ad ad

मधेस


मधेश वनमन्त्रीको ७३ दिन : दाउरा संकलन र वितरण मुख्य उपलब्धि

मधेश वनमन्त्रीको ७३ दिन : दाउरा संकलन र वितरण मुख्य उपलब्धि

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १७:०, काठमाडौँ

मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेकी छन्।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री यादवले २०७९ माघ २४ देखि २०८० वैशाख ७ गतेसम्म (७३ दिन) मा आफूले गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेकी हुन्।

मन्त्री यादवले २१ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै गर्न बाँकी रहेका कामहरु पनि क्रमशः पूरा गर्ने प्रतिबद्धतासमेत जनाइन्।

उनले मन्त्रालयको कार्यप्रगतिअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका वन क्षेत्रभित्र विगत वर्षदेखि ढलेर रहेका रुखहरु (काठ/दाउरा) संकलन गरी सुरक्षित स्थानमा घाटगद्दि गरी काठ दाउरा आपूर्ति व्यवस्थापनको नीतिगत निर्णय गरी कार्य सुरु गराएको दाबी गरिन्।

साथै, प्रदेशमा औद्योगिकीकरणको प्रक्रियालाई गतिशील र सुदृढ गर्दै परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्नुका साथै व्यवसायिक जनशक्ति उत्पादन तथा रोजगारीका अवसरहरु सिर्जना गरी देशको आर्थिक विकासमा योगदान पुर्याउन नयाँ स्थापना भएको उद्योग विभाग, वीरगञ्जको कार्यविधि–२०७९ स्वीकृत गरी कार्य सञ्चालन सुचारु गराएको बताइन्।

मन्त्री यादवले प्रदेश वन ऐन, २०७७ को दफा ९४ अनुसार प्रदेश सरकारले सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी सहज सरल रुपमा काठ दाउरा आपूर्ति÷बिक्री वितरण गर्न प्रदेशका ८ वटै जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समितिका २४ जना पदाधिकारी मनोनयन गरी कार्य सञ्चालन गराएको जानकारी दिइन्। 

उनले वातावरण संरक्षण ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ अनुसार उद्योग क्षेत्रसँग सम्वन्धित संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची तथा संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको स्वीकृत गर्नेसम्मको अधिकार उद्योग विभाग, वीरगञ्जका महानिर्देशकलाई प्रत्यायोजन गरी कार्य सञ्चालन गराएको दाबी गरिन्।

उनले आफूले गत आर्थिक वर्ष २०७९/०८० मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालित कार्यक्रमको मन्त्रालयबाट अनुगमनको कार्यलाई तीब्रता दिएको बताउँदै पर्यटन प्रवर्द्धन गर्ने क्रममा ठूला योजना अन्तर्गतका मिथिला माध्यमिकी परिक्रमाको मटिहानी पडावस्थलमा धर्मशाला निर्माण कार्यको शिलान्यास र पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेका कारिकबाबा (परौलस्थान) मा पोखरी सौन्दर्यीकरण तथा स्तरोन्नति, पोखरीको डिलमा चारैतिर रेलिङ्ग, लाईट, गोलघर निमार्ण कार्यको शिलान्यास गरी कार्य शुरुवात गराएको दाबीसमेत गरिन्।

मन्त्रालय तथा मातहतका २४ वटै कार्यालयहरुको आव २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम ३ वटै विषयगत क्षेत्र उद्योग, पर्यटन तथा वनको छुट्टाछुट्टै कार्यालय प्रमुखहरुको सहभागितामा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको माध्यमबाट जानकारी लिई समयमा गुणस्तरीय काम सम्पन्न गरी शतप्रतिशत प्रगति हासिल गर्ने सुझाव तथा निर्देशन दिएका बताइन्।

साथै, प्रदेश सरकार गठन भएपछिको पहिलो मन्त्रिपरिषद्को निर्णय बमोजिम शितलहरबाट प्रभावित प्रदेशवासीहरुमा सरकारको खर्चबाट स्थानीय तहहरुलाई २१२ चट्टा दाउरा निःशुल्क वितरण गरेको मन्त्री यादवले बताइन्।

पर्यटन विधेयक–२०७९ तयार गरी राय सुझाव/छलफलको क्रममा रहेको र प्रदेश वन नियमावली–२०७९ उपर पुनः समीक्षा गरी त्यो पनि स्वीकृतिको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन्।

उनले मधेश भवन परिसरभित्र प्रत्येक बुधवार विहान ७ देखि ८ बजेसम्म सरकारी/गैरसरकारी संघ/संस्थाहरुको सहभागितामा अभियानको रुपमा सरसफाइ गरी स्वच्छ वातावरण कायम गर्न कार्य शुभारम्भ गरेएको बताउँदै नेपाल सरकारबाट आवश्यक निर्णय र निर्देशन नभएसम्मका लागि वन क्षेत्र कायम रहेको जग्गा भूमि आयोगलाई उपलब्ध गराउन नसकिने नीतिगत निर्णयसमेत आफूले नै गरेको दाबी गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .