ad ad

मधेस


रेल्वेका पुराना इन्जिन संरक्षणमा जुटे स्थानीय, संग्रहालय निर्माण गर्ने तयारी

रेल्वेका पुराना इन्जिन संरक्षणमा जुटे स्थानीय, संग्रहालय निर्माण गर्ने तयारी

जयन्त ठाकुर
पुस ३, २०७९ आइतबार १४:४४, जनकपुरधाम

भारतको जयनगरदेखि जनकपुरधामसम्म चल्ने न्यारो गेज रेललाई ब्रोडगेजमा परिणत गरिएको छ। ७ वर्षसम्म बन्द रहेको यात्रुवाहक रेल सेवा आरम्भ पनि भइसकको छ। 

तर, यसअघि जयनगर–जनकपुरधाम–बिजलपुरासम्म चल्ने नेपाल रेल्वेका पुराना डिजेल इन्जिन तथा कोइलाका इन्जिनहरुको संरक्षण हुन नसक्दा कबाडमा परिणत भइरहेका छन्। ती पुराना इन्जिनहरु खुला आकाशमुनि नै राखिएकाले त्यसका पार्टपूर्जा चोरीसमेत भइरहेको छ। 

ब्रोडगेज रेलमार्ग संचालनमा आएसँगै पुराना इन्जिनको संरक्षणतर्फ राज्यले खासै चासो नदिँदा पुराना कोइलाबाट चल्ने इन्जिन लथालिंग अवस्थामा छन्। ब्रोडगेज निर्माण गर्नका लागि रेलसेवा बन्द गरिँदा पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्ट पूर्जाहरू संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेका छन्।

नेपाल रेल्वेको यी सम्पतिहरुको संरक्षणका लागि नेपाल सरकारले १६ जना कर्मचारी खटाएको थियो। 

अब नयाँ कर्मचारी समेत भर्ना भएर नयाँ रेलसमेत सञ्चालनमा आइसकेको अवस्थामा खजुरीमा रहेका ती पूराना इन्जिनहरुको रेखदेखका लागि सैलुन कवारी र उत्तिमलाल पण्डितलाई खटाइएको छ। एक जनाको दिनको ड्युटी छ भने अर्कोको रातिमा। तर सरोकारवालाको हेलचक्रयाईँका कारण ती सामानहरु दिन दिनै चोरी भइरहेका छन्। 

जनकपुरधामबाट २१ किलोमिटरको दुरीमा पर्ने खजुरी रेल्वे स्टेसनस्थित थन्काइएका सीता, विष्णु, ब्रह्मा, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक रेल इन्जिनको संरक्षण हुन सकेको छैन।

२०५० सालसम्म कोइला इन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगी सहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम–जयनगर रेल मार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो।

विश्वभरी नै विस्थापित भइसकेको कोइला इन्जिनलाई संरक्षण गरेर संग्रहालयको स्वरुप प्रदान गर्नुपर्ने आवाज पनि पटक पटक उठ्दै आइरहेको छ। यस विषयमा नेपाल सरकार पनि सकारात्मक नै देखिएको छ। तर कुनै ठोस कदम भने अहिलेसम्म उठाइएको छैन।
 
यी पुराना इन्जिनहरुलाई संरक्षण र सम्बर्द्धन गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने स्थानीय सञ्चारकर्मी अवधेश कामतले बताए। यसका साथै आर्थिक रुपले समेत फाइदा उठाउन सकिने उनको भनाई छ। उनले स्थानीय जनप्रतिनिधिले ती इन्जिनहरुको संरक्षणमा पहल गर्नुपर्नेमा जोड दिए।

सरकारी स्तरबाट कुनै चासो नदेखाइएपछि खजुरीवासी आफैँ यसका लागि पहलसमेत गर्न थालेका छन्। 

महत्वपूर्ण र ऐतिहासिक सम्पत्तिको रूपमा रहेपनि यसको संरक्षण र संग्रहालय निर्माणतर्फ कुनै निकायले ध्यान नदिपछि नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउनकै लागि भएपनि आफूहरु संग्रहालय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल शुरु गरेको स्थानीय धनिकलाल दास बताए। 

खजुरीमा नेपाल रेल्वेको १० विघाभन्दा बढी जग्गा रहेको छ। त्यो जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीयवासीको बुझाइ छ।

ती इन्जिनहरू अन्यत्र लगिए कवाडीको मूल्यमा बिक्री हुने निश्चित रहेको नेपाल रेल्वेका कर्मचारी हेम बहादुर कटुवाल बताउँछन्।

रेल्वेका पुराना संरचना जोगाउन संग्रहालय निर्माणका लागि आफूहरूले विभिन्न निकायसँग माग गर्दै आएको उनले बताए। 

यता, रेल विभागका महाप्रबन्धक निरञ्जन झाले संग्रहालय निर्माणको कार्य सम्भाव्यता अध्ययन भइसकेको र छिट्टै नै संग्रहालय निर्माणको प्रकृया अगाडि बढाइने जानकारी दिए।

उनले रेल्वेको पुराना सम्पतिहरु संरक्षण गर्न रेल विभाग गम्भीर रहेको र छिट्टै नै धनुषाको खजुरीमा संग्रहालय निर्माण गर्ने प्रकृया अगाडि बढाइने छ। यसका लागि नेपाल सरकारले २ करोड रुपैयाँको बजेट समेत छुट्याएको जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .