुएभले अड्डी कसेनन्। गाउँघरकै मान्छे हो, च्यातिदेलान् भन्ने सोचेर सुएभले सोधखोज पनि गरेनन्। तर, साहु रामकृपालमाथि गरेको त्यो विश्वास उनका लागि निकै महंगो पर्यो।

साहु रामकृपाल साह

ऋण चुक्ता गरेको झण्डै ६ वर्षपछि रामकृपालले मात्र ३० हजार रुपैयाँ सावाँको ब्याजको स्याज जोडेर पैसा दिएको बनाएको ७ लाख ७३ हजार ४३ रुपैयाँको तमसुक पेसेर अदालतमा मुद्दा चलाएका छन्।

अदालतसँग उनले तेब्बर गरेर बनाइएको मूलधन ७ लाख ७३ हजार ४३ रुपैयाँको हालसम्मको ब्याज जोडेर १२ लाख ८१ हजार ७ सय ४८ रुपैयाँ दिलाइदिन माग दाबी गर्दै सुएभमाथि मुद्दा हालेका छन्।

‘मैले ३० हजार ऋणको सावाँब्याज गरी चार लाख रुपैयाँ तिरिसकेको छु। ऋण चुक्ता गर्दा मिर्चैयाको घरमा कागज छ, भोलि ल्याएर दिन्छु भनेपछि म घर फर्केँ। म केही कामले सातआठ दिन बाहिर गएँ,’ सुएभले भने, ‘तमसुक दिएनन्। गाउँले हो भनेर छोडेँ, बिर्सेँ। ६ वर्षसम्म कतै भनेनन्। तर एकाएक त्यही तमसुकले ममाथि मुद्दा हालिदिएका छन्।’

गाउँमा ऋण लेनदेन गर्दा सावाँको कम्तीमा तेब्बरको कपाली तमसुक बनाउने गरिन्छ। ऋणीले समयमै सावाँब्याज जोडेर भाकाभित्र चुक्ता नगरे अदालती प्रक्रियामा गएर असुलउपर गर्न यस्तो कपाली तमसुक बनाउने प्रचलन छ।

तमसुकको तलको भागमा वास्तविक ऋण र ब्याजदर लेखिन्छ। जसलाई च्यातेर माथिको भागको तमसुक पेस गरी साहुले ऋणीमाथि मुद्दा हाल्ने गर्छन्। रामकृपालले तलको भाग च्यातेर माथिको कागजले सुएभमाथि चलाएको मुद्दाको कपाली तमसुकको वास्तविक भागको प्रतिलिपि पनि सुरक्षित छ। 

साँवा ब्याजसहित ऋण चुक्ता गरिसकेकाले पटकपटक मुद्दा फिर्ता लिइदिन सुएभले रामकृपालसँग हारगुहार गर्दै आएका छन्। तर,  सो रकमम तिर्नुपर्ने अडानबाट रामकृपाल पछाडि हटेका छैनन्। जसका कारण सुएभ बिचल्लीमा परेका छन्।

मिटरब्याजी हिना र रामकृपाल तथा ऋणी पीडित कुसुम र सुएभ उदाहरण मात्र हुन्।

हिना र रामकृपालजस्ता मिटरब्याजीको मधेशका हरेक गाउँटोलमा छन्।

कतिले कागज जतिको बनाए पनि व्यवहारमा जति लिएको हो, त्यति नै रकम उठाउँछन्। तर, कतिपय मिटरब्याजीले भने त्यही कागज प्रयोग गरेर विपन्न परिवारको उठिबास लाउँछन्। उनीहरुले दिएको ऋणको सावाँ र ब्याजसमेत असुलउपर गरेर १० गुनासम्मको कपाली तमसुकले अदालतमा मुद्दा हालेर चरम शोषण गर्ने धन्दा नै चलाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .