इतिहासका विभिन्न कालखण्डमा नेपाली महिलाले नेपालको नाम, यश र कीर्तिलाई मुलुकको सरहदभन्दा निकै टाढासम्म फैलाएका छन् र फैलाउनका लागि अग्रणी भूमिकासमेत निर्वाह गरेका छन्। समाजभित्र लेस्सिएर रहेको विसङ्गति र कुरीतिलाई हटाउनका लागि अगुवा भूमिकामा आफूलाई स्थापित गरेका छन्। पुरुषप्रधान समाजले दबाएर र कुल्चेर राखेको महिला आवाज र अधिकारको पुनर्स्थापनाका लागि समाजको मनोविज्ञानमा परिवर्तन गर्न उनीहरूले शिक्षाको ढोका खोल्ने काम गरेका छन्, चेतनाको दुन्दुभी बजाएका छन्।
प्राचीन इतिहासको सूक्ष्म अध्ययन गर्ने हो भने यस्ता धेरै महिला नेपालमा जन्मिएका छन्, जसले धर्मका साथै अध्यात्म चिन्तन एवम् दर्शनको व्यावहारिक पक्ष तथा व्यक्तिगत व्यवहारको माध्यमबाट सामाजिक एकता, धार्मिक सहिष्णुता र मानवीय मूल्य-मान्यतालाई सगरमाथाको उचाइमा पुऱ्याएका छन्। यिनै नामहरूमध्येको एउटा नाम हो, भृकुटी।
लिच्छवि शासनकालमा राजा अंशु बर्माकी छोरीका रूपमा परिचित भृकुटीले बौद्ध धर्म, दर्शन तथा नेपालको शिल्प एवम् वास्तुकलालाई तत्कालीन तिब्बत साम्राज्यमा यसरी विस्तार गरिन् कि नेपालको मान र सम्मान निकै माथि पुग्यो। आफ्ना पति तिब्बतका राजा स्रोङ चोङ गम्पो र त्यहाँका जनताको मन जितेर नेपाललाई हेर्ने तिब्बती दृष्टिकोणमा सकारात्मक र भाइचाराको सम्बन्ध मात्र स्थापित गरिनन्, अपितु दुईपक्षीय मित्रतालाई बलियो र सुदृढ बनाइन्। उनकै कारणले नेपाल र तिब्बतको व्यापार बढ्यो, बाह्य आक्रमणको सम्भावित खतरा टर्यो र राष्ट्रिय सार्वभौमिकताजस्तो संवेदनशील विषय अक्षुण्ण रहन सक्यो।
यति मात्रै होइन, तत्कालीन नेपालमा संस्कृत र पाली भाषाको प्रयोग सामान्यजस्तै थियो। नेपालबाट यी दुवै भाषा तिब्बतसम्म पुयाएर त्यहाँ पनि संस्कृत र पाली भाषामा शिक्षा प्रदान गराउने काममा भृकुटीले ज्यादै मिहिनेत गर्नुपर्यो। त्यतिखेरको नेपालमा बौद्ध धर्म र दर्शनसम्बन्धी ग्रन्थ संस्कृत र पाली भाषामा लिपिबद्ध भएका थिए। त्यसकारण पनि तिब्बतमा संस्कृत र पाली भाषा पढ्नैपर्ने र बुझ्नैपर्ने अवस्था थियो।
यसका लागि भृकुटीले बौद्ध विहारहरूको निर्माण गराएर पठनपाठनको व्यवस्था मिलाउने काम गरिन्। त्यसबेलाको अति पिछडिएको र भूतप्रेतमा विश्वास गर्ने तिब्बती समाजमा यस प्रकारको परिवर्तनकारी कार्य गर्न सक्नु निश्चय नै सामान्य र चानचुने काम थिएन।
सातौं शताब्दीको समय थियो। मानिसहरूमा आधुनिक विज्ञान र प्रविधि भन्ने विषय उनीहरूको सोच र कल्पनाभन्दा ज्यादै टाढा थियो। हामीले आफूलाई त्यतिबेलाको समयमा लगेर हेरौं र कल्पना गरौँ, एउटी महिलाका लागि समाज सुधार गर्न र मानिसहरूमा सकारात्मक परिवर्तन ल्याउन कति गाह्रो काम थियो होला ? तर, भृकुटीले त्यस्तो कठिन कार्य आफ्नो बुद्धि, ज्ञान र विवेकको प्रयोगद्वारा सम्पन्न गरिन्। उनले त्यस प्रकारका उल्लेखनीय काम गरिन्, जुन काम त्यतिखेरका राजा/महाराजाले पनि गर्न सकेका थिएनन्।
प्रस्तुत उपन्यास इतिहास होइन। इतिहास भएको भए यो उपन्यास हुने थिएन। इतिहासमा वर्णित तिथिमिति मिलाएर यहाँ क्रमबद्ध रूपमा लेखिएको छैन। त्यसरी लेखिएको भए सायद यो पुस्तकले उपन्यासको दर्जा पाउने पनि थिएन।
यो उपन्यास लेखनको मुख्य उद्देश्य भृकुटीले गरेका कामलाई उजागर गर्नु र जन्मभूमि नेपालप्रति उनले देखाएको निष्ठालाई बाहिर ल्याउनु रहेको छ। भृकुटीलाई राष्ट्रिय विभूतिको सम्मानभित्र कैद गरेर राखिएको छ। यसरी कैद गर्नु भनेको उनीप्रतिको सम्मानमा कन्जुस्याइँ गर्नु हो।
भृकुटी नेपालकी राजकुमारी मात्र थिइनन्, उनी एउटी महिला पनि थिइन्। त्यसबेलामा उनले गरेको कार्यबाट आजका हामी नेपालीले कूटनीतिक, सामाजिक, आर्थिक र सुशासनका सवालमा बुझ्नुपर्ने, सिक्नुपर्ने र पालना गर्नुपर्ने विषयहरू धेरै छन्। यस उपन्यासले त्यस दिशातर्फ पनि सङ्केत गरेको छ।
भृकुटीबारे लेख्न थाल्दा पहिलो हरफमै मलाई असजिलो पर्यो। भृकुटीलाई कसकी छोरी मानेर विषयलाई अगाडि बढाउने? इतिहासकारहरूका बीचमा मतैक्य नभएको विषयउपर मैले केही लेख्दा पाठकप्रति न्याय गरेको ठहर्छ कि ठहर्दैन? केही इतिहासकारले भृकुटीलाई अंशु बर्माकी छोरी मानेका छन् भने कसैले उदयदेवकी छोरी हुन् भनेका छन्। यो अवस्थामा मैले जनजिब्रोमा रहेको मान्यतालाई आधार बनाएँ र अंशु बर्माकी छोरी भनेर लेखनीलाई अगाडि बढाएँ।
पुस्तकमा उल्लिखित पात्रका नाम पनि सबै इतिहासबाट सापट लिइएका होइनन्। त्यसैले फुटनोटको सहारा लिएर तिनीहरूबारे पाठक वर्गलाई जानकारी गराउने प्रयास गरेको छु। फुटनोटमा उल्लेख नगरिएका नामहरूको हकमा चाहिँ इतिहासमा उल्लेख भएका नाम नै हुन् भन्ने सम्झनुपर्ने हुन्छ।
इतिहासको किताबमा भएका, वेबसाइटहरूमा पढेका, इतिहासविद्बाट सुनेका र जनश्रुति एवम् किंवदन्तीअनुसार बुझेका कुराका आधारमा यो उपन्यास तयार भएको हो। त्यसैले त यसमा इतिहासका कुराहरू छन्, कल्पनाका कुराहरू छन् र अनुमानका कुराहरू पनि छन्। किनभने, त्यसबेलाको रहनसहन र सामाजिक चालचलनबारे सुने/बुझेका कुरालाई नसमेटेको भए उपन्यासले आफ्नो पाइला अगाडि सार्न सक्ने अवस्था थिएन।
पाठक मित्रलाई पढ्न बस्दा नीरस नहोस् र पढ्ने रुचि खण्डित नहोस् भन्नेतर्फ ध्यान पुयाउने कोसिस गरेको छु। मेरो कोसिस कुन हदसम्म सफल भयो, सुझाव पाउने नै छु।
(हालै प्रकाशित उपन्यास भृकुटीका लेखक कुसुमको मन्तव्यबाट)
Shares
प्रतिक्रिया