नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार दूतावासका दुईजना अफिसर साथ लिएर कीर्तिपुरस्थित चम्पादेवी डाँडा हाइकिङमा गएका थिए। बिदाको सदुपयोग गर्न हाइकिङ हिँडेका श्रीवास्तव उकालो ओरालो हिँड्दै थिए। हिँड्दाहिँड्दै छाती दुख्न र सास फेर्न असहज हुन थाल्यो।
छाती दुख्न थालेपछि आफूसँगै भएका अफिसरलाई उनले केही असहज भएको बताए। दुई जना मिलेर उनलाई तल फर्काउन कोसिस गरे। उनीहरूले कीर्तिपुर प्रहरीलाई पनि खबर गरे। तर, राजदूत हिँड्न नसकेर त्यहीँ ढले।
राजदूत ढलेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षकको नेतृत्वमा दुई दर्जन सुरक्षाकर्मी भस्मेसुर डाँडातर्फ गए। निकै माथि पुगिसकेका कारण सुरुमा सुरक्षाकर्मीलाई ठाउँ पत्ता लगाउन गाह्रो भएको थियो।
सुरक्षाकर्मीलाई लोकेसनमा पुग्न केही समय लाग्यो। पछि श्रीवास्तवलाई तल ल्याई नेपाली सेनाको हेलिकप्टर मार्फत धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल पुर्याइयो। दिउँसोको करिब २:४५ मा बेहोस भएका श्रीवास्तवलाई एक घन्टाभित्रै करिब ३:३० मा अस्पताल पुर्याइएको थियो।
अस्पताल पुग्दा चिकित्सकले मुटुको देब्रे नसा ब्लक भएर हृदयाघात भएको बताए। शनिबारको दिन परेकाले ग्रान्डी इन्टरनेसनल अस्पतालका धेरै चिकित्सक बिदामा थिए। अस्पतालले चिकित्सकको टोली बोलाई तत्काल शल्यक्रियाका लागि तयारी थाल्यो। श्रीवास्तवको बन्द भएको रक्तनली ‘एन्जियोप्लास्टी’ गरी खोलियो। बेहोस भएको एक घन्टाभित्रै अस्पताल पुगेका कारण राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्थामा तत्काल सुधार देखियो। शल्यक्रियापछि आइसीयूमा राखिएको श्रीवास्तवलाई जनरल वार्डमा सार्ने तयारी छ। उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको आइतबार अस्पतालले जनाएको छ।
राजदूत श्रीवास्तवलाई भएको समस्या नेपालको जनसंख्याको ५ प्रतिशतलाई देखिने गरेको चिकित्सकहरू बताउँछन्। ४० वर्ष नाघेका पुरुषलाई बढी देखिने गरेको सो समस्या उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल देखिएका व्यक्तिमा हुने उनीहरूको भनाइ छ।
यो समस्या वंशाणुगत कारणले पनि देखिने गरेको छ। मुटुको यो गम्भीर समस्या भए पनि समयमा नै उपचार गरे बिरामीलाई बचाउन सकिने चिकित्सकहरूको भनाइ छ।
किन हुन्छ मुटुको रक्तनली बन्द?
मुटुरोग विशेषज्ञ डा सहदेव ढुंगानाका अनुसार मुटुको मांसपेशीमा रगत पुर्याउने तीनवटा नसा हुन्छन्। देब्रेमा दुई वटा र दाहिनेमा एउटा नसा हुन्छन्। तिनले मांसपेशीमा रगत वितरण गर्ने काम गर्छन्। कुनै पनि कारणले नसा अचानक बन्द भयो भने हृदयाघात हुन्छ। यस्तो अवस्थामा असह्य हुने गरी छाती दुख्ने, मुटुको धड्कन एकदम बढ्ने र मस्तिष्कमा रगत नपुगेर बिरामी ढल्छन्।
डा ढुंगानाका अनुसार यसरी बन्द भएको नसालाई तत्काल एन्जियोप्लास्टी गरी ‘स्टेन्ट’ राख्न सकियो भने मुटु पूर्ण रूपमा स्वस्थ बनाउन सकिन्छ।
उनका अनुसार नसा ब्लक भयो भने प्राइमरी एन्जियोप्लास्टी गरेर खोल्नु पर्छ। जसलाई ‘स्टेन्ट’ राख्ने पनि भनिन्छ। कति ब्लक भएको छ हेर्ने र नसालाई एन्जियोप्लास्टी गरेर ब्लक भएको स्थानमा स्टेन्ट राखेर खोल्ने गरिन्छ।
मुटुको नसा ब्लक भएर हृदयाघात भएका बिरामीको उपचारमा समय निकै महत्त्वपूर्ण हुने ढुंगाना बताउँछन्। नसा ब्लक भएको ३० मिनेटदेखि १२ घण्टासम्म एन्जियोप्लास्टी गर्न सके बिरामी बचाउन सकिने उनले बताए।
‘यसमा समय निकै महत्त्वपूर्ण हुन्छ। मुटुबाट रक्तसञ्चार हुने नसा बन्द भएको २० मिनेटपछि मांसपेशी मर्दै जान्छ। त्यसकारण जतिसक्दो छिटो ब्लकेज भएको नसा खोल्न सकियो भने मांसपेशी बचाउन सकिन्छ,’ डा ढुंगाना भन्छन्।
‘हृदयाघात भएको ३० मिनेटसम्ममा अस्पताल लगे राम्रो। तर, सकिएन भने १२ घण्टासम्म अस्पताल पुर्याएर ब्लकेज हटाउन सकियो भने पनि बिरामीको स्वास्थ्य अवस्था सुधार गर्न सकिन्छ,’ ढुंगानाले भने।
२४ घण्टापछि भने मरिसकेको मांसपेशी बचाउन नसकिने ढुंगानाको भनाइ छ।
विशेष अवस्थामा २४ घण्टासम्म पनि एन्जियोप्लास्टी गर्न सकिने भन्दै डा ढुंगाना एक वा दुई घण्टाभित्र अस्पताल लगे पूर्ण रूपमा बचाउन सकिने बताउँछन्।
‘मांसपेशी कमजोर हुनु भनेको मुटुले रगत पम्प गर्न नसक्नु हो। २४ घण्टासम्म पनि उपचार नपाए हार्ट फेल हुने सम्भावना उच्च हुन्छ। हार्ट फेल भएर ‘सडेन कार्डियाक डेथ’ हुन्छ। त्यो भनेको अचानक मुटुको चाल रोकिएर हुने मृत्यु हो,’ उनले भने।
डा ढुंगाना २४ घण्टासम्म उपचार नपाएपछि रक्तसञ्चार रोकिएर ‘कार्डियाक अरेस्ट’ भएर बिरामीको तत्काल मृत्यु पनि हुने गरेको बताउँछन्।
तत्काल एन्जियोप्लास्टी नगर्दा के हुन्छ?
मुटुरोग विशेषज्ञ डा ढुंगानाका अनुसार एन्जियोप्लास्टी नगर्दा नसा फेरि बन्द हुने सम्भावना हुन्छ। तार लगेर नसामा स्टेन्ट हालेर खोलिन्छ जसलाई एन्जियोप्लास्टी भनिन्छ।
बन्द भएको नसालाई खोलेर बिरामीलाई बचाउन सकिने १२ घण्टाको समयलाई चिकित्सकहरू ‘विन्डो पिरियड’ भन्छन्।
मुटुको नसा बन्द हुने मुख्य कारक तत्व भनेको उमेर हो। हामीले उमेर अनुसार कति हिँड्ने भनेर निर्क्यौल गर्नुपर्छ। हिँडिरहने व्यक्तिलाई मुटुको समस्या नहुन पनि सक्छ। त्यस्तै, यो समस्या पुरुषमा बढी देखिने गरेको छ। कोलेस्ट्रोल र उच्चरक्तचाप भएका व्यक्तिमा यो हुन सक्छ। धुम्रपान, अत्यधिक मात्रामा मद्यपान सेवन गर्ने व्यक्तिलाई यस्तो समस्या हुन्छ। मधुमेह र वशांणुगत कारणले पनि यो समस्या देखिने गरेको छ।
त्यसैले आफू हाइकिङ जान सक्छु कि सक्दिनँ, कतिसम्म हिँड्न सक्छु भनेर आफैँले निर्क्यौल गर्नुपर्ने चिकित्सक बताउँछन्।
‘जोखिम रहेका व्यक्ति हाइकिङ जस्ता हाइ अल्टिच्युड भएको स्थानमा नगएको राम्रो। जाँदा पनि छिटोछिटो नहिँड्ने, धेरै भारी नबोक्ने गर्नुपर्छ,’ डा ढुंगानाले भने।
एक पटक नसा ब्लक भइसकेको व्यक्तिमा पुनः दोहोरिने समस्या हुन्छ। त्यसकारण स्वस्थ जीवनशैली अपनाउनु पर्नेमा चिकित्सकको जोड छ।
मुटु कस्तो छ भन्ने सजिलै परीक्षण गरेर थाहा पाउन सकिन्छ। जोखिमलाई नियन्त्रणमा राखेर शरीरिक क्रियाकलाप बिस्तारै गर्न चिकित्सक सुझाव दिन्छन्।
चिसोयाममा मुटुको समस्या किन बढी देखिन्छ?
मुटु धड्किने एउटा प्रक्रिया हुन्छ। वयस्क मान्छेको निरोगी मुटु एक पटकमा प्रतिमिनेट ६० देखि ९० पटक धड्किन्छ। यसलाई सामान्य मानिन्छ। यो प्रक्रियामा कमी भयो अथवा बढी भयो भने त्यो गडबडी हो। त्यस्तै मुटु एउटै गतिमा चल्नुपर्छ। यसमा पनि गडबडी हुनु हुँदैन।
मुटुका नसाहरू ब्लक हुँदा पनि चालमा गडबडी आउँछ। कहिलेकाहीँ सामान्य खालको हृदयाघात भएको अवस्थामा समेत मुटुको चालको गडबडी हुन्छ।
मुटुरोग विशेषज्ञ डा ढुंगानाका अनुसार चिसो मौसममा मुटुमा भएका नसाहरू अप्रत्यासित रूपमा खुम्चिने सम्भावना बढी हुन्छ। यदि कुनै व्यक्तिको नसामा ‘ब्लकेज’ छ भने उक्त नसा झन् खुम्चिन्छ र छोटो हुँदै जान्छ। चिसो याममा मुटुको चाल बढ्छ। जाडोले गर्दा शरीरका रगतका नसाहरू खुम्चिन्छ। त्यसले गर्दा मुटुको चाल बढ्छ। चिसो याममा रगत बाक्लो हुने हुँदा हृदयाघात बढी हुने गरेको चिकित्सक बताउँछन्।
चिसो याममा मुटु सम्बन्धी समस्या भएका र जोखिम समूहमा पर्ने व्यक्तिले आफनो स्वास्थ्यको विशेष ख्याल राख्न चिकित्सक सुझाव दिन्छन्। जथाभावी व्यायाम नगर्ने, धेरै उकालो नहिँड्ने, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल नियन्त्रणमा राख्ने र आफूलाई असहज भएको महसुस भए तत्काल चिकित्सकको सम्पर्कमा जान चिकित्सकको सुझाव छ।
Shares

प्रतिक्रिया