ad ad

मधेस


महोत्तरीको रातु नदीमा अवैध उत्खनन भइरहेको ८ दलकाे आरोप

बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्री भन्छन्- चुनावका प्रतिस्पर्धीले मेरो बदनाम गर्न खोजे
महोत्तरीको रातु नदीमा अवैध उत्खनन भइरहेको ८ दलकाे आरोप

नेपालखबर
पुस ६, २०८० शुक्रबार १०:२३, काठमाडौँ

महोत्तरीको बर्दिबासमा क्रियाशील आठवटा राजनीतिक दलले स्थानीय रातु खोलामा भइरहेका उत्खननप्रति आपत्ति जनाएका छन्।

बर्दिबास नगरपालिकाले रातु नदीलाई नियम विपरित ढंगले जथाभावी ठेक्का लगाएर क्रसर व्यवसायीहरुलाई मनपरी ढंगले उत्खनन् गर्न दिएको भन्दै बर्दिबासमा क्रियाशील प्रमुख दलहरुले आपत्ति जनाएका हुन्।

माओवादी केन्द्रका राजु खड्का, नेपाली कांग्रेसका चिरञ्जीवि हमाल, एमालेका शंकर महतो, नेकपा एकीकृत समाजवादीका सुरेश राउत, लोकतान्त्रिक समाजवादी पार्टीका चेतकुमार थापा, जनमत पार्टीका विमलेश महतो, रास्वपाका पर्शुराम बस्नेत र राप्रपा नेपालका यानिखर गौतमले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रातु नदीमा जथाभावी ठेक्का लगाएर उत्खनन नगर्न बर्दिबास नगरपालिकाको ध्यानाकर्षण गराएका छन्। 

उनीहरुले विगतमा नगरपालिकाले गरेको ठेक्का सम्झौता भन्दा रातु नदीबाट सात गुणा बढी उत्खनन भएको र अहिले पुनः त्यही अनुसार नदी उत्खनन गर्न खोजिएको आठ दलको आशंका छ।

उनीहरुले नगरपालिकाले आर्थिक स्रोत व्यवस्थापन गर्ने बाहानामा रातु नदीमा भइरहेको अनियमित उत्खनन रोक्न सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएका छन्।

तर, बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीले भने सम्झौताविपरित रातु नदीबाट उत्खनन् नहुने दाबी गरे। उनले नदी ठेक्का लगाउँदा सबै प्रक्रिया पूरा भएको बताए।

‘नगरपालिकाले कुनै पनि काम नियम कानुन विपरित गएर गरेको छैन,’ क्षेत्रीले नेपालखबरसँग भने, ‘वातावरणीय प्रभाव मूल्यांकन गरेर, विज्ञहरुसँगको सल्लाहअनुसार विधिसम्मत रुपमै हामीले नदी ठेक्कामा लगाएका हौँ, रातु नदीबाट अवैध उत्खनन् हुँदैन।’

उनले रातु नदीमा अवैध उत्खनन् हुने भयो भनेर हल्ला चलाउनेहरु आफ्ना राजनीतिक प्रतिस्पर्धी भएको बताए। ‘यो मलाई राजनीतिक प्रतिस्पर्धीको रुपमा लिनेहरुले बदनाम गर्न, मलाई असफल पार्न चलाएको हल्ला मात्रै हो,’ उनले भने।  

बर्दिबास नगरपालिकाले यस वर्ष रातु नदीको ढुंगा, गिटी र बालुवा करिब ८ करोड रुपैयाँमा ठेक्का लगाएको छ। 

आर्थिक वर्ष २०७७ ०७८ मा रातु नदीको ठेक्का र उत्खनन् अवैध भएको भन्दै उच्च अदालत जनकपुरमा मुद्दा परेको थियो। उक्त मुद्दा अहिले विचाराधिन अवस्थामा छ। 

हेर्नुहोस् बर्दिबासका आठ राजनीतिक दलको संयुक्त विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .